काँक्रेविहारले पायो पूर्ण आकार

सुर्खेत : उत्खनन् भएको १८ वर्षपछि सुर्खेतको ऐतिहासिक एवम् पुरातात्विक महत्वको काँक्रेविहारले पूर्ण आकार पाएको छ । शुक्रवार गजुर राखिएसँगै शिखर शैलीको काँक्रेविहारले पूर्णता पाएको हो ।

वि.सं. २०५८ सालमा काँक्रेविहारको भग्नावशेष उत्खनन् गरिएको थियो । उत्खनन्का क्रममा भेटिएका पुरातात्विक वस्तुहरू भने करिब दुई दशकसम्म अलपत्र अवस्थामा रहे । यद्यपि करिब दुई दशकको अवधि खर्चिएर काँक्रेविहार पुनर्निर्माण कार्य पूरा भएको छ । काँक्रेविहारलाई पहिलेकै अवस्थामा शिखर शैलीमा पुनर्निर्माण गरिएको छ । काँक्रेविहार पुननिर्माणमा नौ करोड रूपैयाँ खर्च भएको जनाइएको छ । नौ करोड ६५ लाख ६६ हजार रूपैयाँ खर्चेर सिद्धबाबा कन्स्ट्रक्सन प्रालिले काँक्रेविहार निर्माण गरेको हो । जसको उचाइ एकसय पाँच फिट रहेको छ ।

कर्णाली प्रदेशकै प्रमुखमध्येको एक पर्यटकीय स्थल काँक्रेविहारले पूर्णता पाएसँगै यसको महत्व थप बढेको छ । कर्णालीमा आन्तरिक तथा बाह्य पर्यटक आकर्षित गर्न काँक्रेविहारको भूमिका महत्वपूर्ण हुने अपेक्षा गरिएको छ । कर्णाली प्रदेशका मुख्य न्यायाधिवक्ता विद्याभूषण मानन्धर यसलाई विश्वसम्पदा सूचीमा सूचीकृत गर्न पहल गर्नुपर्ने समेत बताउँछन् । उनले काँक्रेविहार ऐतिहासिक र पुरातात्विक हिसाबले विश्वकै ध्यान तान्ने स्थल भएकाले अब संघीय सरकारले यसलाई विश्व सम्पदा सूचीमा सूचीकृत गर्नका लागि सरकारले पहल गर्नुपर्ने बताए । ‘यो कर्णालीको मात्र होइन सिङ्गो मुलुककै गौरव हो’ उनले भने, ‘अब यसको संरक्षणका साथसाथै संसारभर चिनाउन लाग्नुपर्दछ ।’

वीरेन्द्रनगर नगरपालिकाका प्रमुख देवकुमार सुवेदीको भनाइ पनि मानन्धरको जस्तै छ । उनले काँक्रेविहारको सौन्दर्य र महत्वलाई संरक्षण गर्दै यसलाई एक अध्ययन र दर्शनस्थलको रूपमा विकास गर्न स्थानीय, प्रदेश र संघीय सरकारले काम गर्नुपर्ने बताए ।

नेपालकै पहिलो संरक्षित वनक्षेत्रभित्र रहेको काँक्रेविहार धार्मिक मात्र होइन पर्यटकीय केन्द्रको रूपमा विकास भएको छ । यसलाई ऐतिहासिक पर्यटकीय केन्द्रकै रूपमा स्थापित गर्नुपर्ने भनाइ स्थानीयहरूको छ । काँक्रेविहारबारे लामो अध्ययन समेत गरेका स्थानीय जीवनकुमार शाक्य काँक्रेविहारलाई पर्यटकीय र धार्मिक सहिष्णुताको केन्द्रको रूपमा विकास गर्नुपर्ने बताउँछन् । उनले बौद्ध र हिन्दु धर्मावलम्बीहरूबीचको धार्मिक द्वन्द्व सिर्जना नहुनेगरी काँक्रेविहारलाई ऐतिहासिक र पुरातात्विक महत्को अवलोकन र अध्ययनस्थलकै रूपमा विकास गर्नुपर्नेमा जोड दिए ।

काँक्रेविहार उत्खनन् गर्दा बौद्धका साथै हिन्दु धर्मसँग सम्बन्धित मूर्तिहरू पनि भेटिएपछि यसलाई बौद्धविहार भन्ने वा मन्दिर भन्ने विवाद हुँदै आएको छ । यद्यपि अहिले काँक्रविहार मन्दिरको रूपमा नामाकरण गरेर निर्माण गरिएको छ । यसलाई हिन्दु र बौद्धहरूको धार्मिक सहिष्णुता र मिलनकेन्द्रकै रूपमा राख्नुपर्नेमा धेरैको जोड रहँदै आएको छ ।

अर्कोतर्फ काँक्रेविहारको संरक्षणतर्फ पनि चिन्ता व्यक्त हुँदै आएको छ । त्यहाँ भएका ऐतिहासिक वस्तुहरूको चोरी हुनसक्ने भएकाले यसको सुरक्षा र संरक्षणमा विशेष ध्यान दिनुपर्ने स्थानीय गणेश वली बताउँछन् । काँक्रेविहारको सौन्दर्यतालाई जोगाइ व्यवस्थापन, सुरक्षा लगायतका कुरामा पनि स्थानीय सरकारले सजग हुनुपर्ने उनको भनाइ थियो । काँक्रेविहार पुनर्निर्माणको काम सम्पन्न हुनु खुशीको कुरा भएको बताउँदै अब यसको संरक्षण र प्रचार–प्रसार गरी पर्यटकीय गन्तव्य बनाउनेतर्फ सबै मिलेर लाग्नुपर्ने वलीले बताए ।

वीरेन्द्रनगर नगरपालिका ९ नं. वडा अध्यक्ष सुरेश मानन्धरले अथक मेहेनतले काँक्रेविहार पुनर्निर्माण सम्पन्न भएको भन्दै अब यसको संरक्षणमा वडाले पनि विशेष ध्यान दिने प्रतिबद्धता जनाएका छन् ।