भ्रष्टाचार आरोपमा पाँच जनालाई मुद्दा


सुर्खेतस्थित सिम्ता गाउँपालिकाका सिभिल सव–इन्जिनियर शिवशंकर पोख्रेलसहित पाँच जनाविरुद्ध विशेष अदालतमा मुद्दा दायर भएकोे छ । अख्तियार दुरूपयोग अनुसन्धान आयोगले इन्जिनियर नविन शर्मा, देउली–सिर्पा–काफलकोट हुँदै जितेजुवा जोड्ने सडक उपभोक्ता समितिका अध्यक्ष भुवानसिंह ठकुरी, कोषाध्यक्ष टीका वली र सचिव नन्दसिंह ठकुरीविरुद्ध मुद्दा दायर गरेको हो ।

अख्तियारका अनुसार उनीहरूले सडक निर्माणमा बदनियतपूर्वक ट्रयाक ओपनिङ्गमा नभएको कामको परिमाण देखाएका छन् । साथै बढी मूल्य पर्ने वस्तुमा बढी परिमाण देखाई कार्य सम्पन्न प्रतिवेदन तयार गरी पेश गरेको पुष्टि हुन आएको जनाइएको छ ।

चार लाख ५६ हजार बढी भुक्तानी दिइ भ्रष्टाचार गरेका अख्तियारको आरोप–पत्रमा उल्लेख छ । विगो बमोजिम असुल उपर गरी भ्रष्टाचार निवारण ऐन बमोजिम सजायको मागदाबीसहित मुद्दा दायर गरिएको छ । उनीहरूले सडक निर्माणको लगत इष्टिमेट र सम्झौता बमोजिम एक हजार एक सय ६० मिटरको नयाँ ट्रयाक खोल्नुपर्नेमा उक्त कार्य नगरी नै झुठ्ठा विवरण बनाएको अख्तियारको प्रतिवदेनमा उल्लेख गरिएको छ । नयाँ ट्रयाक खोलेको भनी झुठ्ठा नापी किताब एवम् कार्य सम्पन्न प्रतिवेदन बनाएका थिए ।

प्रकाशित मितिः   ४ भाद्र २०७६, बुधबार १२:११