‘समृद्धिको नेतृत्व सहकारीले गर्नुपर्छ’

साझा बिसौनी संवाददाता
सुर्खेत, २० चैत ।
मुलुकको समृद्धिको नेतृत्व अब सहकारीले गर्नुपर्ने शनिवार वीरेन्द्रनगरमा आयोजित एक कार्यक्रमका सहभागीहरूले बताएका छन् । ५९ औं राष्ट्रिय सहकारी दिवसको अवसरमा आयोजित कार्यक्रमका सहभागीहरूले जनताको जीवनस्तर सुधार्न र मुलुकको आर्थिक समृद्धिको नेतृत्व सहकारी क्षेत्रले गर्नुपर्ने धारणा राखेका हुन् । 
राष्ट्रिय सहकारी बैंकका पूर्व सञ्चालक समिति सदस्य गोविन्दबहादुर मल्लले आर्थिक विकासका साथसाथै सामाजिक रूपान्तरणको अभियानमा सहकारी क्षेत्र लाग्न जरुरी रहेको बताए । उनले जनताको जीवनसँग प्रत्यक्ष जोडिएका सहकारी सिङ्गो मुलुकको आर्थिक विकासमा योगदान पु¥याउन सक्षम रहेको बताए । उनले सहकारी संस्थाहरूको योजना, कार्यक्रम र क्षेत्रलाई थप विस्तार र परिमार्जन गर्दै अघि बढ्नुपर्नेमा समेत जोड दिए । 
सहकारीविज्ञ डा. दीपबहादुर रावलले सहकारीहरूको संख्या दिनानुदिन बढ्दै गए पनि गुणस्तरमा अझै वृद्धि गर्न आवश्यक रहेको औंल्याए । 
‘गाउँ–गाउँमा सहकारी संस्था खुल्न थालेका छन्, यो सकारात्मक छ’ उनले भने, ‘तर संख्यात्मक वृद्धिसँगै गुणस्तर वृद्धिमा पनि ध्यान दिन सकिएन भने सहकारीबाट अपेक्षाकृत लाभ लिन सकिदैंन ।’ उनले सबै नागरिकहरूमा सहकारी शिक्षा हुन जरुरी रहेको भन्दै यसका लागि सरकारले पनि ध्यान दिनुपर्ने बताए । 
कार्यक्रममा जिल्ला बहुउद्देश्यीय सहकारी संघका अध्यक्ष चन्द्रप्रसाद थानी, जिल्ला कृषि सहकारी संघका अध्यक्ष लक्ष्मीप्रसाद गौतम लगायतले बैंकहरूको पहुँचमा पुग्न नसकेका र कमजोर आर्थिक अवस्था भएका नागरिकहरूको पहुँचमा सहकारी संस्थाहरू रहेको भन्दै सेवा सुविधा र कार्यक्रमहरू सुधार गर्दै लैजानुपर्ने धारणा राखेका थिए । सोही अवसरमा यस वर्ष जिल्लाका उत्कृष्ट चार सहकारी संस्थाहरूलाई पुरस्कृत तथा सम्मान समेत गरिएको छ । पुरस्कृत हुने सहकारीहरूमा पूर्णसक्रिय सहकारी, समृद्धि कृषि सहकारी, पाइनियर बहुउद्देश्यीय सहकारी र काँक्रेविहार मौरीपालन सहकारी संस्था रहेका छन् । 
स्थानीय पिपलचौतारीमा कार्यक्रम गर्नुअघि मंगलगढीचौकबाट ¥याली निकालिएको थियो । वीरेन्द्रनगरमा मात्र नभएर जिल्लाका अन्य स्थानमा पनि सहकारी दिवस विभिन्न कार्यक्रम गरी मनाइएको छ । 
प्रकाशित मितिः   २१ चैत्र २०७२, आईतवार ०३:५९