नगर बालभेला सम्पन्न

सुर्खेत, १८ असार ।
वीरेन्द्रनगर नगरपालिका कार्यालयको आर्थिक सहयोग, यूथ फर चिल्ड्रेनको संयोजन एवम् नगरस्तरीय बाल सञ्जालको आयोजनामा नगर बालभेला सम्पन्न भएको छ । शनिवार सम्पन्न भएको बालभेलामा निवर्तमान अध्यक्ष तिलक पौडेलले नगर बाल सञ्जालले स्थापना कालदेखि हालसम्म गरेका गतिविधि एवम् उपलब्धीको कार्यपत्र प्रस्तुत गरेका थिए ।
कार्यक्रमको उद्घाटन सत्रका प्रमुख अतिथि तथा वीरेन्द्रनगर नगरपालिकाका कार्यकारी अधिकृत बालाराम शर्माले नगरस्तरीय बाल सञ्जालले विगतमा बालअधिकार र बालबालिकाका सवालमा विभिन्न खाले गतिविधि सञ्चालन गरेको र आगामी दिनमा समेत यस्ता खालका गतिविधि सञ्चालन गरिरहनुपर्ने बताए । उनले नेपाल सरकारको नीति बमोजिम बालबालिकाको क्षेत्रमा पूँजीगततर्फको १० प्रतिशत बजेट विनियोजन हुने र यो रकम बालबालिककाहरूकै क्षेत्रमा लगानी गराउनमा नगर बाल सञ्जालले समन्वयकारी भूमिका निर्वाह खेलेको र यस्ता गतिविधिले बालमैत्री स्थानीय शासन लागू गर्नका निमित्त ठूलो सहयोग पुग्ने बताए ।
भेलाले २५ सदस्यीय नयाँ कार्यसमिति समेत चयन गरेको छ । जसको अध्यक्षमा अस्मिता सापकोटा, उपाध्यक्ष दिपक विक, सचिव दिपक भट्टराई, कोषाध्यक्ष सुमित्रा शाही, सह–सचिव अर्जुन विक रहेका छन् भने वीरेन्द्रनगरका २५ वटै वडाबाट १÷१ जना सदस्य रहेका छन् । उक्त भेलाले निवर्तमान अध्यक्ष तिलक पौडेललाई कार्यक्रम संयोजक र यूथ फर चिल्ड्रेनलाई संरक्षक संस्थाको रूपमा राख्ने निर्णय गरेको छ ।

प्रकाशित मितिः   १९ असार २०७३, आईतवार ०९:३२