वीरेन्द्रनगरमा लाखेजात्राको रौनक

सुर्खेत : हरेक वर्षजस्तै यस वर्ष पनि वीरेन्द्रनगरमा लाखे जात्रा मनाइएको छ । वीरेन्द्रनगर नगरपालिका ९ नं. वडाको लाटीकोइलीबाट विगतमा जस्तै यस वर्ष पनि जात्राको सुरुवात गरिएको थियो ।

लाटीकोइलीबाट निकालिएको लाखे र श्रीकृष्णको रथले वीरेन्द्रनगर बजार परिक्रममा गरी स्थानीय लाटीकोइलीको शिव माध्यमिक विद्यालयको प्राङ्गणमा लाखेको बध गरी यसपालीको जात्रा समाप्त भएको हो । श्रावण कृष्ण चतुर्दशीका दिन मनाइने घण्टाकर्ण पर्व अर्थात् गठेमङ्गल पर्वदेखि वीरेन्द्रनगर सुर्खेतमा मनाइने विभिन्न जात्राहरू शनिवार लाखेको बध गरेसँगै सकिएको छ ।

वीरेन्द्रनगर बजारमा श्रीकृष्ण जन्माष्टमीको भोलिपल्ट कृष्णको रथ निकाल्ने परम्परा रहँदै आएको छ । विभिन्न समुदायले श्रीकृष्णको रथ यात्रा निकालेर वीरेन्द्रनगर बजार परिक्रमा गर्ने गरिन्छ । परिक्रमापछि श्रीकृष्णले लाखेको बध गरेसँगै जात्राहरू सकिन्छ ।

यसैबीच वीरेन्द्रनगरमा निकालिएको लाखेजात्राका सहभागीहरूलाई सुर्खेत मोडेल कलेजले खानेपानी वितरण गरेको छ । शनिवार मंगलगढीचौक र हटियाचौकबाट कलेजले जात्रा हेर्ने दर्शकहरूलाई शुद्ध पानी वितरण गरेको हो । सामाजिक कार्य अन्तर्गत पानी वितरण गरिएको कलेजले जनाएको छ ।

प्रकाशित मितिः   ८ भाद्र २०७६, आईतवार १२:०३