रविसहित तीनजनालाई पाँच वर्ष कैदको मागदावी
चितवन : पत्रकार शालिकराम पुडासैनीलाई आत्महत्या गर्न दुरुत्साहन गरेको अभियोगमा सञ्चारकर्मी रवि लामिछानेसहित तीन जनालाई ५ वर्ष कैद र ५० हजार जरिवाना मागदावी गर्दै जिल्ला अदालत चितवनमा अभियोगपत्र दायर भएको छ । जिल्ला सरकारी वकिल कार्यालय चितवनले आइतवार अभियोगपत्र दायर गरेको हो ।
पुडासैनीले गत २० साउनमा चितवनको भरतपुर महानगरपालिका–१ स्थित कंगारु होटलमा आत्महत्या गर्नु अघि बनाएको भिडियोमा लामिछानेसहित तीन जनाले आत्महत्या गर्न बाध्य पारेको बताएका थिए । सोही भिडियोका आधारमा प्रहरीले लामिछाने, युवराज कँडेल र अस्मिता भनिने रुकु कार्कीलाई पक्राउ गरेको थियो । प्रहरीले अनुसन्धान सकेर आइतवार नै सरकारी वकिल कार्यालयमा रायसहितको फाइल बुझाएको थियो ।
जिल्ला सरकारी वकिल कार्यालयका प्रवक्ता प्रकाश थापाले फाइल अध्ययन गरेर जिल्ला अदालतमा अभियोगपत्र दायर गरेको बताए । ‘हामीले अभियोगपत्र जिल्ला अदालतमा पेश गरेका छौं,’ उनले भने, ‘अभियोगपत्रमा मुलुकी अपराध संहिता २०७४ को १८५ बमोजिम ५ वर्ष कैद र ५० हजार जरिवाना मागदावी गरेका छौं ।’ अभियोग–पत्र दर्ता भएपछि अदालतले तीन जनासँग बयान लिन्छ । बयान भइसकेपछि थुनछेक बहस भएर अदालतले थुनामा राख्ने कि छाड्ने भन्ने आदेश दिन्छ ।
बयान भने आज (सोमवार) सम्मका लागि लम्बिएको छ । जिल्ला अदालतका श्रेस्तेदार रुद्रमणि गिरीका अनुसार आइतवार पुडासैनीकी प्रेमिका भनिएकी अस्मिता कार्की रुकुको बयान सकिएको छ । बाँकी दुई जना रवि लामिछाने र युवराज कँडेलको बयान सोमवार बिहान १० बजेपछि लिइदंै छ । अदालतका मुख्य न्यायाधीश हेमन्त रावलको इजलासमा लिखित बयान लिइएको हो । उनीहरूलाई आइतवार प्रहरी हिरासतमानै राखिएको छ ।
बयान सकिएपछि बहस हुनेछ । बहसपछि मात्रै रिहा गर्ने वा कारागार चलान गर्ने आदेश अदालतले दिनेछ । मृत्यु प्रकरणका आरोपी रवि, युवराज र अस्मितालाई गएको साउन ३० गते काठमाडौंबाट पक्राउ गरी चितवन ल्याई प्रहरी हिरासतमा राखिएको छ ।
प्रकाशित मितिः ९ भाद्र २०७६, सोमबार १३:११
साझा बिसौनी ।