कर्णालीको कहर काट्ने करिडोर
उब्जाउ हुने जमिन छैन । दुई छाक टार्नै मुस्किल पर्छ । बाहिरबाट खाद्यन्न नल्याए भोकै परिन्छ । वर्षेनी भोकमरी पर्छ । पिठ्यूँमा भारी बोकेर उकाली–ओराली गर्नुपर्ने । यस्तै दुःखका अनेक खुड्किला चढेरै कालिकोटको सान्नीत्रिवेणीका बसन्त विकले आफ्नो जीवनका ५९औं बसन्त पार गरिसके । तर अब भने त्यस्तो कहरबाट मुक्ति पाइने आशामा ढुक्क छन् उनी ।
कर्णाली करिडोरको खुलालुदेखि बाजुरा धुलाचौरसम्म ८० किलोमिटर सडकखण्डमा सवारीसाधन चल्न थालेका छन् यतिबेला बसन्त हर्षित छन् । विगतमा पिठ्यूँमा भारी बोकेर नुनतेल गर्नेहरू अहिले गाडीमा गुड्न पाएका छन् । ‘हामीले पिठ्यूँमा आफूभन्दा ठूला भारी बोकेर पसिना चुहाउँदै हिँडेको बाटोमा अब गाडी गुड्ने भए’ उनले भने, ‘सडक आयो हाम्रो आधा कहर काटियो ।’ करिडोर बनेसँगै आफ्नो दुःखका दिन गएको उनी बताउँछन् ।
उक्त करिडोरमा यातायातका साधन चल्न थालेपछि कालिकोटका सान्नीत्रिवेणी गाउँपालिका, पचालझरना गाउँपालिका, पलाँता गाउँपालिका र रास्कोट नगरपालिकाका ६० हजारभन्दा बढी जनसंख्या लाभान्वित भएका छन् भने बाजुराका करिब ४० हजार जनसंख्या करिडोरको प्रत्यक्ष उपभोगमा छन् । नेपाली सेनाले सडकको निर्माण कार्यलाई तीव्रता दिएपछि खुलालु, लालीघाट, रेगिल, शान्तिघाट, भुराबगर, भात्तडी, घाटपारीचौर, जितेगडा, जारकोट, आम्तडा बाजुरोको कोल्टी पिलिचौर, हिमाली गाउँपालिकाको धुलाचौर लगायतका क्षेत्र अहिले बजारका रूपमा विकसित भएका छन् ।
कर्णाली करिडोरमा अहिले धमाधम साना तथा ठूला सवारीका साधन गुड्न थालेका छन् । जसले यहाँको जीवनस्तरमा समेत प्रभाव पारेको छ । करिडोरको निर्माण र यातायातका साधन चल्न थालेपछि स्थानीयहरूले यातायातका साधन जीप र ट्रक किनेर व्यावसायिक रूपमा राम्रो आम्दानी लिन थालेको रारा कर्णाली यातायात प्रालिका अध्यक्ष हस्तबहादुर बलामीले बताए । ‘करिडोरमा यातायातका साधन चल्न थालेपछि स्थानीयहरूले पनि सवारीसाधन किनेर व्यावसायिक रूपमा राम्रो आम्दानी लिएका छन्’ उनले भने, ‘करिडोरको निर्माणले मानिसलाई व्यावसायिक बन्न पनि सिकाएको छ । आम्दानी लिन पनि सिकाएको छ ।’
कर्णाली करिडोर अहिले त्रिदेशीय नाका पनि हो । चीन र भारतको त्रिदेशीय व्यापारिक केन्द्रका रूपमा लिइएको कर्णाली करिडोरमा कर्णालीका मानिसका लागि लाइफलाइन नै भएकाले निर्माण कार्य सुरु भएपछि करिडोर क्षेत्रमा बसोबास र आर्थिक चहलपहल बढेको कालिकोट थिर्पुका स्थानीय खेमराज रोकायाले बताए । ‘करिडोर त्रिदेशीय व्यापारिक केन्द्र बन्नेमा धेरैको आशा छ । कर्णालीका मानिसका लागि लाइफलाइन हो’ उनले भने, ‘त्यसले गर्दा अहिले भन्दा आर्थिक चहलपहल आउँदा दिनमा बढी हुनेछ ।’
करिब ११ वर्ष अगाडिदेखि सडक विभागले काम थालेको कर्णाली करिडोरमा ठेकेदारमार्फत् करिब २३ करोड बजेट खर्च गरे पनि अपेक्षित रूपमा काम भएको थिएन । कामले तीव्रता नपाउँदा स्थानीयवासीले आन्दोलन गरी २०७१ साल चैत ५ गते नेपाल सरकारको मन्त्रीस्तरीय निर्णयबाट नेपाली सेनाले २०७२ चैत ९ गतेबाट निर्माण कार्यको सुरुवात गरेको थियो । नेपाली सेनाले जिम्मा लिएपछि निर्माण कार्यले तीव्रता पाएको सान्नी त्रिवेणी गाउँपालिका अध्यक्ष डम्बरबहादुर शाहीले बताए । लालीघाटदेखि बाजुराको अर्थिङ्गे चौरसम्मको ६८.५ किमि सडकको ट्रयाक खुला हुने भएको छ । कर्णाली करिडोरको कालिकोट खण्ड ४० र बाजुरा सडकखण्डको ४३ किमि ट्रयाक खोलेर सडक विभागलाई हस्तान्तरण गर्ने तयारी भएको नेपाली सेनाका कर्णाली करिडोर निर्माण कार्यदलका प्रमुख मिलन कार्कीले बताए । ‘कर्णाली करिडोर कालिकोट खण्ड ४० किमि, बाजुरा खण्ड ४३ किमि र हुम्ला खण्ड ११३.३४७ किमि गरी १९६.३४७ किमि रहेको छ’ उनले भने, ‘योमध्ये कालिकोट र बाजुरा सडक खण्डको निर्माणकार्य यसै वर्ष पूरा भई सञ्चालनमा ल्याएका छौँ ।’ वि.सं. २०५७ सालमा कालिकोट करिडोरको शिलान्यास गरिएको थियो । शिलान्यास भएको १५ वर्षपछि सेनाले उक्त सडक निर्माणको जिम्मा पाएको हो ।
प्रकाशित मितिः ४ भाद्र २०७६, बुधबार १२:०८
साझा बिसौनी ।