अवरुद्ध राजमार्ग सुचारु

कालिकोट :तिलागुफाको छाप्रे ढाँडखोलामा गएको पहिरोका कारण अवरुद्ध कर्णाली राजमार्ग सञ्चालनमा आएको छ । पहिरोले कर्णाली राजमार्गअन्तर्गत सुर्खेत–जुम्ला सडकखण्डको टाकुल्लामा अवरुद्ध राजमार्ग दुईवटा डोजरले मंगलबार रातभर पहिरो पन्छाएपछि बुधवार बिहान ९ बजेबाट कर्णाली राजमार्ग सञ्चालनमा आएको हो ।

सोमवार बेलुकादेखि अवरुद्ध राजमार्ग सञ्चालनमा आएपछि कर्णाली राजमार्गमा अलपत्र परेका सवारी साधन तथा यात्रुलाई राहत भएको छ । जुम्ला, मुगुबाट सुर्खेततिर र सुर्खेतबाट जुम्ला मुगुतिर जाने सवारी साधन बुधवार बिहानबाट नियमित सञ्चालनमा आएका छन् । सोमवार बेलुका भारी वर्षाका कारण तिलागुफाको–७ छाप्रे ढाँड खोलामा आएको भीषण पहिरोले कर्णाली राजमार्गको टाकुल्लामा राजमार्ग अवरुद्ध भएको थियो । जिल्ला प्रहरी कार्यालय प्रमुख डीएसपी श्यामबाबु ओलीयाले सडक डिभिजन कार्यालय र तिलागुफा नगरपालिकाको समन्वयमा दुईवटा डोजर लगाएर पहिरो पन्छाएपछि बुधबार बिहान ९ बजेबाट राजमार्ग खुलेको जानकारी दिए ।

प्रकाशित मितिः   १२ भाद्र २०७६, बिहीबार ११:४१