समृद्ध र शान्त नेपालको अपेक्षा

dinesh
दिनेश गौतम

आज संसार गौतम बुद्धलाई शान्तिको दूतको रूपमा आदर गर्छ । आज संसारले महात्मा गान्धीलाई अहिंसाका पुजारी रूपमा चिन्छ । आज संसारमा मार्टिन लुथर किङको नाम शान्ति अभियन्ताको रूपमा परिचित छ । मलालाले हिंसाको विरोध गर्दै शान्तिको पक्षमा आवाज उठाएका कारण पाएकी हुन नोबेल पुरस्कार । यी र यस्ता धेरै संसारका बहुचर्चित मानिसहरू छन् जो उनीहरूले अंगालेको शान्ति र सद्भावको बाटोबाटै चर्चित हुन सकेका हुन् ।
शान्ति आफैंमा बलियोे छ । शान्ति आफैंमा कञ्चन छ । शान्ति आफैंमा सद्भाव र एकताको प्रतिफल हो । शान्ति आफैंमा आत्मसन्तुष्टीको पूरक बन्न पुग्छ । आज शान्ति छ, सद्भाव छ र एकता छ र पो, यो एउटा पृथ्वीमा अटाएका सात अर्ब मानिसहरू । शान्ति आफैंमा सहृदयताको प्रतिविम्ब बन्नपुग्छ । शान्ति आफैंमा सद्भावको प्रतिफल बन्न पुग्छ । शान्ति आफैंमा एकताको नतिजा बन्न पुग्छ । शान्ति सद्भाव र एकताको मिश्रणबाट निकै लामो समयसम्म जारी रहन खोज्छ, अर्थात् शान्ति दिगो छ र हामी त्यही दिगो शान्तिको खोजीमा छौं । हामी त्यही दिगो शान्तिको अपेक्षा गर्दछौं । हामीले भोगिरहेको यो वर्तमान पनि दिगो शान्तिमै रहोस्, हामी चाहन्छौं । दिगो शान्ति स्थापना गर्न हर सम्भव प्रयासहरू भएका छन् हामीबाट र नभएको भए पनि हुनेछन् विस्तारै । हामी दिगो शान्तिको वातावरणमा समय व्यतित गर्न चाहन्छौं । हामी चाहन्छौं हाम्रा सन्ततिहरूले कुनै समय इतिहास पढे भनें त्यहाँ लेखिएको होस्, उनीहरूका पुर्खाले बिताएको समय दिगो शान्तिले भरिपूर्ण समय थियो जहाँ कहिल्यै थिएन हिंसा, द्वेष, आवेग र द्वन्द्व । त्यो निरन्तर रहिरहोस्, युगौं युगसम्म ।
अरुप्रतिको समभाव, आदर, सम्मान, मान मर्यादा, यी सबै सद्भाव हुन् । अपनत्व, भाइचारा, प्रगाढ सम्बन्ध, निकटता, अप्ठ्यारा परिस्थितिहरूमा सहयोग, यी पनि सदभाव हुन् । अरूप्रतिको सकारात्मक सोचाईं, सहयोगपूर्ण भावना यी सबैमा सद्भाव छ । दुःखमा सकेजति सहयोग, खुशीयालीमा सहभागिता, प्रगतिको सहयोगी अर्थात् अरुको राम्रोको लागि जे गर्छौं, गरिन्छ , गरियो वा गरिनेछ , त्यो सबै सद्भाव हो । प्रगतिउन्मुख समाजको आधार, सम्मनुत समाज निर्माणको पहिलो आधार हो दिगो शान्ति । दिगो शान्तिको मुख्य दुई आधारहरूमध्ये एक हो सद्भाव । एकता पनि शान्तिको प्रमुख आधार हो । जस्तो सुकै जटिल परिस्थितिको सामना गर्न परोस्, सबै मिलेर, अरुलाई