परीक्षाहलमै बच्चा जन्मियो : दैलेखमा छोरा, जाजरकोटमा छोरी
सुर्खेत, २१ चैत ।
प्रवेशिका परीक्षा (एसएलसी) को तेस्रो दिन परीक्षा दिंदादिदैं दैलेख र जाजरकोटमा दुई जना छात्राले बच्चा जन्माएका छन् । दैलेखमा एक छात्राले परीक्षा केन्द्रमै छोरा जन्माएकी छन् भने जाजरकोटकी छात्राले छोरी जन्माएकी हुन् । परीक्षा केन्द्रमै सुत्केरी भएका दुबै छात्राले परीक्षा समेत दिएका छन् ।
आइतवार अनिवार्य गणित विषयको परीक्षा दिने क्रममा दैलेखको चामुण्डा उच्च मावि परीक्षा केन्द्रमा एक छात्राले छोरा जन्माएकी हुन् । परीक्षा हलमा प्रवेश गर्नै लाग्दा छात्रा विमला रावतलाई सुत्केरी व्यथा लागेको थियो । सोही क्रममा उनले केन्द्रमा नै छोरा जन्माएको बताइएको छ । उक्त परीक्षा केन्द्रका केन्द्राध्यक्ष जयप्रसाद तिमिल्सेनाले विमलाले केन्द्रमै छोरा जन्माएको बताए । उनका अनुसार विमलाले गणित विषयको परीक्षा पनि दिएकी छन् । आमा र बच्चाको अवस्था सामान्य रहेको समेत उनले जानकारी दिए ।
परीक्षा दिने क्रममा जन्मिएकाले आफन्तहरुले बच्चाको नाम न्यूटन राखिदिएका छन् । यस्तै जाजरकोटमा पनि एक छात्राले आइतवारको परीक्षामा छोरी जन्माएकी छन् । जिल्लाको सरस्वती उच्च मावि सिमा परीक्षा केन्द्रमा ति छात्राले बच्चा जन्माएकी हुन् । शिक्षकहरुका अनुसार परीक्षा दिँदादिदै छात्रा गीता बुढाले छोरी जन्माएकी हुन् । परीक्षामा लेख्न सुरु गरे लगत्तै गीतालाई सुत्केरी व्यथा लागेको थियो । केन्द्राध्यक्ष सत्रुधनप्रसाद चौधरीका अनुसार बच्चा जन्माएर पनि गीताले गणित विषयको परीक्षा दिएकी छन् । यसैबीच एसएलसीको तेस्रो दिन मध्यपश्चिम क्षेत्रमा परीक्षा शान्तिपूर्ण भएको मध्यपश्चिम क्षेत्रीय शिक्षा निर्देशनालय सुर्खेतले जनाएको छ । निर्देशनालयका अनुसार विगत वर्षहरुको तुलनामा यसपाली मध्यपश्चिममा परीक्षा मर्यादित शान्तिपूर्ण भइरहेको छ ।
प्रकाशित मितिः २१ चैत्र २०७२, आईतवार ०९:२२
साझा बिसौनी संवाददाता ।