शिल गरिएको पानीको बोतलमा फट्याङ्ग्रा

शिल गरिएको पानीको बोतलभित्र फट्याङ्ग्रा भेटिएको छ । मध्यपश्चिम वाटर एण्ड बेभरेज इण्डष्ट्रिज प्रालिद्वारा उत्पादित ‘एक्वांस’ पानीको बोतलमा फट्याङ्ग्रा भेटिएको हो ।

वीरेन्द्रनगर–३ सुर्खेतका धनबहादुर खड्काले पानी पिउनका लागि स्थानीय पसलबाट एक्वांसको पानीको बोतल किनेका थिए । प्रशोधित भनेर बेच्न राखिएको उक्त पानीको बोतलभित्र फट्याङ्ग्रा भेटिएको थियो । शिल गरिएको बोतलमा किरा भेटिएपछि खाद्य प्रविधि तथा गुण नियन्त्रण इकाई कार्यालय सुर्खेतले त्यसलाई ल्याब परीक्षणका लागि नेपालगन्ज पठाएको छ ।

ल्याब रिपोर्ट आएपछि मात्रै थप कारवाही अघि बढ्ने कार्यालयका प्रमुख भेषबहादुर थापाले जानकारी दिए । ‘फट्याङ्ग्रा भेटिएको पानीको बोतललाई हामीले परीक्षणका लागि ल्याबमा पठाएका छौं’  उनले भने, ‘उक्त बोतलसँगै उत्पादन भएका अन्य बोतलको पनि परीक्षण गर्छौं । बजारमा पठाइसकिएका ती बोतलहरूलाई फिर्ता गर्नका लागि कम्पनीलाई निर्देशन दिन्छौं ।’

नेपालगन्जबाट ल्याब रिपोर्ट आएपछि प्रशोधित पानीको गुणस्तर न्यून भएको पाइएमा कानुनी प्रक्रिया अगाडि बढाउने उनले बताए । यसैबीच कार्यालयले बुधवार उक्त पानी उत्पादक कम्पनीको निरीक्षण समेत गरेको छ । निरीक्षणका क्रममा शुद्ध र गुणस्तरीय पानी उत्पादनका लागि ध्यान दिन सुझाव दिइएको कार्यालयका प्रमुख थापाले बताए ।

प्रकाशित मितिः   ५ भाद्र २०७६, बिहीबार ११:४०