कर्णालीमा आत्महत्याको डरलाग्दो तथ्यांक

सुर्खेत : कर्णाली प्रदेशमा आत्महत्याको अवस्था निकै भयावह रहेको पाइएको छ । पछिल्लो चार वर्षमा कर्णालीमा भएका आत्महत्याको तथ्यांक हेर्दा डरलाग्दो छ । कर्णाली प्रदेश प्रहरी कार्यालय सुर्खेतको चार वर्षको तथ्याकमा सबैभन्दा बढी आत्माहत्या घटना भएका छन् ।

आर्थिक वर्ष २०७२ सालदेखि २०७६ सालसम्म आइपुग्दा कर्णाली प्रदेशका १० जिल्लाहरूमा आठ सय ३४ जनाले आत्महत्या गरेका छन् । जसमध्ये झुण्डिएर ६ सय १५ जनाले आत्महत्या गरेका छन् भने विष सेवन गरेर दुई सय जनाले आत्महत्या गरेका छन् । त्यस्तै हामफालेरे १६ जनाले र औजारको प्रयोगबाट तीन जनाले आत्महत्या गरेको कर्णाली प्रदेश प्रहरी कार्यालयले जानकारी दिएको छ ।

आत्महत्याको जिल्लागत तथ्यांक हेर्दा सबैभन्दा बढी सुर्खेत जिल्लामा नै आत्महत्याका घटना बढी भएको पाइन्छ । योे चार वर्षमा सुर्खेत जिल्लामा मात्रै दुई सय ८४ जनाले आत्महत्या गरेको तथ्यांक प्रहरीसँग छ । जसमध्ये झुण्डिएर दुई सय १३, विष सेवन गरेर ६९ र हामफालेर दुई जनाले आत्माहत्या गरेका छन् ।

त्यसैगरी सल्यानमा एक सय ९५ जनाले आत्महत्या गरेका छन् भने दैलेखमा एक सय ३७ जनाले आत्माहत्या गरेका छन् । रुकुममा ८३, जाजरकोटमा ४२, जुम्लामा ३७, हुम्लामा आठ, डोल्पामा चार, मुगुमा नौ र कालिकोटमा ३१ जनाले चारवर्षको अवधिमा आत्महत्या गरेका छन् ।

प्रहरीका अनुसार आत्महत्या गर्नेहरूमा युवाहरू बढी छन् । १६ देखि ३० वर्ष उमेर समूहका ३७ प्रतिशत रहेको प्रहरीले जनाएको छ । त्यसपछि ३१ देखि ४१ वर्ष उमेर समूहका २६ प्रतिशत छन् भने अरु त्यसभन्दा माथिका । युवाहरूमा पनि आत्महत्या गर्नेमा पुरुषहरूको संख्या धेरै रहेको छ । प्रहरीका अनुसार कर्णालीमा हालसम्म आत्महत्या गर्नेहरूमा पुरुषको संख्या धेरै छ भने त्यसमा पनि विवाहितहरू अधिक छन् । यसैगरी दलित समुदायका, कृषिमा आवद्ध र ग्रामीण क्षेत्रका धेरै नागरिकले आत्महत्या गर्ने गरेको पाइएको छ ।

आत्महत्याको खास कारण एकीन नभए पनि अध्ययन अनुसार मानसिक तनाव झेल्न नसकेर युवा पुस्ताले आत्महत्या गर्ने गरेको पाइन्छ । बदलिँदो जीवनशैली, बेरोजगारी, गरिबी, अपरिपक्व सोच, पारिवारिक कलह, असफलता, घरेलु हिंसा लगायतका कारण आत्महत्याका घटना बढी हुने गरेको भेटिएको कर्णाली प्रहरी प्रहरी कार्यालयका प्रमुख डीआईजी पूर्णचन्द्र जोशी बताउँछन् । जोशीले पारिवारिक कारणले आत्माहत्याको दर कर्णालीमा बढेको बताए । ‘कर्णालीमा गरिबी, भोकमरी र अशिक्षाको गम्भीर अवस्था छ’ उनले भने ‘जसका कारण आत्महत्या गर्ने संख्या पनी बढेको छ । साथै उनले मदिरा र वैदेशिक रोजगारलेसमेत यसलाई बढवा दिएको बताए ।

कर्णालीमा हालसम्म भएका आत्महत्याका घटनाहरूबारे अध्ययन गर्दा सम्बन्धविच्छेद, मदिरा, पारिवारिक विग्रह÷कलह, परीक्षामा असफलता, मानसिक रोग, आन्तरिक द्वन्द्व, घरेलु तथा लैङ्गिक हिंसा, मादक पदार्थको सेवन, तनावपूर्ण तथा थकित जीवन मुख्य कारण भएको प्रहरी नायव महानिरीक्षक जोशीले बताए । यस्ता खालका घटनालाई न्यूनीकरण गर्नको लागि योजनाबद्ध रूपमा काम गर्नुपर्ने उनको भनाइ छ । ‘प्रहरीले मात्रै सबै काम गर्न सक्दैन’ उनले थपे ‘आफ्नो क्षेत्रबाट प्रहरीले समेत काम गर्छ, तर आम कर्णालीबासीहरू सबै एकैपटक उठ्नुपर्छ । तबमात्रै आत्माहत्याका घटना न्यूनीकरण हुन्छन् ।’ शिक्षामा लगानी, जनचेतनाका कार्यक्रममा समेत ध्यान दिन जरुरी भएको जोशीको भनाइ छ ।

प्रकाशित मितिः   २ भाद्र २०७६, सोमबार ११:२१