महिना दिन टिकेन जेब्राक्रस

गत असारमा वीरेन्द्रनगर नगरपालिकाको आर्थिक सहयोगमा वीरेन्द्रनगरको मुख्य बजार लगायतका सडकमा जेब्राक्रसिङ्ग निर्माण गरियो । चार लाख बढी खर्चेर बनाइएका जेब्राक्रस भने एक महिना पनि टिकेनन् । अहिले वीरेन्द्रनगरका सडकमा जेब्राक्रसको नामोनिशाना भेटिदैन ।
वर्षात्को समयमा हतार–हतार निर्माण गरिएका जेब्राक्रस गुणस्तरीय नहुँदा महिना दिन पनि टिक्न नसकेका हुन् । वीरेन्द्रनगरमा बनाइएका आधा दर्जन बढी अहिले जेब्राक्रस सबै मेटिइसकेका छन् ।

जिल्ला ट्राफिक प्रहरी कार्यालयको समन्वयमा नगरपालिकाले जेब्राक्रस निर्माण गर्नुका साथै एक सय बढी जनचेतनामूलक होर्डिङ्गबोर्ड समेत राखेको थियो । उक्त कार्यका लागि नगरपालिकाले चार लाख २५ हजार रूपैयाँ खर्च गरेको छ । तर लाखौ रकम खर्चिए पनि गुणस्तरीय काम नहुँदा उक्त रकम बालुवामा पानी खन्याए जस्तै भएको स्थायीवासीहरू बताउँछन् ।

सडकमा कोरिएको जेब्राक्रस महिना दिन नबित्दै मेटिएपछि कामको गुणस्तर माथी नै प्रश्न चिन्ह खडा भएको छ । यस विषयमा जिल्ला ट्राफिक प्रहरी कार्यालय सुर्खेतका प्रमुख प्रहरी निरीक्षक हरिबहादुर बिसीले पनि गुणस्तरीय काम नभएको कारण जेब्राक्रसिङ्गहरू लामो समयसम्म टिक्न नसकेको बताए । साथै उनले प्रविधिका अभावले गुणस्तरीय काम नभएको जिकिर गरे । ‘सडकमा जेब्राक्रसिङ्गहरू पेन्टिङ्ग गर्नको लागि हामीहरूसँग मेसिन छैन’ उनले भने, ‘हातले पेन्टिङ्ग गरेको जेब्राक्रसिङ्गको गुणस्तर राम्रो हुँदैन ।’

नियम पालनामा हेलचेक्र्याइ
उसो त जेब्राक्रस निर्माण भए पनि कार्यान्वयन हुन सकेको थिएन । पैदलयात्रुहरू जेब्राक्रसभन्दा अन्यत्रैबाट सडक वारपार गरिरहेका हुन्थे । कर्णाली प्रदेशको राजधानी भइसक्दासम्म पनि वीरेन्द्रनगरमा ट्राफिक नियम पालनामा हेलचेक्र्याइ हुने गरेको छ । जसको एक उदाहरण हो, यो ।

नियम कार्यान्वयनमा कतिसम्म वेवास्ता हुने गरेको छ भने सवारी साधन पार्किङ्ग गर्न निशेष गरिएकै ठाउँमा सवारी साधनहरू राखिएका देख्न सकिन्छ । यात्रु र सवारी चालकहरूले नियम पालनामा हेलचेक्र्याइ गरिरहँदा सम्बन्धित निकायले समेत त्यसको पालना गराउन गम्भीरतापूर्वक काम गरेको देखिदैंन । नगरपालिकासँगको समन्व्यमा जेब्राक्रस बनाएको ट्राफिक प्रहरीले त्यसको पालना गराउन भने कुनै पहल गरेन । न त यात्रुहरूले आफ्नो सुरक्षाका लागि जेब्राक्रसबाट बाटो काट्नुपर्ने नियमको पालना गरे ।

ट्राफिक भन्छ, ‘काम गरिरहेका छौं’
सर्वसाधारणबाटै ट्राफिक व्यवस्थापन प्रभावकारी हुन नसकेको गुनासो आइरहँदा यता ट्राफिक प्रहरीले भने आफूहरूले काम गरिरहेको बताउँदै आएको छ । आवश्यक जनशक्तिको कमी भए पनि जिल्ला ट्राफिक प्रहरी कार्यालय सुर्खेतले ट्राफिक व्यवस्थापनको काम गर्दै आएको कार्यालय प्रमुख बिसीले बताए ।

उनले कार्यालयबाट ट्राफिक व्यवस्थापनका लागि नियम तोड्नेलाई कारबाही गर्नेदेखि जनचेतना जगाउनेसम्मका काम भइरहेको बताए । पहिलो चरणमा ट्राफिक नियम तोड्नेलाई सम्झाउने र दोस्रो पटकबाट कारबाही सुरु गरिएको उनले जनाए । केही हदसम्म ट्राफिक नियमको पालना नगर्नुमा चेतनाको कमी भए पनि अधिकांश अटेर गर्ने प्रवृत्ति रहेको बिसीले बताए ।

वीरेन्द्रनगर नगरपालिकाले भने व्यवस्थित नगर बनाउने दाबी गर्दै आएको छ । नगरपालिकाकी उप–प्रमुख मोहनमाया ढकालले वीरेन्द्रनगर नगरपालिकालाई व्यवस्थित सहर बनाउनको लागि छलफल चलिरहेको बताइन् । ‘बजार क्षेत्रको सडक साँघुरो छ’ उनले भनिन्, ‘हामीहरूले पैदलयात्रीलाई फुटफाथमा हिडाउने र सवारी साधनहरू समेत छुट्टै पार्किङ्ग गर्ने व्यवस्था गर्ने तयारी गरेका छौं ।’ आगामी वर्षको बजेटमा समेत केही रकमको व्यवस्था गरेको ढकालले बताइन् ।

कारबाहीसँगै राजश्वमा वृद्धि
ट्राफिक नियम उल्लंघन गर्नेहरूलाई कारबाही गर्दा राजश्व भने वृद्धि भएको छ । यो आर्थिक वर्षमा मात्रै जिल्ला ट्राफिक प्रहरी कार्यालय सुर्खेतले २७ हजार ९३ सवारी साधनलाई कारबाही गरेको छ ।

कार्यालयका अनुसार यसअघि आर्थिक वर्ष २०७४/०७५ मा १४ हजार नौ सय ९४ र आ. व २०७३/०७४ मा १५ हजार नौ सय ८५ सवारी साधन कारबाहीमा परेका थिए । त्यस्तै जिल्ला ट्राफिक प्रहरी कार्यालय सुर्खेतको तथ्यांक अनुसार गतवर्ष ३५ जनाको सवारी दुर्घटनाको कारण मृत्यु भएको थियो भने यो वर्ष २९ जनाको मृत्यु भएको छ ।

आर्थिक वर्ष २०७५/०७६ मा कार्यालयले राजश्व मात्रै एक करोड ६४ लाख ५८ हजार पाँच सय रूपैयाँ अशुल गरेको जानकारी दिएको छ । अघिल्लो आर्थिक वर्ष २०७४/०७५ मा भने ८७ लाख ८९ हजार राजश्व संकलन भएको थियो ।

प्रकाशित मितिः   ३० श्रावण २०७६, बिहीबार १४:०४