गौतम पदमुक्त, भट्टराई नियुक्त

सुर्खेत : सुर्खेत उपत्यका खानेपानी उपभोक्ता संस्थाका कार्यालय प्रमुख डम्मर गौतमलाई पदमुक्त गरी घनश्याम भट्टराईलाई नियुक्त गरिएको छ । संस्थाको सोमवार बसेको कार्यसमिति बैठकले गौतमलाई कार्यालय प्रमुखको पदबाट हटाउने निर्णय गरेको थियो । उक्त निर्णयसँगै भट्टराईलाई कार्यालय प्रमुख बनाइएको हो ।

गौतमको कार्यसम्पादन प्रभावकारी नभएको भन्दै संस्थाले उनलाई पदमुक्त गरेको हो । संस्थाका अध्यक्ष कुलमणि देवकोटाले गौतमको कार्यसम्पादन राम्रो नभएकाले स्पष्टीकरण सोधिएको र चित्त बुझ्दो जवाफ नआएपछि कार्यसमितिले निर्णय गरेर जिम्मेवारीबाट हटाएको जानकारी दिए । उनले गौतमलाई हटाउने निर्णय आफ्नो व्यक्तिगत नभइ संस्थाको र सिङ्गो कार्यसमितिको भएको बताए ।

यसैबीच कार्यालय प्रमुख परिवर्तन गर्ने निर्णयप्रति संस्थाका कोषाध्यक्ष रामबहादुर गौतमले भने असहमति जनाएका छन् । उनले बुधवार पत्रकार सम्मेलन गर्दै बहुमतका आधारमा गौतमलाई हटाएर भट्टराईलाई प्रमुख बनाउने निर्णय आफूलाई मान्य नहुने बताएका छन् । बहुमतको दम्भ र बदनियतपूर्ण तरिकाले कार्यालय प्रमुख डम्मर गौतमलाई पदमुक्त गरिएको उनको आरोप छ ।