सरकारसँग जनता आजित भइसके

सुर्खेत : नेपाली कांग्रेसका वरिष्ठ नेता रामचन्द्र पौडेलले सरकारबाट जनता आजित भइसकेको टिप्पणी गरेका छन् । कांग्रेसको केन्द्रीय नीति, अनुसन्धान तथा प्रशिक्षण प्रतिष्ठानको आयोजनामा बिहीवारदेखि सुर्खेतमा आयोजित कर्णाली प्रदेशस्तरीय महाधिवेशन प्रतिनिधिहरूको प्रशिक्षणमा बोल्दै उनले यस्तो टिप्पणी गरेका हुन् । सरकारको कार्यशैलीप्रति जनता आत्तिसकेको दावी पौडेलले गरे ।

उनले कम्युनिष्टबाट नभइ कांग्रेसबाट देशको हित हुने दावी समेत गरे । तर त्यसका लागि कांग्रेस सुध्रिनुपर्नेमा समेत जोड दिए । जनताले कांग्रेसमाथि भरोसा गर्न लागेपछि कांग्रेस पनि भरोशायोग्य बन्नुपर्ने उनले बताए । कांग्रेसका शीर्षस्थ सबै नेता कार्यकर्ताहरूले विगतको आत्म समीक्षा गर्नुपर्ने सुझाव दिदैं उनले अनि मात्रै कांग्रेस सबैको भरोशायोग्य पार्टी बन्ने दावी गरे ।

यसैगरी कांग्रेस उप–सभापति एवम्् केन्द्रीय नीति, अनुसन्धान तथा प्रशिक्षण प्रतिष्ठानका संयोजक विमलेन्द्र निधिले आगामी निर्वाचनका लागि अहिल्यैबाट कांग्रेस सशक्त हुन प्रदेशस्तरमा प्रशिक्षणको कार्यक्रमको आयोजना गरिएको बताए । उनले सबै कार्यकर्ताहरूलाई प्रशिक्षणबाट फिर्ता भएर आगामी निर्वाचनमा पहिलो पार्टी बनाउने गरी सशक्त रूपमा खटिन निर्देशन दिए ।

कांग्रेस सह–महामन्त्री डा. प्रकाशशरण महतले विगतबाट शिक्षा लिएर आगामी निर्वाचनमा कांग्रेसलाई पहिलो पार्टी बनाउनका लागि क्रियाशील हुन सुझाव दिए । जनताको बीचमा जान नसक्दा पार्टी कमजोर बनेकोले अब पनि त्यो गल्ती दोहो¥याउन नहुने उनले बताए ।

पूर्व महामन्त्री कृष्णप्रसाद सिटौलाले पुरानै कार्यशैली, सोच र संरचनाबाट कांग्रेस चलायमान हुन नसक्ने भएकोले नयाँ सोच, शैली र संरचना आवश्यक रहेको बताए । कांग्रेस सुर्खेतका सभापति कमलराज रेग्मीको सभापतित्वमा भएको उद्घाटन सत्रमा कर्णाली प्रदेशसभामा प्रतिपक्ष दलका नेता एवम् केन्द्रीय सदस्य जीवनबहादुर शाही, केन्द्रीय सदस्य हृदयराम थानी, प्रतिनिधिसभा सदस्य रंगमती शाही लगायतले प्रशिक्षण सफलताको शुभकामना दिएका थिए । प्रशिक्षणमा कर्णाली प्रदेशबाट करिब दुई सय जना कांग्रेसका महाधिवेशन प्रतिनिधिहरूको सहभागिता रहेको कांग्रेस सुर्खेतका सभापति कमलराज रेग्मीले जानकारी दिए । उनका अनुसार भेलाको समापन शुक्रवार कांग्रेस सभापति एवम् पूर्व प्रधानमन्त्री शेरबहादुर देउवाले गर्नेछन् ।

प्रकाशित मितिः   ६ भाद्र २०७६, शुक्रबार १३:५७