परेको दुःख आफ्नै सम्झेर सबै एक भएर दुःखलाई पार लगाउने कोशिस गरिन्छ, सुखीमा एक भएर खुशीयाली मनाइन्छ । एउटाको अवस्था जटिल हुँदा सबै मिलेर उसलाई सामान्य अवस्थामा फर्काउने कोशिस गरिन्छ, जुनसुकै काम किन नहोस्, एकआपसमा मिलेर, एकै ठाउँमा उभिइन्छ । विभेदको विरुद्ध सबैको एक स्वरमा आवाज उठ्छ, असमानताको विरुद्ध सबैको एकमत हुन्छ । जस्तो सुकै कठिन परिस्थिति किन नआओस्, हामीबीच एकता छ र एकताले नै परिस्थिति सहज बनाउँछ ।
एकता पनि समाजमा दिगो शान्ति स्थापनाको अर्काे प्रमुख आधार हो ।
समाजमा एक व्यक्ति मात्र हुँदैन । समाज आफैंमा व्यक्तिहरूको समूह हो । थरीथरीका व्यक्ति हुन्छन् समाजमा र यिनै व्यक्तिमा पनि हुन्छन् थरीथरी विचार । एउटै व्यक्तिमा त फरक–फरक समयमा भिन्न–भिन्न विचारहरू आउँछन् भने फरक व्यक्तिमा भिन्न–भिन्न विचारहरू आउनु नौलो भएन । ती विचारहरू मिल्दैनन् एकआपसमा । ती प्रत्येक विचारले आ–आफ्नो अस्तित्व खोज्दै गर्दा आउँछन् व्यक्ति–व्यक्ति बीचको सम्बन्धहरूमा कटुता । केही असन्तुष्टी जाहेर हुन्छन् । आपसी वैमनस्यताले केही हदसम्म द्वन्द्व पनि निम्त्याउँछ । र यसको एउटै समाधान हो दिगो शान्ति । दिगो शान्ति अर्थात् जहाँ आपसमा कुनै वेमेल रहन्न । आपसमा कुनै द्वन्द्व रहन्न । समाजमा कुनै हिंसा रहन्न । समुदायमा कुनै वैमनस्यता रहन्न । व्यक्तिमा कुनै कटुता रहन्न । कहीं कतै विभेद रहन्न । कहीं कतै अन्याय रहन्न । कहीं कतै अत्याचार रहन्न । कहीं कतै प्रतिशोध रहन्न । हृदयमा कुनै द्वेष रहन्न । व्यक्तित्वमा कुनै लान्छना रहन्न । मस्तिष्कमा कुनै बदलाको भावना रहन्न । एकदम शान्त अर्थात् दिगो शान्ति, जो सबैको अपेक्षा हो । भाइचारा, अपनत्वको भावना, अर्काको अस्तित्व स्वीकार, अर्काको प्रगतिको सहयात्री र त्यस्तै–त्यस्तै अत्यन्त सहज र स्वीकृत सम्बन्धको उपज हो शान्ति । मान्छे हो त्रुटी हुन्छन् । सानातीना त्रुटी बिर्सेर क्षमा दिन सक्नुपर्दछ । व्यक्ति–व्यक्तिको प्रेम, शुभेच्छा, सहयोग, सद्भाव, सामूहिक भावना, सहयात्रा, अंहिसा यी र यस्तै खम्बाहरूले गहन भूमिका खेलेका छन् शान्तिपूर्ण बनाउन सम्बन्धहरू व्यक्ति व्यक्तिबीच, समुदाय–समुदायबीच र राष्ट्रराष्ट्रबीच । व्यक्ति परिवारमा बस्छ, परिवार आफ्नै हो । समाजमा बसेपछि समाज आफ्नै हो, देशमा बसेपछि देश अझैं आफ्नै हो । संसारको एउटै छानो आकाशमुनी रहेपछि यो संसार आफ्नै हो । छिमेकीको छेउमै बसेपछि