बस दुर्घटनामा तीन जनाको मृत्यु

सुर्खेत : सुर्खेतमा बस दुर्घटना हुँदा तीन जनाको मृत्यु भएको छ । जाजरकोटबाट नेपालगञ्ज जाँदै गरेको ना ४ ख ९३१७ नम्बरको भेरीगंगा बस यातायात समितिको बस रत्न राजमार्ग अन्तर्गत सुर्खेतको भेरीगंगा नगरपालिका वडा नम्बर ५ हर्रेनजिक बुधवार बिहान दुर्घटना हुँदा तीन जनाको मृत्यु भएको हो ।

बस सडकबाट करिब एक सय मिटर तल खसेको जिल्ला प्रहरी कार्यालय सुर्खेतका डीएसपी रवि रावलले जानकारी दिएका छन् । उनका अनुसार मृत्यु हुने तीनै जना महिला हुन् । मृत्यु भएका तीनजना मध्ये जाजरकोटको नलगाड नगरपालिका वडा नम्बर ७ की हजारी वादी र बारेकोट गाउँपालिका वडा नम्बर ७ की २५ वर्षीया लक्ष्मी बस्नेतको मात्र सनाखत भएको छ । एक जना महिलाको भने सनाखत भएको हुन सकेको छैन ।

दुर्घटनामा परी २९ जना घाइते भएका छन् । घाइतेहरूको मेडिकल कलेज कोहलपुर र शिक्षण अस्पताल नेपालगञ्जमा उपचार भइरहेको छ । घाइतेमध्ये ६ जनाको अवस्था गम्भीर रहेको प्रहरीले जनाएको छ । गम्भीर घाइते चार जनालाई लखनऊ रिफर गरिएको डीएसपी रावलले जानकारी दिए । ६ जनालाई भने उपचारपछि डिस्चार्ज गरिएको छ ।

बसमा ३२ जना यात्रु सवार रहेको प्रहरीले जनाएको छ । चालक र सह–चालक सामान्य घाइते भएकाले उनीहरूलाई उपचारपछि प्रहरीले नियन्त्रणमा लिएको समेत उनले जानकारी दिएका छन् । चालक सल्यान कुपिण्डे दह नगरपालिका–११ का खिमबहादुर विक र सह–चालक रुकुमको आठबिसकोट नगरपालिका वडा नम्बर ११ का भोला परियारलाई प्रहरीले नियन्त्रणमा लिएको हो । प्रारम्भिक अनुसन्धानमा बसको ब्रेक फेल भएर दुर्घटना भएको प्रहरीले जनाएको छ ।

प्रकाशित मितिः   १२ भाद्र २०७६, बिहीबार ११:३९