विकासमा बेथितिको अनुगमन : तत्काल पुनर्निर्माण गर्न निर्देशन
बिसौनी संवाददाता
सुर्खेत, १७ असार ।
विकासको नाममा चरम बेथिति भएको समाचार प्रकाशित भएपछि रातारात त्यसको अनुगमन भएको
छ । पश्चिम सुर्खेतको बड्डीचौर–बेनीघाट सडक अन्तर्गत सालकोटस्थित चौरखोलामा निर्माणधीन पुल, गिमिनेखोलाको पुल र प्राथमिक स्वास्थ्य केन्द्र सालकोटको निर्माण सम्पन्न भएको भवनको अनुगमन गरिएको हो । प्राविधिकहरूको टोलीले ती संरचनाहरूको स्थलगत अनुगमन गरेका हुन् ।
पुल निर्माणमा भएको लापरबाही र अस्पताल भवनमा भएको बेथितिको समाचार केहीदिन पहिला साझा बिसौनी दैनिकमा प्रकाशित भएको थियो । त्यसपछि जिल्ला प्राविधिक कार्यालयको टोलीले चौरखोला र गिमिनेखोलामा निर्माणाधीन पुलको गुणस्तर र कामको स्थलगत अनुगमन गरेको हो । यस्तै सहरी विकास तथा भवन निर्माण विभाग डिभिजन कार्यालय सुर्खेतको प्राविधिक टोलीले प्राथमिक स्वास्थ्य केन्द्र सालकोटको भवनको अुनगमन गरेको छ । दुवै टोलीले तत्काल पुनर्निर्माण र मर्मत गर्न ठेकेदारलाई निर्देशन समेत दिएका छन् ।
प्राविधिक कार्यालयका प्रमुख शम्भु मिश्रको नेतृत्वमा गएको सरकारी अधिकारीहरूको टोलीले पुल निर्माणमा लापरबाही नगर्न आग्रह गरेको छ । स्थानीय बासिन्दाले पुल निर्माणमा चरम लापरबाही भएको गुनासो गरेपछि प्राविधिक टोली अनुगमनमा गएको हो । स्थलगत अनुगमनपछि जिल्ला प्राविधिक कार्यालयका प्रमुख शम्भु मिश्रले भने, ‘चौरखोलामा पुलसँग सडकको सतह मिलाउन ग्याबिनजाली विनै माटो थुपारिएको पाइयो, त्यहाँ तत्काल ग्याबिनजाली लगाएर फिलिङ गर्न निर्देशन दिएका छौं ।’ सडकको सतह भन्दा पुल अग्लो रहेको र माटो मात्र थुपारेर फिलिङ गरेको पाइएको भन्दै मिश्रले अब त्यहाँ जाली बिच्छ्याएर भर्न लगाइने बताए । उनले थपे, ‘हतारमा आलटाल गर्न पाइदैन, हामीले ठेकेदारलाई निर्देशन दिएका छौं । अब चौरखोलाको पुल स्थानीय बासिन्दाको माग अनुसार नै पुनर्निर्माण हुन्छ, यदि पूरा काम भएन भने हामी थप कारबाही अगाडि बढाउँछौं ।’ उनका अनुसार त्यहाँ करिब ६२ मिटर दूरीमा जाली बिच्छ्याएर भर्नुपर्ने अवस्था छ ।
उनले आफूहरूले गिमिनेखोलामा बन्दै गरेको पुलको पनि अनुगमन गरेको जानकारी दिए । गिमिनेखोलामा पुल बनाउने क्रममा सालको रुखलाई घेरेर पर्खाल लगाइएको छ । यसको स्थानीयले विरोध गर्दै आएका छन् । तर, मिश्रले उक्त रुख हटाउनका लागि आफूहरूले पहल सुरु गरिसकेको बताए । ‘त्यो रुख हटाउनै पर्दछ, हामीले जिल्ला वनमा निवेदन पनि दिएका छौं’ मिश्रले भने, ‘मैले पहिला नै ठेकेदारलाई त्यो रुख हटाउन भनेको थिएँ, अहिले पनि काट्नका लागि आवश्यक प्रक्रिया अगाडि बढिसकेको छ ।’ रुख हटाउनका लागि आवश्यक प्रक्रिया अगाडि बढिरहेको भन्दै उनले तत्कालका लागि रुखलाई असर नपर्ने गरी निर्माणको काम अगाडि बढाउन निर्देशन दिइएको समेत जानकारी दिए । यस्तै प्राविधिकहरूले प्राथमिक स्वास्थ्य केन्द्र सालकोटको भवनको अनुगमन गरेका छन् । दुई वर्ष पहिला निर्माण सम्पन्न भएको यो भवन अहिले भत्किन थालेको छ । कम गुणस्तरको निर्माण सामग्री प्रयोग भएका कारण भवनको भित्रपट्टिको भाग भत्किन थालेको भन्दै प्राविधिकहरूले पुनर्निर्माण गर्नुपर्ने बताएका छन् ।
सालकोट गाविसका सचिव तिलकराम अधिकारीले प्राविधिकको टोलीले अस्पतालको भवनको भित्रपट्टिको छतको भाग भत्काएर पुननिर्माण गर्न निर्देशन दिएको बताए । उनले भने, ‘अहिले भवनको भित्रपट्टिको भागमा छतको भाग भत्किएर खसिरहेको छ, त्यो भाग भत्काएर पुनः मर्मत गर्न प्राविधिकले सुझाव दिएका छन् ।’ भवन निर्माण डिभिजन कार्यालयले तत्काल अस्पताल भवन पुनः मर्मत गर्न ठेकेदारलाई निर्देशन दिएको छ । पुनः मर्मत नगरे ठेकेदारको धरौटी रकम फिर्ता नदिने चेतावनी दिइएको कार्यालयको भनाइ छ । सचिव अधिकारीका अनुसार डिभिजन कार्यालयले भवन मर्मत गर्ने, अस्पतालमा सोलार जडान गर्ने र खानेपानीको व्यवस्थापन गर्न ठेकेदारलाई निर्देशन दिएको छ । स्थानीय बासिन्दाले खबरदारी गरेकै कारण रातारात अनुगमन भएको भन्दै अधिकारीले विकासमा हुने बेथिति रोक्न स्थानीय नागरिकहरू नै सक्रिय हुनुपर्ने बताए । सालकोटका बासिन्दा विकासका नाममा लापरबाही भएको भन्दै केही दिनअघि सदरमुकाम आएर सरकारी अधिकारीहरूलाई जानकारी गराएका थिए ।
साझा बिसौनी संवाददाता ।