मालिकाको महिमा

मदनप्रसाद शर्मा

चिङ्गाड गाउँपालिकाको वडा नं. ४ स्थित बुरुसे झरनाको ठीक उत्तरतर्फ रहेको मालिका सुर्खेतको सबैभन्दा अग्लो चुचुरो हो । यो चुचरोमा सदियौंदेखि काठ र ढुङ्गाबाट निर्माण गरिएको मन्दिर छ । जुन मालिका बज्यैको नामले प्रसिद्ध छ ।

मालिका बज्यैको मन्दिर धार्मिक र ऐतिहासिक रुपले उत्तिकै परिचित छ । यो चुचुरोको फेद कोप्ची भन्ने स्थानसम्म सडक र सो भन्दा माथि करिब एक घण्टा पैदल यात्रा गरेर पाँच सय ८३ वटा सिँढी पारे गरेपछि मामिलकाको लेकमा पुग्न सकिन्छ । यसलाई अझ विस्तार गर्न सके आन्तरिक तथा बाह्य पर्यटक त्यहाँ पुग्ने र यसको पहिचान राष्ट्रिय तथा अन्तर्राष्ट्रियस्तरसम्म हुने अपेक्षा गर्न सकिन्छ, यसले गाउँपालिकाकै समृद्धिमा टेवा पुग्ने सम्भावना पनि देखिन्छ । वर्षायाममा अत्यन्त सुन्दर हरियाली देखिने यो चुचरोमा हिउँदमा हिउँ पर्दा सेताम्य देखिने रमाईलो दृष्य यसको अर्को आकर्षक पक्ष पनि हो । चुचुरोको उत्तर–पूर्वमा मुहान भइ उत्तरतर्फ बग्ने उत्तरगंगा नदीको पानी करिब एक घण्टाको दूरीमा तल बुरुसे झरना बनेर बगेको छ ।

धेरै वर्ष पहिलेको कुरा हो, यही झरनाको तलबाट मान्छेहरु मालिकातर्फ गइरहेका थिए । नजिकैको ओडारमा बसेकी एक जना साह्रै बृद्ध आमाले ती मानिसहरुसँग आफूलाई पनि माथि मालिकासम्म लगिदिन आग्रह गरिन् । तर प्रायः कसैले पनि उनलाई लगि दिएनन् । त्यस मध्येको एक जनाले उन वृद्धाको कुरा सुने । बृद्ध आमाले भनेको वचन खेर नफाली उनको चित्त नदुखाउने सोचले ती बृद्ध आमालाई आफ्नो पिठ्युँमा बोकेर ती आमाले भनेकै स्थान मालिका लेखमा पु¥याइदिएछ ।

लेकमा बाक्लो जंगल र बस्नको लागि उपयुक्त ठाउँ नभएकोले आमाले गोठालोलाई भनिन्, ‘बाबु यहाँसम्म त ल्यायौ अब मलाई बस्नको लागि थोरै ठाउँ बनाइदेउ न ।’ उसले त्यो पनि गरिदिएछ । बस्नको लागि थोरै ठाउँ बनाइ फर्कने बेलामा बृद्ध आमाले सोधिछिन, ‘बाबु तिमीलाई के चाहियो भन म तिम्रो मनोकामना पूरा गर्छु ।’ सुरुमा गोठालोलाई विश्वास लागेन । लगत्तै बृद्ध आमाले उसलाई भनिन्, ‘बाबु म तिमीलाई दाम्लो र यो काठको किलोे दिन्छु यो काँधमा राखेर पछि नफर्की जाउँ एकै चोटी तिम्रो गोठ नजिक पुगेर पछि हेर्नु ।’ त्यति भनेर ती आमा छिनभरमै बिलिन भइन् । गोठालो आश्चर्य मान्दै फर्कियो अनी बाटोमा मनमा अनेकन कुरा खेलाउन थाल्यो, के यो साँच्चिकै होला र ? अब म पुनः पशु चौपाय पालेर आफ्नो दैनिकीमा फर्कन सक्छु, होला ? के ती आमैले मेरा लागि केही दिन सक्लिन र ? यस्तै कुरा खेलाउँदा खेलाउँदै ऊ आफ्नो गोठ नजिक आइपुग्दा ती बृद्ध आमालई सम्झेछ र पछाडि फर्केर हेर्दा भैंसीको लावा लस्कर देखेपछि गोठालो अत्यन्तै खुशी भइ मनमनै सोच्न थाल्यो मैले बोकेर माथि लेकमा पु¥याएकी ती बृद्ध आमा कोही सामान्य महिला नभइ अलौकिक शक्ति भएकी माता हुन जस्तो अनुभूत गर्न लाग्यो । तत्तपश्चात गोठालो मालिका लेकमा पुगि ती बृद्ध आमा बसेकै ठाउँमा मालिका बज्यैको मन्दिर स्थापना गरी हरेक वर्ष श्रावन शुक्लपक्षको पूर्णिमाका दिन अर्थात् ऋषि तर्पणी (रक्षा बन्धन) मा मालिका बज्यैको पूजा आरधना गर्न थाल्यो ।

