‘अमरज्योति उत्कृष्ट’

सुर्खेत : कर्णाली प्रदेशसभा सभामुख राजबहादुर शाहीले कर्णाली प्रदेशको शैक्षिक विकासमा अमरज्योति नमुना माध्यमिक विद्यालय नेवारेको महŒवपूर्ण योगदान रहेको बताएका छन् । विद्यालयको ५९औँ वार्षिकोत्सव तथा अभिभावक दिवसको सन्दर्भमा सञ्चालन गरिएका विविध अतिरिक्त क्रियाकलापहरूका विजेता विद्यार्थीहरूलाई पुरस्कार वितरण समारोहमा सहभागी शाहीले अमरज्योति प्रदेशकै उत्कृष्टमध्येको एक विद्यालय भएको टिप्पणी गरेका हुन् ।

यस्तै विद्यालय व्यवस्थापन समितिका अध्यक्ष टिकाराम आचार्यले कर्णाली प्रदेशभरीका विद्यार्थी अध्ययन गर्न आउने भएकाले अमरज्योतिको विकासका लागि पहल गर्न सभामुख शाही समक्ष अनुरोध गरे । उनले विद्यार्थीहरूमा विभिन्न कला लुकेको हुने भएकाले त्यसको प्रष्फूटनका लागि विद्यालयले अतिरिक्त क्रियाकलापमा जोड दिँदै आएको पनि बताए । सोही कार्यक्रममा विविध अतिरिक्त क्रियाकलापहरूमा उत्कृष्ट हुने विद्यार्थीहरूलाई पुरस्कार वितरण गरिएको थियो । हरेक वर्ष भदौ १५ गते विद्यालयको वार्षिकोत्सव मनाउने क्रममा यस वर्ष पनि विविध कार्यक्रमको आयोजना गरिएको थियो । वार्षिकोत्सवको सन्दर्भ पारेर विद्यालयले कक्षा १ र २ का विद्यार्थीहरूका लागि गवौरा फुटाउने खेल, कक्षा २ र ३ को कुर्ची दौड, कक्षा ४ र ५ को चम्चा दौडको आयोजना गरेको प्रधानाध्यापक खगेन्द्र थापाले जानकारी दिए । उनका अनुसार कक्षा ३–५, कक्षा ६–८ र कक्षा ९–१० का विद्यार्थीबीच छुट्टाछुट्टै चित्रकला प्रतियोगिता गरिएको थियो भने कक्षा ६–१० र कक्षा ११–१२ बीच छुट्टाछुट्टै नृत्य र गायन प्रतियोगिता आयोजना गरिएको थियो ।

यस्तै छात्रा–छात्रको छुट्टाछुट्टै एक सय मिटर, दुई सय मिटर र चार सय मिटर दौड प्रतियोगिता गरिएको थियो । वार्षिकोत्सवकै अवसरमा अन्तर सदन क्रिकेट प्रतियोगिता, कथा वाचन, हाजिरी जवाफ, वक्तृत्वकला, अभिनय लगायतका प्रतियोगिता आयोजना गरिएको प्रधानाध्यापक थापाले जानकारी दिए । उनले विद्यार्थीहरूको चौतर्फी विकासका लागि अतिरिक्त क्रियाकलापलाई विद्यालयले सधैं प्राथमिकता दिने गरेको पनि बताए । विद्यालयले भदौ १५ गते वार्षिकोत्सव मनाउँदैछ ।

प्रकाशित मितिः   १४ भाद्र २०७६, शनिबार १२:०४