मृतकको संख्या चार पुग्यो

सुर्खेत : सुर्खेतमा बुधवार भएको बस दुर्घटना परी ज्यान गुमाउनेको संख्या चार पुगेको छ । दुर्घटनामा गम्भीर घाइते भएकी जाजरकोटको बारेकोट गाउँपालिका वडा नम्बर ७ की तारा बस्नेतको उपचारका लागि लखनउ लैजाने क्रममा मृत्यु भएपछि मृतकको संख्या चार पुगेको हो ।
जाजरकोटबाट नेपालगन्ज जाँदै गरेको ना ४ ख ९३१७ नम्बरको भेरीगंगा बस यातायात समितिको बस रत्न राजमार्ग अन्तर्गत सुर्खेतको भेरीगंगा नगरपालिका वडा नम्बर ५ हेर्रे नजिक बुधवार बिहान दुर्घटनामा परेको थियो ।

दुर्घटनामा परी मृत्यु भएका चार जनामध्ये तीन जनाको मात्र परिचय खुलेको छ । एक जना महिलाको परिचय नखुलेको जिल्ला प्रहरी कार्यालय सुर्खेतका डीएसपी रवि रावलले जानकारी दिए । उनले बारेकोट गाउँपालिका वडा नम्बर ७ की २५ वर्षीया लक्ष्मी बस्नेत र नलगाड नगरपालिका वडा नम्बर ७ की हजारी वादीको बुधवार नै परिचय खुलेको जानकारी दिए । बसमा ३२ जना सवार रहेका थिए । दुर्घटनामा गम्भीर घाइते भएका ३ जनाको लखनउमा उपचार भइरहेको छ ।

प्रकाशित मितिः   १३ भाद्र २०७६, शुक्रबार १३:०७