डेढ दर्जन चौपायाको विभत्स मृत्यु


सुर्खेत : सुर्खेतमा डेढ दर्जन बढी चौपाया मृत अवस्थामा फेला परेका छन् । वीरेन्द्रनगरको कटकुवा नजिकको जंगलमा शुक्रवार बिहान ४ वटा गोरु र १२ वटा गाई गरी १६ चौपाया विभत्स अवस्थामा भेटिएका थिए । डेढ दर्जन गाइगोरु मृत अवस्थामा र अन्य एक सय बढी घाइते अवस्थामा भेटिएका हुन् ।

विभत्स अवस्थामा फेला परेका चौपायाको हत्या गरिएको हो या आफै मरेका हुन् भन्ने खुलेको छैन । तर घटनास्थलको अवस्था हेर्दा आफै मृत्यु नभइ हत्या गरिएको हुनसक्ने स्थानीयको भनाइ छ । जिल्ला प्रहरी कार्यालय सुर्खेतका डीएसपी रवि रावलले भने अहिले अनुसन्धान भइरहेको भन्दै मृत्यु भएको वा हत्या गरिएको एकिन हुन नसकेको बताए ।

प्रहरीका अनुसार बिहीवार नेपालगन्जबाट दैलेख लैजाने भनी आठ वटा ट्रकमा राखेर दुई सय बढी गाइगोरु ल्याइएको थियो । ‘राती १२ बजेर १ मिनेटमा गाइगोरु लिएर नेपालगन्जबाट आएका ८ वटा गाडी सुब्बाकुना प्रहरी पोष्टमा इन्ट्री भएको देखिन्छ’ डीएसपी रावलले भने । नेपालगन्जबाट ल्याइएका चौपाया कटकुवा नजिकको जंगलमा लगेर छोडिएको थियो । छोडिएका दुई सयभन्दा बढी चौपायामध्ये १६ वटा मृत अवस्थामा फेला परेका छन् भने अन्य घाइते छन् । घाइते अवस्थामा रहेका केही गाइगोरुलाई पशु चिकित्सकहरूले उपचार समेत गरेका छन् । अन्य चौपाया भने छाडा रूपमा जंगलमै छोडिएका छन् । ‘केही गाईहरूको खुट्टा भाँचिएका छन् । हामीले उपचार गरेपछि केही गाईगोरु उठेका छन्’ वीरेन्द्रनगर नगरपालिकाका पशु शाखाका प्रमुख नारायण न्यौपानेले भने, ‘हेर्दा चोट लागेर मृत्यु भएको जस्तो देखिन्छ । पोष्टमार्टम रिपोर्ट आएपछि सबै थाहा हुन्छ ।’

उता नेपालगन्ज उप–महानगरपालिकाले भने पाल्नका लागि भनेर दैलेखबाट माग भएपछि छाडा छाडिएका चौपाया प्रशासनको अनुमतिमा पठाइएको जनाएको छ । तीन सय ७० वटा गाइगोरु लैजान जिल्ला प्रशासन कार्यालय बाँकेले अनुमति दिएको पाइएको छ ।

यसैबीच नेपालगन्जबाट चौपाया बोकेर ल्याएका पाँच वटा ट्रक र चालकलाई प्रहरीले नियन्त्रणमा लिएको छ । उनीहरूमाथि थप अनुसन्धान भइरहेको डीएसपी रावलले जानकारी दिए । बीच बाटोमै गाई छोडेर फर्कने क्रममा दुई वटा ट्रकसहित चालक बबईबाट र तीन वटा ट्रकसहित चालक छिन्चुबाट नियन्त्रणमा लिइएको हो । ‘हामीले पाँच वटा गाडीसहित चालकलाई नियन्त्रणमा लिएका छौं’ डीएसपी रावलले भने, ‘उनीहरूमाथि अनुसन्धान भइरहेको छ ।’ आठ वटामध्ये पाँच वटा गाडी नियन्त्रणमा लिइए पनि अरु तीन वटा गाडी भने फेला परेका छैनन् ।

प्रकाशित मितिः   १४ भाद्र २०७६, शनिबार ११:५७