कर्मचारी कुर्दै कर्णाली

कर्णाली रोजेकाहरु नै हाजिर भएनन्, अझै साढे ६ सय बढी कर्मचारी अपुग

सुर्खेत- विगतमाजस्तै संघीयता कार्यान्वयनपछि पनि कर्णाली कर्मचारीको उपेक्षामा पर्दै आएको छ । प्रदेश सरकार गठन भएको एक वर्षभन्दा लामो समय बितिसक्दासम्म पनि कर्णाली प्रदेश भने कर्मचारीकै पखाईमा बस्नु परेको छ ।

सुरुवातदेखि नै कर्मचारीको अभाव झेल्दै आएको कर्णाली प्रदेश सरकारले हालसम्म पनि दरबन्दी अनुसारका कर्मचारी पाउन सकेको छैन ।
कर्मचारी समायोजनले पनि कर्णालीको समस्या टार्न सकेन । कर्णालीका लागि छुट्याईएको दरबन्दिमा पनि सबै कर्मचारीले कर्णाली रोजेनन् । समायोजन प्रक्रियामा कर्णाली प्रदेशलाई रोजेका सबै कर्मचारीहरु समेत हाल सम्म हाजिर हुन नआँउदा समस्या भएको हो । त्यसमा पनि प्राविधिक कर्मचारीको अभाव कर्णालीले धेरै नै झेल्दै आएको छ ।

प्रदेशका विभिन्न मन्त्रालय तथा मातहतका कार्यालहरुमा काम गर्दै आएका कर्मचारीहरु समेत समायोजन पछि कार्याालय नै रित्तिने गरी अन्यत्र गईसके । समायोजनको प्रक्रिया शुरु भएको महिनौ बितिसक्यो । तर कर्णालीमै समायोजनमा परेका सबै कर्मचारी नै कार्यालयमा हाजिर हुन आएका छैनन् । कर्णालीलाई रोजेकाहरु समेत समयमै हाजिर हुन नआउँदा कर्मचारीको अभाव कर्णाली प्रदेशका विभिन्न मन्त्रालय तथा मातहतका कार्यालयहरुले झेल्दै आएका छन् ।

मुख्यमन्त्री तथा मन्त्रीपरिषद्को कार्यालयका अनुसार कर्मचारी समायोजनमा कर्णाली प्रदेशका लागि एक हजार नौ सय ९२ कर्मचारीको दरबन्दि छुट्याईएको थियो । जसमध्ये एक हजार तीन सय ३४ कर्मचारीले मात्रै कर्णाली प्रदेशलाई रोजेका थिए । कार्यालयका अनुसार साउन महिनाको पहिलो हप्ता सम्म कर्णाली प्रदेशमा जम्मा ९ सय ३६ कर्मचारीहरु हाँजिर हुन आएका छन् । अझै पनि कर्णाली प्रदेशमा समायोजनमा परेका ३ सय ९८ जना कर्मचारी हाजिर हुन बाँकी रहेको मुख्यमन्त्री तथा मन्त्रीपरिषद्को कार्यालय कर्णाली प्रदेशका सुचना अधिकारी केशपप्रसाद उपाध्यायले जानकारी दिएका छन् । उनका अनुसार कर्णालीलाई सबैभन्दा बढि प्राविधिक तर्फका कर्मचारीहरुको अभाव रहेको छ । प्राविधिक तर्फका माथिल्लो तहका कर्मचारीहरुले खासै कर्णालीलाई रोजेका छैनन् ।

उपाध्यायका अनुसार समायोज पछि कर्णाली प्रदेशमा हाजिर हुन आएका कर्मचारीहरुमा नेपाल प्रशासनतर्फ सामान्य प्रशासनमा ३ सय ४० जना, लेखातर्फ १ सय २२ जना, राजश्व उपसचिब तर्फ १ जना कर्मचारी रहेका छन् । त्यस्तै गरी नेपाल बनतर्फ हाजिर हुन आएका २ सय ८२ कर्मचारी मध्ये सबैभन्दा धेरै श्रेणिबिहिन बनरक्षक कर्मचारी २ सय ४० जना हाजिर भएका छन् । नेपाल बन तर्फ अन्य कर्मचारी भने ४२ जना मात्रै रहेको उपाध्यायले बताए ।

यसैगरी नेपाल ईन्जिनियरिङ्ग तर्फ ५९ जना, नेपाल कृषी तर्फका कर्मचारी १ सय ३ जना, योजना तथा तथ्याँक मा ६ जना कर्मचारी हाजिर भएका छन् । नेपाल विविधमा २९ जना कर्मचारी हाजिर भएका छन् भने नेपाल स्वास्थ्य तर्फ जम्मा ३ जना मात्रै कर्मचारीहरु कर्णालीमा हाजिर भएका छन् । कर्णाली प्रदेशमा विभिन्न प्राविधिक तथा माथिल्लो तहका करार सेवा समेत गरी अझै पनि ६ सय ५८ जना कर्मचारी अपुग भएको सुचना अधिकारी उपाध्यायले बताए । पछिल्लो केही समयदेखि भने कर्मचारी आउन थालेका छन् । ‘समायोजनमा परेका कर्मचारीहरु आउने क्रम चलिरहेको छ’ सूचना अधिकारी उपाध्यायले भने, ‘उहाँहरुले काम गरिरहेको कार्यालयमा समेत कामको प्रभाब नपार्ने गरी उहाँहरु आउनुहुन्छ ।’ कर्णाली प्रदेशलाई अपुग रहेको कर्मचारी सँख्या ६ सय ५८ मा अधिकाँश माथिल्लो तहका प्राविधिक कर्मचारी भएको उपाध्यायले बताएका छन् ।

कर्णाली रोजेका कर्मचारीहरु समेत समयमै हाजिर हुन नआउँदा सरकारका योजना कार्यान्वयनमा समस्या भएको बताइन्छ । मुख्यमन्त्री महेन्द्रबहादुर शाहीसहित अन्य मन्त्रीहरु पनि बजेट कार्यान्वयनदेखि अन्य महत्वपूर्ण काम गर्न कर्मचारी नहुँदा चुनौती बढेको बताउँदै आएका छन् । मुख्यमन्त्री शाहीले कर्मचारी खटाउन संघीय सरकारले ध्यान नदिएको आरोप समेत लगाउने गरेका छन् ।

प्रकाशित मितिः   २० श्रावण २०७६, सोमबार १३:०५