‘कर्णाली समृद्ध भए मधेस खुशी’
साझा बिसौनी संवाददाता
सुर्खेत, २० चैत ।
सङ्घीय समाजवादी फोरम नेपालका अध्यक्ष उपेन्द्र यादवले खस जातिको बाहुल्यता रहेको कर्णाली प्रदेश समृद्ध भए मधेस खुशी हुने बताएका छन् । कर्णालीका जनता अधिकार सम्पन्न भएमा मधेसी जनता पनि अधिकार सम्पन्न हुने उनको भनाइ छ । कर्णाली र मधेसका जनता अधिकारबाट वञ्चित भएको र आफ्नो पार्टी त्यसका लागि सङ्घर्षत रहेको समेत यादवले बताए ।
पार्टीको खसान प्रदेशको भेलालाई शनिवार वीरेन्द्रनगरमा सम्बोधन गर्दै अध्यक्ष यादवले कर्णाली प्रदेशको समृद्धि र विकासका लागि आफ्नो पार्टी प्रतिबद्ध रहेको बताएका हुन् । आफ्नो पार्टीलाई मधेसको मात्र वकालत गर्ने गरेको आरोप लाग्ने गरेको भन्दै उनले भने, ‘हामी कर्णाली पनि समृद्ध भएको हेर्न चाहन्छौं, कर्णालीका जनता अधिकारबाट वञ्चित छन् । कर्णालीको अधिकारका लागि मधेस सधैं साथमा छ, मधेस र कर्णालीलाई राज्यले हेंला गरिरहेको छ ।’ कर्णालीमा धेरै सम्भावनाहरू रहेको भन्दै उनले त्यसको सही सदुपयोग भएमा देशको सबैभन्दा समृद्ध प्रदेश कर्णाली नै हुने दाबी गरे ।
अधिकारका लागि कर्णाली र मधेसका जनता सँगसँगै लड्नुपर्ने उनको भनाइ छ । कर्णालीमा जस्तै पीडा मधेसमा पनि रहेको भन्दै उनले कर्णालीलाई अधिकार दिँदा मधेस खुशी हुने बताए । हालसम्म पिछडिएको यो क्षेत्रको विकास र यहाँका जनताको अधिकारका लागि आफ्नो पार्टीले सहयोग गर्ने प्रतिबद्धता समेत उनले व्यक्त गरे । साथै आफूलाई मधेसको पक्षमा मात्र वकालत गरेको आरोप लगाउने गरिएको भन्दै उनले समग्र नेपालको हित र पक्षमा रहेको समेत दाबी गरे । पार्टीको कार्यक्रममा सहभागी हुन सुर्खेत आएका यादवलाई शनिवार यहाँका युवाहरूले भारतको इशारामा मधेस टुक्राउन खोजेको भन्दै कालो झण्डा देखाएका थिए । एमाले र एमाओवादीका युवा सङ्गठन युवा संघ र वाइसीयलको चर्को विरोध र नाराबाजी भोगेका फोरम अध्यक्ष यादवले आफू विखण्डनकारी नभएको स्पष्ट पारेका हुन् । कडा सुरक्षा घेराभित्र भएको पार्टीको खसान प्रदेशको भेलामा यादवले भने, ‘म विखण्डनकारी होइन, म सच्चा देशभक्त हुँ । मैले कहिले पनि नेपाली जनताको हितविपरित काम गरेको छैन, म माथि गलत आरोप लगाइएको छ ।’
मधेसको अधिकारको कुरा गर्दा सरकाले बन्दुकले दबाउन खोजेको भन्दै अध्यक्ष यादवले सुर्खेतका युवाहरू समेत गलत भ्रममा परेर भोकभोकै बस्न बाध्य बनाएको दुखेसो पोखे । निषेधको राजनीति गर्न खोजिएको भन्दै यादवले आफूहरूले मधेसी जनताको अधिकारको लागि आन्दोलन गरिरहेको बताए । उनले थपे, ‘मधेसको अधिकारको माग गर्दा म कसरी विखण्डनकारी भएँ ? हामीले कहिले मधेस टुक्रिन्छ भनेका छौं ? साथीहरूले गलत आरोप लगाएर घेराबन्दी गर्न थाले ।’ आफ्नो पार्टीले मधेसको मात्र वकालत गरेको भन्ने आरोप गलत भएको भन्दै उनले मध्य तथा सुदूरपश्चिमका पहाडी जिल्लाहरू समेटेर खसान प्रदेश बनाउनुपर्ने पक्षमा आफूहरू रहेको र त्यसका लागि आन्दोलन जारी राख्ने जानकारी दिए । मधेसका माग पूरा नहुँदासम्म आन्दोलन जारी रहने बताउँदै यादवले मधेसको आवाज भारतको नभइ नेपाली जनताको नै भएको उल्लेख गरे । मधेस भन्ने वित्तिकै भारत भन्ने सोचका कारण समस्या उत्पन्न भएको भन्दै अध्यक्ष यादवले आफ्नो पार्टी नेपाल र नेपालीको अधिकारका लागि प्रतिबद्ध भएको स्पष्ट पारे । भेलामा फोरम संसदीय दलका नेता अशोककुमार राई, उपमहासचिव दानबहादुर विश्वकर्मालगायतका नेताहरूले समेत सम्बोधन गरेका थिए । उनीहरूले खस जातिहरूलाई समेत अधिकारसहितको प्रदेश दिनुपर्ने माग गरे ।
यादवलाई कालोझण्डा
यादवलाई कालोझण्डा
मधेस आन्दोलनको नाममा देशलाई नै ठप्प हुने गरी नाकाबन्दी गरेको र भारतको इशारामा मधेस टुक्राउन खोजेको भन्दै युवा संघ र वाइसीयलका कार्यकताहरूले यादवलाई कालो झण्डा देखाएका छन् । वीरेन्द्रनगरमा रहेको होटल भ्याली भ्यूमा शनिवार बिहान खाना खान पुगेका यादवलाई युवाहरूले घेराबन्दी गरेर कालो झण्डा देखाउँदै नाराबाजी गरेका थिए ।
युवाहरूको विरोधका कारण अवस्था तनावपूर्ण बनेपछि फोरम अध्यक्ष यादव होटलको खाना नै नखाएर बाहिरिएको कार्यकर्ताहरूले बताए । युवाहरूको विरोधपछि यादव प्रहरीको सुरक्षामा कार्यक्रमस्थल वीरेन्द्रनगर नगरपालिकाको हलमा पुगेका थिए । कार्यक्रमस्थल बाहिर समेत युवाहरूले दिनभर नछोडेपछि ठूलो संख्यामा प्रहरी परिचालन गरिएको थियो । युवाहरूको विरोधका कारण अध्यक्षले खाना नै खान नपाएको फोरम संसदीय दलका नेता अशोक राइले बताए । उनले भने, ‘खाने बेलामा कालले समेत छोड्छ भन्थे, तर यहाँ त युवाहरूले नै छोडेनन् । अध्यक्षज्यूले खाना नै खान पाउनु भएन ।’
यादव होटलमा पुगे लगत्तै युवाहरूले कालो झण्डा देखाउँदै यादव र मधेसवादी दलविरुद्ध नाराबाजी समेत गरेका थिए । भारतको इशारामा मधेसवादी दलहरुले नाकाबन्दी गरेको, सबै मागहरू पूरा हुँदासमेत भारतको स्वार्थको लागि मात्र आन्दोलनको नाटक गरेको, मधेसी जनतालाई भ्रममा पारेको र राष्ट्रघाती काम गरेको भन्दै युवाहरूले कालो झण्डासहित प्रदर्शन गरेका हुन् । युवाहरूले घेराबन्दी गरेपछि यादव निरिह बनेका थिए । यस्तै प्रहरी नजिकै भए पनि कुनै प्रतिक्रिया नजनाएको फोरम कार्यकर्ताहरूले गुनासो गरे । वाइसीयलका जिल्ला अध्यक्ष अम्मर चन्दले जनतालाई नाकाबन्दीका नाममा दुःख दिएको र मधेसलाई टुक्राउन खोजेकाले आफूहरूले विरोध गरेको बताए ।
प्रकाशित मितिः २१ चैत्र २०७२, आईतवार ०४:१०
साझा बिसौनी संवाददाता ।