छिमेकी दुःख–सुखको साथी हो, भिडमा बसेपछि भिड पनि प्रिय नै हो । जहाँ रहन्छ मान्छे वा रहन सक्छ, ती सबै आफ्ना हुन र त्यो आफ्नोपनले नै बनाउँछ सम्बन्ध दिगो, रहन्छ सम्बन्ध शान्तिपूर्ण, रहन्छ एकआपसमा सद्भाव र बनिदिन्छ माहोल एकताबद्ध । व्यक्तिको आन्तरिक शान्ति बनिदिन्छ एउटा समुदायको, समाजको, राष्ट्रको र सिंगो संसारको शान्तिको आधार । एउटा व्यक्तिको सकारात्मक भावना सद्भावको रूपमा विकसित हुन्छ । एउटा व्यक्ति अन्य व्यक्तिहरूप्रतिको सहयोग र समर्पण भइदिन्छ समग्र एकताको प्रतिक ।
आपसी वेमेलहरू सृजना हुन सक्दछन् कहिले काहीं । मन दुखेको हुनसक्छ कसैको कसैसँग कुनै कुरामा । सम्बन्ध बिग्रिएको हुनसक्छ केही सीमित स्वार्थले । तर ती सबै बिर्सन सक्नुपर्दछ । यो संसारमा जो–जो रहन्छन्, जहाँ–जहाँ रहन्छन्, जसरी रहन्छन्, जति समय रहन्छन्, यहाँ हरेकको अस्तित्व छ र त्यो अस्तित्वलाई स्वीकार गर्न सक्नुपर्दछ । अरुको अस्तित्व स्वीकार गर्न सक्नाले बन्दछ एउटा बलियो एकता । अर्काेलाई चोट पर्दा त्यो भन्दा गहिरो चोट आफूलाई परेको महसुस हुनुपर्छ । अरुलाई नराम्रो हुँदा मन पहिले हाम्रो दुख्नुपर्दछ । पहाडमा पहिरोले कसैको घर बगाउँदा तराईमा बस्नेको मन पोल्नुपर्छ, तराईमा बाढीले सबै डुबाउँदा पहाडका मानिसहरूले आँशु बगाउनुपर्छ । पश्चिममा भोकमरी पर्दा पूर्वकाले एक छाकमै दिन टार्न तयार रहनुपर्दछ । पूर्वमा विपत्तीले घेर्दा पश्चिममा मानिसहरूले ईश्वरसँग प्रार्थना गर्न सक्नुपर्दछ । कोशीले सारा डुबाउँदा कर्णालीमा आँशुको धारा बगेको हुनुपर्छ । कर्णालीमा अभावले घेरे कोशीले अभाव हटाउने प्रयास गर्नुपर्दछ । आखिर यो भन्दा विशाल एकता, आखिर यो भन्दा गहिरो सद्भाव के हुनसक्छ र ? यसरी सम्भव छ समाजमा दिगो शान्ति ।
विभेद दिगो शान्तिको बाटोमा देखिने एउटा मुख्य अवरोध हो । विभेद हुनुहुँदैन कसै–कसैबीच, कुनै पनि
विषयमा । को ठूलो ? को सानो ? को धनी ? को गरीब ? को शिक्षित ? को अशिक्षित ? को गाउँको ? को सहरको ? को किसान ? को व्यापारी ? हामी सबै हौं मानव र हामी सबैको साझा पहिचान हो मानवता । हामी सबैको एउटै विशेषता छ, हामी सद्भाव र एकताको माध्यमबाट दिगो शान्ति स्थापना भएको हेर्न चाहन्छौं र त्यसैको लागि प्रयत्नशील छौं । व्यक्तिमा, परिवारमा, समाजमा, राष्ट्रमा र सारा संसारभरीमा दिगो शान्ति स्थापना गर्नुछ भने त्यो एउटा व्यक्तिबाट सुरु हुन्छ । साँच्चै, हामी तयार छौं त्यसको