‘कर्णालीमैत्री कानुन बनाऊ’

सुर्खेत: कर्णाली प्रदेश सुहाउँदो कानुन निर्माण गर्नुपर्नेमा सरोकारवालाहरूले जोड दिएका छन् । सोमवार नेपाल कानुन समाजद्वारा सञ्चालित नागरिक संवाद केन्द्रले आयोजना गरेको छलफलमा सहभागीहरूले कर्णाली प्रदेशसभाबाट बनाइने कानुन यहाँको लागि अनुकूल हुनुपर्ने बताएका हुन् ।

कार्यक्रममा बोल्दै मध्यपश्चिमाञ्चल विश्वविद्यालयमा कानुन विषय अध्ययनरत विद्यार्थी विष्णुविवेक ढुङ्गानाले केन्द्रले बनाएका कानुन अनुशरण गर्नुभन्दा आफैले बनाउनुपर्ने सुझाव दिए । ‘कानुन बनाउँदा कर्णालीलाई पायक पर्छ कि पर्दैन भन्ने कुरामा ध्यान दिइनु पर्छ’ उनले भने । अर्का सहभागी टीकाराम शर्माले कानुन निर्माणका क्रममा सुझाव संकलन गर्नुपर्नेमा जोड दिए ।

सहभागीहरूले कर्णाली प्रदेश सरकारले केही विधेयकहरूमा ठूलो गल्ती गरेकोले यसमा सचेत हुन आग्रह समेत गरेका थिए । जवाफ वक्ताको रूपमा रहेका संसद सचिवालय अधिकृत राजेन्द्र पौडेलले विषयगत मन्त्रालयबाट भएका गल्तीहरू सच्याउनेतर्फ आफूहरू प्रतिबद्ध रहेको जिकिर गरे ।

प्रकाशित मितिः   १० भाद्र २०७६, मंगलवार १६:५७