सल्यानमा भाइरल प्रकोप
सल्यान : जिल्लामा भाइरल ज्वरोको प्रकोप बढ्दै गएको छ । प्रकोपका कारण दैनिक ज्वरोका बिरामी हुनेको संख्या बढ्दै छ । जिल्ला अस्पताल सल्यानमा भाइरल ज्वरोका बिरामी आउनेको संख्या बढ्दै गएको अस्पतालका इन्चार्ज डा. अर्जुन बुढाले बताए । हिजोआज दैनिक १५ देखि २० जना आउने गरेको उनले जानकारी दिए ।
भाइरल ज्वरोको प्रकोप बढ्दै गए पनि अस्पतालमै भर्ना गर्नुपर्ने अवस्था नरहेको र ज्वरोकै कारण कसैमा पनि न्यूमोनिया तथा टाइफाइडको समस्या नदेखिएको उनले जानकारी गराए । उनका अनुसार पहिला आठदेखि १० जना आउँथे । अहिले १५÷२० जना आउनु प्रकोप बढेको नै हो । ज्वरोका कारण बालबालिका बढी प्रभावित छन् । प्रकोप बढ्दै गए पनि जोखिम नरहेको उनले बताए । भाइरल ज्वरोका साथै बालबालिकामा रुघाखोकी लाग्ने, पातलो सिगान बग्ने, टाउको दुख्ने, बान्ता गर्ने समस्या देखिएको उनको भनाइ छ ।
भाइरल ज्वरोका कारण कजेरीका अधिकांश बालबालिका प्रभावित भएका र एकै घरका तीन–चार जना समेत बिरामी भएका स्वयम्सेविका हीमा बुढाथोकीले बताइन् । उनले केही बालबालिकालाई कडा ज्वरो समेत आएको उनले जानकारी गराइन् । कुमाख गाउँपालिकाको स्वास्थ्य शाखा प्रमुख मानसिं ओलीले स्वास्थ्यचौकीमा भाइरल ज्वरोका बिरामी बढ्दै गए पनि अहिलेसम्म बाहिर लग्नुपर्ने अवस्था कसैलाई नदेखिएको बताए । दैनिक स्वास्थ्यचौकीमा कति बिरामी आउँछन् भन्ने एकिन नभएको उनले जानकारी गराए ।
प्रकाशित मितिः १४ भाद्र २०७६, शनिबार १२:०२
साझा बिसौनी ।