लागि किनभने हामी शान्त र सभ्य समाज चाहन्छौं । हामी समृद्धि चाहन्छौं । समृद्धिको लागि दिगो शान्ति नभइ हुँदैन । दिगो शान्तिको लागि सद्भाव, सद्भावको लागि एकता, एकताको लागि समाज र समाजको लागि व्यक्ति नभइ हुँदैन । एकदम निकट सम्बन्ध छ एउटा व्यक्तिको र समृद्धिको । समृद्धिसँगै जोडिएको छ दिगो शान्ति र दिगो शान्ति स्थापना गर्ने भनेकै एकता र सद्भावको बलले हो । रहिरहनुपर्छ यो शान्ति, यो भाइचारा, यो प्रगाढ स्नेह त्यतिञ्जेलसम्म जतिञ्जेलसम्म चलिरहन्छ समय, रहिरहन्छ प्राणीको अस्तित्व, उदाइरहन्छ सूर्य, घुमिरहन्छ पृथ्वी । कतै मोडिनु हुँदैन यो शान्तिको पथ, कतै गाँठो पर्नु हुँदैन यो सद्भावको डोरीमा र कतै धमिरा लाग्न पाउनुहुँदैन यो हाँगा–हाँगा मिलेर बनेको एकताको विशाल वृक्षमा । अर्काको दुःखमा सामेल भइ दुःखको हिस्सेदार बन्न सकियोस् । अर्काको खुशीमा आफ्नै खुशी सम्झेर रमाउन सकियोस् । अरुलाई जस्तो सुकै सङ्कट परेको किन नहोस्, मन, वचन र कर्मले सहयोग गर्न सकियोस् । घृणा, रिस, द्वेष, कु–विचार, आवेश, असन्तुष्टी कहिल्यै सृजित नहोस् । कायम रहोस् त केबल शान्ति, सद्भाव र एकता । तब पो बन्दछ एउटा मिलनसार समुदाय, सृजनशील समाज र समृद्ध राष्ट्र । तब पो रहन्छ हाम्रो गौरवमय अस्तित्व, प्रेरणादायी इतिहास र हिंसारहित समाज ।
हुनसक्छौं हामी अलग्गिएको कहिले काहीं कुनै समयमा, हुनसक्छ हाम्रो जात नमिलेको, हुनसक्छ हाम्रो भाषा र धर्म नमिलेको, हुनसक्छ हाम्रो चालचलन रितीरिवाज र परम्परा नमिलेको, हुनसक्छ हाम्रो अतित, हाम्रो विचारधारा र दर्शन नमिलेको तर मिल्नुपर्छ हाम्रो मन । बन्न पर्छु हाम्रो एउटा सवल पहिचान, हाम्रो एकता । बन्नुपर्छ सारा संसारको अगाडि उदाहरण, हाम्रो यो आपसी सद्भाव र सारा दुनियाँले हामीबाट सिक्न सकोस् कि शान्ति भनेको के हो ? हामी शान्ति, सद्भाव र एकताको पर्याय बन्न सक्नुपर्छ र बन्नसक्नुपर्छ उदाहरण भाइचारा र अपनत्वको सारा संसारभरी । कहिल्यै नफुट्ने, कहिल्यै वैमनस्यतापूर्ण सम्बन्ध नरहने, कहिल्यै सम्बन्धमा दरार उत्पन्न हुन नदिने पहिचान बोक्नु छ हामीले । सधैं दिगो शान्तिको उदाहरण, सद्भाव र एकताको पयार्य हामी नै बन्नुछ । जो जहाँ छ, त्यही खुशी बन्न सक्नुपर्छ, जो जे गर्दैछ त्यसैमा रम्न सक्नुपर्छ । विगतका केही तिता सम्झनाहरू होलान मनमा गढेर बसेका, तिनलाई फ्याँकी दिनुपर्दछ र बनाउन सक्नुपर्दछ एउटा स्थिर र दिगो शान्तिपूर्ण वातावरण । बन्न सक्नुपर्दछ प्रिय सबैको र बनाउन सक्नुपर्दछ प्रिय सबैलाई । बन्न सक्नुपर्दछ हिस्सेदार एउटा शान्ति, सद्भाव र एकताले भरिएको समाजको ।
