कार्यशाला गोष्ठी समापन

सुर्खेत, १९ असार । (साबिस)
स्थानीय अनुकूलन कार्ययोजना तर्जुमाका लागि सञ्चालित तीन दिने कार्यशाला गोष्ठी सुर्खेतको लेखपराजुल गाविसमा सम्पन्न भएको छ । स्थानीयस्तरमा आइपर्ने प्राकृतिक प्रकोपहरू नियन्त्रण र त्यसबाट सुरक्षित रहन अपनाउनुपर्ने सावधानीका बारेमा गोष्ठीमा छलफल भएको छ ।
गोष्ठी समापनमा बोल्दै जिल्ला विकास समिति सुर्खेतका उमादेवी सिंहले समुदायमा आइपर्ने विपत्तिहरूको समाधानमा समुदायका मानिसहरू मिलेर लाग्नुपर्नेमा जोड दिइन् । यस्तै सुन्दर नेपाल संस्थाका कार्यक्रम सयोजक भुपेन्द्र कँडेलले कार्ययोजना लागू गर्नको लागि सबैको साथ र सहयोगको आवश्यकता पर्ने भन्दै जलवायुजन्य जोखिमहरूबाट बच्न सबै एकढिक्का भएर लाग्नुपर्ने बताए । सुन्दर नेपाल संस्थाद्वारा सञ्चालित अनुकूलन परियोजना–मार्फत् सञ्चालित गोष्ठीमा लेखपराजुल गाविसमा आइपर्ने जोखिमहरूका न्यूनीकरण र विपत्तिबाट सुरक्षित रहनको लागि योजना निर्माण गरिएको अनुकूलन परियोजनाका अनुकूलन तथा विपत् जोखिम अधिकृत नृपेश कुँवरले जानकारी दिए ।
कार्यक्रमको सहजीकरण परियोजनाका लापा सहजकर्ता भुवन बस्नेत र कृषि प्राविधिक विमल कोइरालाले गरेका थिए । यसैगरी कार्यशाला गोष्ठीमा वडा नागरिक मञ्चका सयोजक तथा सदस्य, राजनीतिक दलका प्रतिनिधि, शिक्षक, सामुदायिक वनका समितिहरू लगायतको सहभागिता रहेको थियो ।

प्रकाशित मितिः   २० असार २०७३, सोमबार १०:५७