पाइनियरद्वारा पाउडर उद्योग स्थापना
सुर्खेत : पाइनियर बहुउद्देश्यीय सहकारी संस्था सुर्खेतले डिटर्जेन्ट पाउडर उद्योग सञ्चालनमा ल्याएको छ । भूमि व्यवस्था, कृषि तथा सहकारी मन्त्रालयका सचिव राजेन्द्रप्रसाद भारीले मंगलवार उक्त उद्योगको उद्घाटन गरेका छन् । सहकारीको १५औं स्थापना दिवसको अवसर पारेर उद्योग उद्घाटन गरिएको हो ।
उद्योग उद्घाटन गर्दै सचिव भारीले कर्णाली प्रदेशमा औद्योगिक क्षेत्रमा लगानी वृद्धि गर्नुपर्नेमा जोड दिए । साथै उनले सहकारीहरूले उत्पादनमूलक क्षेत्रमा लगानी गर्नु महत्वपूर्ण कार्य भएको भन्दै पाइनियर सहकारीले चालेको कदमको प्रशंसा गरे । साथै सरकारले पनि उत्पादनमूलक क्षेत्रमा लगानी गर्नेहरूलाई सहयोग गर्ने नीति लिएको उनले जानकारी दिए ।
पाइनियर डिटर्जेन्ट पाउडर सोप एण्ड केमिकल उद्योगले अहिले पीएमसी डिटर्जेन्ट पाउडर उत्पादन सुरु गरेको छ । ७० लाख बराबरको लगानीमा स्थापना गरिएको उद्योगबाट दैनिक एक टन पाउडर उत्पादन क्षमता रहेको सहकारीका व्यवस्थापक मीन नेपालीले जानकारी दिए । उनका अनुसार अहिले दुई सय ५०, पाँच सय र एक केजीका प्याकेटमा पाउडर उत्पादन सुरु गरिएको छ । सहकारीले लिएको बहुउद्देश्य अनुसार उद्योग स्थापना गरिएको सहकारी अध्यक्ष भिमबहादुर भण्डारीले बताए । उनले बचत र ऋणको कारोबार मात्रै नभएर उत्पादनमूलक उद्योगमा लगानी गर्ने उद्देश्यसहित सहकारी अघि बढेको जानकारी दिए । साथै आगामी दिनमा पनि सरसफाइ सम्बन्धी साबुन, हार्पिक लगायत विभिन्न सामग्री उत्पादन गरिने जनाइएको छ । उद्योगबाट उत्पादित वस्तुको सुर्खेतसहित कर्णाली प्रदेशका सबै जिल्लामा पुर्याउने लक्ष्य राखिएको छ ।
प्रकाशित मितिः ११ भाद्र २०७६, बुधबार १३:११
साझा बिसौनी ।