रवि लामिछानेसहित तीनजना विरुद्व ५ वर्ष कैद र ५० हजार जरिवाना मागदावी

पत्रकार सालिकराम पुडासैनीलाइ आत्महत्या गर्न दुरुत्साहन गरेको अभियोगमा संचारकर्मी रवि लामिछानेसहित तीन जनालाई ५ वर्ष कैद र ५० हजार जरिवाना मागदावी गर्दै जिल्ला अदालत चितवनमा अभियोगपत्र दायर भएको छ ।

 जिल्ला सरकारी वकिल कार्यालय चितवनले आइतबार आइतवार अभियोगपत्र दायर गरेको हो ।

 पुडासैनीले गत २० साउनमा चितवनको भरतपुर महानगरपालिका १ स्थित कंगारु होटलमा आत्महत्या गर्नु अघि बनाएको भिडियोमा लामिछानेसहित तीन जनाले आत्महत्या गर्न बाध्य पारेको बताएका थिए ।

सोही भिडियोका आधारमा प्रहरीले लामिछाने, युवराज कँडेल र अस्मीता भनिने रुकु कार्कीलाई पक्राउ गरेको थियो । प्रहरीले अनुसन्धान सकेर आइतबार नै सरकारी वकिल कार्यालयमा रायसहितको फाइल बुझाएको थियो ।

जिल्ला सरकारी वकिल कार्यालयका प्रवक्ता प्रकाश थापाले फाइल अध्ययन गरेर जिल्ला अदालतमा अभियोगपत्र दायर गरेको बताए । ‘हामीले अभियोगपत्र जिल्ला अदालतमा पेश गरेका छौं,’ उनले भने, ‘अभियोगपत्रमा मुलुकी अपराध संहित २०७४ को १८५ बमोजिम ५ वर्ष कैद र ५० हजार जरिवाना मागदावी गरेका छौं ।’

अभियोग पत्र दर्ता भएपछि अदालतले तीन जनासँग बयान लिन्छ । बयान भइसकेपछि थुनछेक बहस भएर अदालतले थुनामा राख्ने कि छाड्ने भन्ने आदेश दिन्छ ।

प्रकाशित मितिः   ८ भाद्र २०७६, आईतवार १५:३१