विस्तारै–विस्तारै यो घटना वरिपरि बस्ती बसेका गाउँलेहरुले थाहा पाए । गोठालोले घटनाको सम्पूर्ण वृतान्त गाउँलेहरुलाई बताइसकेपछि सबैले सोही स्थानमा हरेक वर्ष श्रावन शुक्लपक्षको पूर्णिमाका दिन अर्थात् ऋषि तर्पणी (रक्षा बन्धन) मा मालिका बज्यैको धुमधाम पूजा गर्ने प्रचलन रही आएको छ । साथै सोही दिन मालिकामा मेला पनि लाग्ने गर्दछ । विशेष गरी कृषि, पशु चौपाय, खेतीपाती, शिक्षा, स्वास्थ्य सम्बन्धी समस्या भएका मानिसहरुले आफ्नो मनोकामना पूरा होस् भनि आफूले चाहेको फूल, प्रसाद, अक्षता धजा चढाउने (बली बाहेक) चढाएमा मनोकांक्षा पूरा हुने किम्बदन्ती पनि रही आएको छ ।

ऋषि पूर्णिमाको अघिल्लो दिन पूर्णिमा व्रत बसेका भक्तजनहरु चर्तुदशी तिथीका दिन आएर वर्ष भरिका आफ्ना सबै दुःख टाढा होउन, एक वर्षसम्म कुनै कष्ट भोग्न नपरोस् भन्दै भजन कृतन गरी बत्ती बाली मनले चाहेको पूरा होस् भनि आशिष माग्दै जागराम बस्ने गर्दछन् । मन्दिरमा चर्तुदशी तिथीका दिन बत्ती बाल्नको लागि दैलेख जिल्लाको कट्टी, बाँसे, मनघर, पग्नाथ जाजरकोट जिल्लाको थालारैकर, सीमा, जुँगाथापचौर, साल्मा र सुर्खेतको मटेला, रानीबास, अवल्चिङ्ग, पाम्का र रजेनाबाट भक्तजनहरुको ओइरो लाग्ने गर्दछ, भने अर्कोतिर बृद्धबृद्धाहरु मालिका बज्यैका भक्ति भजन गाएर रात बिताउने गर्दछन् । युवायुवतीहरु पनि लोकदोहोरी भाकामा नाच्ने रमाउने गर्दछन् । यो दिन गाउँदा–गाउँदै नाच्दा नाच्दै कतिपय युवायुवती एक आपसमा वैवाहिक सम्बन्धमा गासिन पुग्दछन्, यो दिन गासिएको सम्बन्ध प्रगाढ हुने विश्वास पनि छ ।

