‘आर्थिक समृद्धिले असमानता हट्छ’

सुर्खेत : कर्णाली प्रदेशका सामाजिक विकासमन्त्री दल रावलले सरकारले सञ्चालनमा ल्याएको छोरीका लागि बचत खाता कार्यक्रमले महिलाहरूको आर्थिक समृद्धिमा ठूलो योगदान पु¥याउने बताएका छन् । कर्णाली एकीकृत ग्रामीण विकास केन्द्रको आयोजनामा यस्तो बताएका हुन् ।

उनले आर्थिक समृद्धि नभएसम्म समानताको कुरा अगाडि बढाउन नसकिने भन्दै समानता स्थापना गर्नकै लागि प्रदेश सरकारले छोरीका लागि बचत खाता योजना ल्याएको दावी गरे । ‘कर्णाली प्रदेश देशभरमा गरिबीको रेखामुनी धेरै भएको प्रदेश हो’ उनले भने ‘यसलाई पाँच वर्षमा हामीहरूले घटाउन सकेनौ भने समानताको कुरा पूरा हुन सक्दैन ।’ कर्णाली सरकारले गत साउन महिनाबाट लागू हुने गरी छोरी बचत खाता कार्यक्रम ल्याएको छ । ‘बचत खाता छोरीको, सुरक्षा जीवनभरीको’ भन्ने मूल नाराका साथ सरकारले कार्यक्रम ल्याएको हो ।
सामाजिक सुरक्षा समानताको पहिलो खुड्किलो भएको समेत मन्त्री रावलको भनाइ थियो ।

कार्यक्रममा बोल्दै राष्ट्रिय योजना आयोगका सदस्य मिनबहादुर शाहीले गरिबी र असमानताबीचको सम्बन्धलाई बुझ्नुपर्ने बताए । ‘कर्णालीमा ठूला उद्योग कलकारखाना नहुनु दुर्भाग्यको कुरा हो’ उनले भने ‘यसको लागि एक सय ३२ केभी प्रसारण लाइन विद्युत आवश्यक छ । यो कामको सुरुवात तत्काल हुन्छ ।’ भौतिक पूर्वाधार विकास तथा विद्युतको विकासपछि कर्णाली आर्थिक रूपमा बलियो हुने उनको विश्वास रहेको छ ।

सांसद पद्मा खड्काले उत्पादनमा कर्णालीका सबै युवाहरूलाई नजोडेसम्म कर्णालीबाट असमानता हट्न नसक्ने बताइन् । कार्यक्रममा डा. डिल्लीराज खनालले समृद्धिका लागि समानता विषयमा कार्यपत्र प्रस्तुत गरेका थिए ।

प्रकाशित मितिः   १२ भाद्र २०७६, बिहीबार ११:४०