बजेट कार्यान्वयनमा जोड
कर्णाली प्रदेशका मुख्यमन्त्री महेन्द्रबहादुर शाहीले बजेट कार्यान्वयनमा लाग्न कर्मचारीहरूलाई निर्देशन दिएका छन् । भौतिक पूर्वाधार विकास मन्त्रालयको जिम्मेवारी लिए पश्चात पहिलो पटक बुधवार मन्त्रालय पुगेका उनले कर्मचारीहरूलाई अबको तीन महिना भित्रै निर्माण कार्य थालनी गर्ने गरी योजना कार्यान्वयन प्रक्रिया अगाडि बढाउन निर्देशन दिएका हुन् ।
भौतिक पूर्वाधार विकास प्रदेश सरकारको पहिलो प्राथमिकतामा रहेकाले सोही अनुसार अघि बढ्न मन्त्रालयका कर्मचारीहरूलाई उनले निर्देशन दिएका हुन् । पूर्वाधार निर्माणमै बजेट धेरै छुट्याइएको भन्दै उनले तत्कालै बजेट कार्यान्वयनको तयारी सुरु गर्न निर्देशन दिए । मुख्यमन्त्री शाहीले योजना निर्माण तथा बजेट विनियोजनको कार्य सम्पन्न भएको महिनौं बितिसक्दा पनि मन्त्रालयले कार्यान्वयनको प्रक्रिया शुरु नभएकोप्रति आफ्नो ध्यानाकर्षण भएको बताए । साथै उनले भौतिक पूर्वाधार विकास मन्त्रालयको गतवर्षको प्रगति निराशाजनक रहेको बताए ।
नक्कली बैंक ग्यारेण्टी पत्र जारी गरेको अभियोगमा अदालतले पक्राउ गर्न आदेश दिएपछि मुख्यमन्त्री शाहीले भौतिक पूर्वाधार विकासमन्त्री खड्कबहादुर खत्रीलाई पदमुक्त गरी उक्त मन्त्रालयको जिम्मेवारी आफैले सम्हालेका थिए । अर्को व्यवस्था नहुँदासम्म मुख्यमन्त्री शाहीले नै भौतिक पूर्वाधार मन्त्रालय सम्हाल्नेछन् ।
प्रकाशित मितिः ५ भाद्र २०७६, बिहीबार ११:४२
साझा बिसौनी ।