फोटोग्राफर समितिद्वारा शर्माका लागि सहयोग

कर्णाली प्रदेश फोटोग्राफर समिति र सुर्खेत जिल्ला फोटोग्राफर समितिले पत्रकार डिलप्रसाद शर्माको उपचारका लागि आर्थिक सहयोग गरेका छन् । १८०औं विश्व फोटोग्राफी दिवसको अवसर पारेर सोमवार नगद दश हजार एक सय ५५ रूपैयाँ सहयोग प्रदान गरेका हुन् ।

समितिका पदाधिकारीहरूले साझा बिसौनी पब्लिकेशनका अध्यक्ष गोपी अधिकारीलाई उक्त रकम हस्तान्तरण गरेका छन् । मानवीय सेवा र सामाजिक उत्तरदायित्वको बोध गर्दै बोनम्यारो प्रत्यारोपणका क्रममा रहेका पत्रकार शर्माका लागि आर्थिक सहयोग गरिएको समितिका जिल्ला अध्यक्ष तथा कर्णाली प्रदेश संयोजक विष्णुप्रसाद भुषालले जनाए ।

यस्तै नेपाल फोटोग्राफर महासंघका केन्द्रीय सल्लाहकार बसन्तकुमार थापाले पत्रकार शर्माका लागि सहयोग प्रदान गरेर समितिले अनुकरणीय कार्य गरेको बताए । पब्लिकेशनका अध्यक्ष गोपी अधिकारीले साझा बिसौनीका संवाददाता शर्माको उपचारका लागि आर्थिक सहयोग गरेको भन्दै संघलाई धन्यवाद ज्ञापन गरे । उनले बोनम्यारो प्रत्यारोपणका लागि आर्थिक अभाव भएपछि सहयोग संकलन भइरहेको बताए ।