कृषिमा लोभिएका तन्नेरी

gaiदिनेश गौतम
सुर्खेत, १८ असार ।
ठूलो फाँट जहाँ खेत मात्रै छ । त्यही खेतको बीचमा गाईपालनको लागि एउटा गोठ बनाइएको छ । गोठमा दुई वटा गाई बाँधिएका छन् । साथमा एक हल गोरु पनि छन् । यही गोठमा भूषण पौडेल र चन्द्र चालिसेले आफ्नो सुन्दर भविष्य देखेका छन् । उनीहरूका सपना त्यही गोठ र खेतसँग जोडिएका छन् ।
स्वरोजगार र आत्मनिर्भर बन्ने सपना बोकेर गढी–५ बयलकाँडा निवासी २९ वर्षीय भूषण पौडेल र वीरेन्द्रनगर–५ चिसापानी निवासी चन्द्र चालिसे वीरेन्द्रनगर–१८ स्थित समथर फाँटमा व्यवसायिक गाईपालन र कृषि कर्ममा जुटेका छन् । व्यावसायिक रूपमा कृषि गरेर आत्मनिर्भर हुने उनीहरूको योजना छ ।
युवाहरूसँग जम्मै गुनासोका पोकाहरू मात्रै छन् ‘यो भएन, ऊ भएन, सरकारले यो गर्न सकेन, सरकार हामीप्रति उत्तरदायी भएन’ आदि
इत्यादि । धेरैजसो युवाहरूसँग शैक्षिक योग्यताको प्रमाणपत्र त छ तर उनीहरूले त्यो प्रमाणपत्रले प्राप्त गर्नसक्ने किसिमको रोजगार प्राप्त गर्न सकेका छैनन् । तर यहाँ त्यस्ता केही युवाहरू छन् जो शैक्षिक उपलब्धी मात्रै सबैथोक होइन, आफूले केही कर्म गर्नुपर्दछ र उद्यमी बन्न प्रयत्न गर्नुपर्दछ भन्ने धारणा राख्छन् । यस्तै धारणा राख्ने मध्येका हुन् भूषण र चन्द्र । जसले केही नयाँ सुरु गर्ने प्रयास थालेका छन् । उनीहरू अहिले व्यावसायिक रूपमै कृषि कर्ममा लागेका छन् ।
अहिले भूषण र चन्द्रको गोठमा दुई वटा मात्र गाई छन् । यो त उनीहरूको सुरुवात मात्र हो । केही समयमै गोठभरी गाई देख्न सकिने भूषण बताउँछन् । ‘यहाँ मात्रै दुईवटा ल्याएको हो । माथि चिसापानी दुईवटा छन् । गोरुचाहिँ खेतमा काम गर्नको ल्याएका हौं । केही दिनमै दुईवटा जति भैंसी ल्याउने हो, गाईको संख्या विस्तार बढाउँदै लैजाने योजनामा छौं ।’ उनीहरूले आधुनिक गाईफर्मको सपना देखेका छन् । जुन गाईफर्मले उनीहरूलाई मात्रै आत्मनिर्भर बनाउँदैन, अरुलाई पनि रोजगारी दिनेछ ।

ketaharu
भूषण एसएलसी सकेसँगै काठमाडौं लागेका थिए । उनी काठमाडौंमा १० वर्ष बसे । काठमाडौंबाट ब्याचलर सकाए । चन्द्रले प्लस टू सकाए । दुवैको पढाइ त्यत्तिकैमा रोकिएको अवस्था थियो । गत चैतमा भूषण सुर्खेत आए, फेरि काठमाडौं नफर्किने गरी । यसैक्रममा घरको सामान्य कुराकानीमा उनीहरूबीच व्यावसायिक रूपमा कृषि गर्न सकिने सम्बन्धी धारणा आयो । ‘मामासँग (चन्द्रका बुबा) यस्तै कुरा गर्दा अब कृषिमा हात हाल्ने कि भन्ने विषयमा सल्लाह भयो । मेरो घरबाट त अझैं पनि आपत्ति नै जनाइरहेका छन् तर मेरो मन यतैतिर लाग्यो र मामाको छोरा र म मिलेर यहाँ गोठ बनाउन सुरु ग¥यौं ।’ भूषणले भने ।
आफूले सुरु गरेको काममा जसरी पनि सफल हुन उनीहरू दत्तचित्त भएर लागेका छन् । खेतको आलीमा र नजिकै रहेको नालाभरी घाँस लगाएका छन् । परालको ठूलो थुप्रो छ । पशुलाई पानी खुवाउन नालाबाट आउने पानी जम्मा गरेका छन् । अलि नजिकै रोपाईं गर्नका लागि धानको बीऊ रोपिएको छ । वातावरण हरियो देखिन्छ । अहिलेसम्म गोठ बनाउन र चारवटा गाई ल्याउन मात्र चारलाख रूपैयाँ खर्च भइसकेछ । अझ धेरै लगानी लाग्ने उनीहरूको अनुमान छ । केही भैंसी र केही गाई ल्याउनुछ । तरकारीको लागि सबै व्यवस्थापन गर्नुपर्नेछ । खेतमा रोपाईं गर्दा सबै खेताला लगाएर गर्नुपर्ने हुँदा लगानी त प्रशस्तै लाग्ला जस्तो छ । उनीहरू यसै भन्छन् ।
दुवै यसअघि बेरोजगार थिए । पूँजीको समस्या छ तर जसरी पनि आफूले पूँजीको जोहो गर्ने उनीहरूले बताए । गोठ बनाइएको जग्गा र त्यस वरपर भूषणको जग्गा छ । त्यस बाहेक त्यहाँ वरपरको करिब दुई विगाह जग्गामा धान रोपाइँ गर्दैछन् यसपालीबाट उनीहरू । धान रोप्ने मात्र होइन, आफ्नो जग्गाभरी तरकारी खेती सुरुवात गर्दैछन् यही वर्षा सकिएसँगै । ‘यहाँ फल्ने जति तरकारी लगाउने हो । गाई–भैंसी पनि हुनाले प्राङ्गारिक मलको प्रयोग गर्न सकियो । यो वरपरको करिब दुई विगाह खेतमा यो पटक रोपाईं गर्छौं’ चन्द्रले भने ।

प्रकाशित मितिः   १९ असार २०७३, आईतवार ०७:००