एक वर्षमा ८९ लाख नाफा

काँक्रेविहार बैंकको साधारणसभा

साझा बिसौनी संवाददाता
सुर्खेत, २० चैत ।
काँक्रेविहार विकास बैंक सुर्खेतले एक वर्षमा ८९ लाख नाफा गर्न सफल भएको छ । आर्थिक वर्ष २०७१÷०७२ मा ८९ लाख ३१ हजार रूपैयाँ कुल नाफा गरिएको बैंकले जनाएको छ । यो अघिल्लो आर्थिक वर्षको भन्दा १४ लाख रूपैयाँले बढी हो ।
शनिवार वीरेन्द्रनगरमा सम्पन्न बैंकको सातौं वार्षिक साधारणसभामा दिइएको जानकारी अनुसार आर्थिक वर्ष २०७१÷०७२ मा एक करोड ८९ लाख ४० हजार रूपैयाँ आम्दानी गर्न सफल भएको छ । अघिल्लो आर्थिक वर्ष २०७०÷०७१ मा भन्दा यस वर्ष खुद ब्याज आम्दानी भने घटेको छ । अघिल्लो वर्ष दुई करोड चार लाख ६७ हजार आम्दानी भएको थियो । गत वर्षको तुलनामा यस वर्ष निक्षेप बढी भएको कारण खुद ब्याज आम्दानीमा कमी आएको बैंकले जनाएको छ । यस्तै एक करोड ४४ लाख ३५ हजार कुल सञ्चालन गर्न भएको जनाइएको छ । बैंकको सम्पूर्ण कारोबारपछि ८९ लाख ३१ हजार रूपैयाँ आम्दानी भएको सञ्चालक समिति अध्यक्ष छविलाल रानाले जानकारी दिए ।
यसैगरी यसवर्ष ६४ करोड ४६ लाख ९० हजार रूपैयाँ निक्षेप सङ्कलन गर्न बैंक सफल भएको छ । यो गत वर्षभन्दा यस वर्ष निक्षेप १३ करोड ४७ लाख ५२ हजार बढी हो । कर्जा सापट पनि थप भइ ३६ करोड ३३ लाख ८७ हजार पुगेको छ । बैंकको न्यूनतम राख्नुपर्ने पूँजीकोषको कारणले गर्दा निक्षेपको अनुपातमा कर्जा सापट वृद्धि गर्न नसकिएको जनाइएको छ । अध्यक्ष रानाका अनुसार आर्थिक वर्ष २०७२÷०७३ का लागि राखिएको लगानी लक्ष्य पनि पूरा गर्ने अवस्थामा पुगको छ । कूल लगानी ५२ करोड ७२ लाख ५४ हजार पु¥याउने लक्ष्य राखिएकोमा ४१ करोड ५३ लाख ७२ हजार पुगिसकेको छ । निक्षेप सङ्कलनतर्फ ७६ करोड ५२ लाख ८५ हजार पु¥याउने लक्ष्य रहेकोमा माघ मसान्तसम्म बैंकले ७९ करोड ४० लाख ३६ हजार निक्षेप सङ्कलन गरिसकेको छ । 
सञ्चालक समितिको तर्फबाट वार्षिक प्रगति प्रतिवेदन प्रस्तुत गर्दै अध्यक्ष रानाले २०७४ असार मसान्तसम्म बैंकको चुक्ता पूँजी ५० करोड पु¥याउने लक्ष्य राखिएको जानकारी दिए । निक्षेपको औषत ब्याजदरमा कमी ल्याउने र निक्षेपको नयाँ योजना तर्जुमा गरी कार्यान्वयन गर्ने, व्यवसायिक सम्भाव्य स्थानहरूमा शाखा विस्तार गर्ने, कर्जाको गुणस्तरमा सुधार गर्दै लैजाने, कर्जा विस्तार गर्दा कृषि लगायत साना तथा घरेलु उद्योगमा लगानी वृद्धि गर्ने लगायतको आगामी योजना रहेको उनले जनाए । अध्यक्ष छविलाल रानाको सभापतित्व तथा जहरसिंह थापाको प्रमुख आतिथ्यतामा भएको साधारणसभामा संस्थापक शेयरधनी प्रेमबहादुर घले, हरिबहादुर थापा, जहरसिंह थापा लगायतले शुभकामना मन्तव्य राखेका थिए । 
प्रकाशित मितिः   २१ चैत्र २०७२, आईतवार ०४:०३