चोरीको आरोपमा उपाध्यक्ष थुनामा

सुर्खेत : बुद्धमूर्ति चोरी आरोपमा डोल्पाको एक गाउँपालिकाका उपाध्यक्ष र वडा अध्यक्ष डेढ महिनादेखि थुनामा छन् । जिल्ला अदालतबाट धरौटीमा छुटेका उनीहरू उच्च अदालतको आदेशमा थुनामा परेका हुन् । डोल्पोबुद्ध गाउँपालिकाका उपाध्यक्ष मल्ल टसी गुरुङ र सोही गाउँपालिका–५ का वडाध्यक्ष कार्मा गुरुङ थुनामा परेका छन् ।

करिब ७ वर्षअघि डोल्पाको शे–फोक्सुन्डो गाउँपालिका–४, राहापमा माटोमुनी लुकाएर राखेका बुद्धमूर्ति चोरी भएका थिए । प्रहरीले त्यसको सुइँको एक वर्षअघि कार्तिक १० मा मात्र पाएको थियो । जिल्ला प्रहरी कार्यालय डोल्पाका प्रहरी निरीक्षक शुभराज बमका अनुसार त्यहाँबाट ३७ थान मूर्ति र स्तुपा चोरी भएका थिए । सोही घटनाको अनुसन्धानको क्रममा दुईजना जनप्रतिधि थुनामा परेका उनले बताए ।

नेपाल प्रहरीको केन्द्रीय अनुसन्धान ब्यूरो (सीआईबी) को टोलीले घटना अनुसन्धानको क्रममा कार्तिक १९ मा स्थानीय उर्गेन पासाङ गुरुङ, जाम्पा छुल्डिम गुरुङ र छिरिङ गुरुङलाई काठमाडौंबाट पक्राउ गरेको थियो ।

प्रकाशित मितिः   ८ भाद्र २०७६, आईतवार १२:०४