शर्माको उपचारमा आर्थिक सहयोग

सुर्खेत : पत्रकार डिलप्रसाद शर्माको उपचारका लागि विभिन्न व्यक्तिहरूबाट सहयोग संकलन हुने क्रम जारी छ । शर्मा कार्यरत साझा बिसौनी पब्लिकेशन अन्तर्गतको साझा बिसौनी फाउण्डेशनले सञ्चालन गरेको सहयोग संकलन अभियानमा बिहीवार थप आठ हजार पाँच सय २४ रूपैयाँ जम्मा भएको छ ।

अधिवक्ता गणेश वलीको समन्वयमा उक्त रकम संकलन भएको हो । जसमा अधिवक्ता कमल घिसिङले एक हजार पाँच सय पाँच, मिमप्रसाद घिमिरेले एक हजार पाँच र रीता शेर्पाले एक हजार पाँच रुपैयाँ सहयोग गरेका छन् । त्यसैगरी अधिवक्ता वली स्वयम्ले एक हजार पाँच सय, सुजाता श्रेष्ठले एक हजार पाँच, बुद्धि सुवेदीले दुई हजार र संगीता श्रेष्ठले पाँच सय रुपैयाँ प्रदान गरेका छन् । उनीहरूबाट संकलित रकम अधिवक्ता वलीले बिहीवार साझा बिसौनी फाउण्डेशनलाई हस्तान्तरण गरेका हुन् ।

पत्रकार शर्माको बोनम्यारो प्रत्यारोपणका लागि आर्थिक अभाव भए पछि सहयोग संकलन गरिएको हो । शर्मा हाल काठमाडौंस्थित सिभिल अस्पतालमा उपचार गराइरहेका छन् । उनको केही दिनभित्रैमा बोनम्यारो प्रत्यारोपण हुँदैछ ।
उक्त उपचारका लागि करिब २० लाख रूपैयाँ खर्च हुने अस्पतालले जनाएको छ ।

प्रकाशित मितिः   ६ भाद्र २०७६, शुक्रबार १३:५९