शर्माको उपचारमा रेडियो भेरीको सहयोग

सुर्खेत, बोनम्यारो प्रत्यारोपणका क्रममा रहेका पत्रकार डिलप्रसाद शर्माको उपचारका लागि रेडियो भेरी एफएम सुर्खेतले आर्थिक सहयोग प्रदान गरेको छ । रेडियोले शर्माको उपचारार्थ नगद ४५ हजार एक सय एक रूपैयाँ प्रदान गरेको हो ।

रेडियो भेरी र रेडियोमा कार्यरत पत्रकार तथा कर्मचारीमार्फत् उक्त रकम संकलन गरिएको रेडियो भेरीका स्टेशन म्यानेजर नारायकुमार कोइरालाले जानकारी दिए । बोनम्यारो पीडित पत्रकारलाई थोरै भए पनि आर्थिक सहयोग गरिएको भन्दै उनले शर्माको शीघ्र स्वास्थ्य लाभको कामनासमेत गरे ।

साझा बिसौनी दैनिकका संवाददाता शर्माको अहिले काठमाडौंस्थित सिभिल हस्पिटलमा उपचार चलिरहेको छ । बोनम्यारो प्रत्यारोपणका लागि आर्थिक अभाव भएपछि शर्माको उपचारका लागि सहयोग संकलन भइरहेको छ । शर्मा कार्यरत साझा बिसौनी पब्लिकेशन अन्तर्गतको साझा बिसौनी फाउण्डेशन, नेपाल पत्रकार महासंघ, दैलेखी विद्यार्थी एकता समाज लगायतले उनको उपचारका लागि आर्थिक सहयोग जुटाउन अभियान सञ्चालन गरिरहेका छन् ।

प्रकाशित मितिः   २० श्रावण २०७६, सोमबार १६:०८