बाल विवाहविरुद्ध बालबालिका

जाजरकोट, १९ असार । (साबिस)
उमेर नपुग्दै विवाह गर्नेको संख्या बढ्दै गएपछि जाजरकोटका बालबालिकाहरू बालविवाह रोक्ने अभियानमा जुट्ने भएका छन । जिल््ला बाल कल्याण समितिको आयोजनामा सदरमुकाम खलंगामा भएको जिल्ला बाल भेलामा सहभागी बालबालिका नै बालविवाह रोक्न अभियान थाल्ने निश्कर्षमा पुगेका हुन् ।
जाजरकोटका ६५ प्रतिशत बालबालिका उमेर नपुग्दै विवाह गर्ने गरेको र बालविवाहका कारण उत्पन्न हुने शारीरिक, मानसिक तथा सामाजिक समस्याबारे जानकारी पाएपछि बालविवाह रोक्न अभियान नै थाल्ने भएका हुन् । बालबालिका सम्बन्धी पाँच वर्षे रणनीति बनाइएको र सोही रणनीतिका आधारमा जिल्लाको प्रमुख समस्याको रूपमा रहेको बालविवाह न्यूनीकरणका लागि सबै सरोकारवालाको सहयोगमा अभियान थालिने जिल्ला बाल कल्याण समितिका अध्यक्ष समेत रहेका प्रमुख जिल्ला अधिकारी जनार्दन गौतमले बताए । उनले बालबालिकाको बालविवाह रोक्ने अभियानमा सरकारी निकायको तर्फबाट पूर्ण सहयोग गर्ने प्रतिबद्धता जनाएका छन् । नवनिर्वाचित बाल सञ्जालकी जिल्ला अध्यक्ष जानुका शाहीले बालविवाह रोक्न अभियान अन्तर्गत विद्यालयमा गठित बाल क्लबमार्फत् चेतनामूलक कार्यक्रम सञ्चालन गर्ने जानकारी दिइन् । उनले उमेर नपुग्दै गरिने विवाहका कारण बालिकाको स्वास्थ्यमा गम्भीर असर पर्ने, पठनपाठनमा बाधा पुग्ने, बालविवाहकै कारण बहुविवाह, सम्बन्ध विच्छेद हुने लगायतका समस्या देखिने भएकोले बालविवाह रोक्न अभियान नै थाल्ने बताइन् ।

प्रकाशित मितिः   २० असार २०७३, सोमबार १०:५२