जब बिहानीमा सूर्यले लाली छाउँछ, त्यसपछि वैदिक सनातन हिन्दु धर्म संस्कृतिमा आस्था राख्ने भक्तजनहरुले वैदिक मन्त्र उच्चारण गरी आफूले बालेका बत्तीहरु नजिकैको जलासयमा गइ सेलाउँछन् अनि स्नान गरेर ब्राहमणद्वारा अभिमन्त्रित जनै परिवर्तन गरेर मात्र ध्यान जप गर्ने गर्दछन् । यस दिन सप्तऋषीहरुको पूजा गरी वैदिक मन्त्रद्वारा अभिमन्त्रित रक्षाबन्दन पनि बाध्ने गर्दछन् । उक्त दिन मन्दिरका पूजारी अर्थात् ब्राहमनले ‘येन बद्दो बली राजा दानबेन्द्रो महाबलः, तेन त्वां प्रतिबन्ध्नामी रक्षेमा चल मा चल’ मन्त्र उच्चारण गर्दै रक्षाबन्धन वा राखी सबै भक्तजनहरुको हातमा बाँधी आर्शीवाद दिने गर्दछन् ।

मालिका बज्यैको मन्दिरलाई पर्यटकीय स्थल बनाउन सके यस मन्दिरको महत्व अझै बढ्ने देखिन्छ । सुख शान्ति समृद्धि र अमृतत्वको प्राप्ती मानव जीवनको प्रमुख लक्ष्य नै हुँदा एउटै मन्दिरमा पूजा अर्चना गर्ने भक्तजनहरुले पनि फरक–फरक किसिमले पूजा, अर्चना गरेको भेटिन्छ । पण्डित वा पूजारीहरु केही नबोली एकोहोरो पाठ पूजा मात्र गराउँछन् भने भक्तजनहरु आफ्नो मन, विचार भावना शुद्ध बनाइ मनोकानना पूरा होस् भन्दै एकाग्र भएर ध्यान गरिरहेका हुन्छन् । यस दिन गरेको पूजाआजाले वर्ष भरी कुनै कष्ट नहोस्, दुःख भोग्न नपरोस्, सुख शान्ति होस्, कुनै दैवी घटनामा पनि मालिकाले रक्षा गरुन् भनि गाइको दुधको धार मालिकालाई चढाउने प्रचलन रही आएको छ । यो मेला धार्मिक दृष्टकोणले पनि महत्वपूर्ण मानिन्छ । अष्टमीको दिन मास, मुगी, चना, भटमास केराउ आदि गेडागुडी भिजाएर राखी पुर्णिमाको दिन पकाएर रससहित खानाले वर्षाको सर्दी हट्छ भन्ने मान्यता पनि रहि आएको छ । धर्म तथा संस्कृतिको संरक्षण सम्वद्र्धन र जर्गेना गर्नु हामी सबैको कर्तव्य तथा अधिकार पनि हो । मनुष्य जीवन लिएर जन्मेको जन्मभूमि, जन्मदिने माता, कुलवंश धर्मको रक्षा गर्न सकिएन भने आफ्नो जीवनको सार्थकता रहँदैन ।

अतः वर्तमान अवस्थामा हामी सबै मिलेर धर्म र संस्कृति बचाउनको लागि आ–आफ्नो क्षेत्रबाट विशेष जोड दिनुपर्दछ त्यस्तै हामी वरपर रहेका तर सञ्चार र विकासको अभावले प्रचारमा आउन नसकेका धार्मिक, ऐतिहासिक र पर्यटकीय स्थानहरुको पहिचान गराउन सके यी धर्मिक तथा पर्यटकीय स्थलहरुमा आन्तरिक तथा बाह्य पर्यटकहरु भिœयाउन सके आन्तरिक रुपमा आय–आर्जनको एउटा पाटो बन्ने पनि देखिन्छ ।
(लेखक शर्मा चि·ाड गाउ“पालिका ३ सुर्खेत निवासी हुन् ।)

प्रकाशित मितिः   ३० श्रावण २०७६, बिहीबार १३:५८