हिमालबाट पग्लिएको हिउँले दिन सक्नुपर्छ तराईमा शितलता । तराईमा चर्किदै गएको सूर्य पुग्नपर्छ हिमालमा न्यानो बोकेर । पहाडको मान्छे हिमालमा पुगेर ल्याएको यार्सागुम्बा तराईमा लगेर तराईवासीलाई औषधि बनाएर बेच्न सक्नुपर्छ, हिमालको मान्छे राडी र पाखी बोकेर पहाडमा बास बस्न जानुपर्छ, तराईमा लगेर बेच्नुपर्छ । तराईको मान्छे प्रशस्तै अन्न उब्जाउन र पु¥याउन पहाड र हिमालका उत्पादन शून्य हुने पहराहरूमा र त्यहाँमा मानिसहरू पेट भर्न सक्नुपर्छ । पूर्वका मान्छे पश्चिम आएर जागिर गरुन्, पश्चिमका मान्छे पूर्व गएर व्यापार गरुन् । गुरुङ्ग, मगर, लामा, राई, किराँत, तामाङ, भोटे, जुम्ली, चेपाङ, डोटेली, नेवार, पूर्वेली, पश्चिमेली, मधेसी, हिमाली, जो कोही किन नहुन, जो सुकैको किन नहोस्, प्रथा परम्परा, चालचलन, रितीरिवाज, संस्कार संस्कृति ती सबै हामी सबैका साझा हुन् । हामीले साझा बनाएका हौं एकआपसको संस्कृति स्वीकारेर, मानेर, मनाएर, बुझेर, बुझाएर । सबै एक हुन धेरै अर्थमा जस्तो हामी सबैको एउटै हुन गौतम बुद्ध । जसरी हामी सबैको हो सगरमाथा, जसरी हामी सबैको हक लाग्छ यो माटोमा, जसरी हामी आफ्नो सोच्दछौं यो देशलाई । हामी सबैले दिएका छौं शुभकामना, मनाएका छौं एक अर्काको पर्व सामूहिक रूपमा जस्तो दशैं, तिहार, क्रिसमस, ईद, ल्होसार आदि आदि । यही देखिन्छ हाम्रो एकता, यही हो हाम्रा पहिचान, यही हो हाम्रो एकअर्काप्रतिको सद्भाव, यही हो दिगो शान्तिको पहिलो र बलियो आधार ।
आपसी कटुतालाई मेट्दै, विभेदका अँध्यारा विगतहरू बिर्सदै, असमानताका पानाहरू च्यात्दै, अरूप्रतिको सम्मान कायम राख्दै, अरुको अस्तित्व स्वीकार गर्दै, अरुप्रतिको नम्रता जारी राख्दै हामी दिगो शान्तिको पथमा लाग्नुपर्दछ । सद्भाव कायम राख्दै एकआपसमा, समानताको उदाहरण पेश गर्दै, सबैलाई न्याय गर्दै, हरेक अवस्थामा त्यो चाहे जटिल होस् वा सहज, आपसमा एकता कायम गर्दै हामीले स्थापना गर्नुपर्दछ दिगो शान्ति । निजी स्वार्थलाई तिलाञ्जली दिएर सामूहिक स्वार्थका निमित्त एकताबद्ध भइ सद्भावको भ¥याङ्ग चढेर हामी पुग्नुपर्छ दिगो शान्तिसम्म । समाजमा दिगो शान्ति रहिरहनुपर्दछ त्यतिञ्जेल जतिञ्जेल रहन्छ हाम्रो अस्तित्व ।

प्रकाशित मितिः   २० असार २०७३, सोमबार १०:४९