विद्यालयको नाम सुन्न पनि पाएनौं
लालबहादुर घले पूर्वसभासद हुन् । वि.सं. १९९६ फागुन १० गते तत्कालीन रजेना गाविस (हाल चिनगाड गाउँपालिका–१ चेलकुले सुब्बा) टोलमा बुबा बिलबहादुर घले र आमा पूर्णा घलेको सन्तानमा रूपमा उनी जन्मिए । भारतीय सेनामा पनि लामो समयसम्म बिताएका घले वि.सं. २०७० सालको संविधानसभा निर्वाचनमा नेपाली कांग्रेसबाट समानुपातिकतर्फबाट संविधानसभा सदस्य भए । लामो समयदेखि राजनीतिमा सक्रिय घलेले आफ्नो बाल्यकालको सम्झना हाम्रा सहकर्मी मुना हमालसँग यसरी साटेः
मध्यम वर्गको परिवारमा म जन्मिएँ । त्यसबेलामा कसैको घरमा १०÷१५ वटा गाइ–भैंसी, त्यस्तै भेडाबख्रा, ४०÷५० मुरी गहुँ, मकै भयो भने हुनेखाने पारिवारमा गन्निथे । कसैसँग एक हजार छ भने हजारे साउ भन्थे । एक सय रुपैयाँको नोटलाई भन्न नजानेर पाँचबिसे २० रुपैयाँ भन्थे ।
हामी १० भाइबहिनी थियौं । दुई भाइ र आठ बहिनी । म घरको जेठो छोरा । म धेरै जसो मावली घरमै बसें । घर र मामाको घर नजिकै थियो । मलाई मावली घरको बज्यैले नै पालनपोषण गर्नुभयो । उहाँहरुकै रेखदेखमा हुर्र्किएँ ।
समाज अहिलेको जस्तो शिक्षित थिएन । पढेका मान्छे गाउँघरमा भेटिदैन्थें । त्यसबेलामा पढ्ने भनेको तमसुक लेख्न जान्ने, गीताचण्डी पढ्ने नै हुन्थ्यो । ठूलो बुबाको छोराले हामीलाई पिंढीमा बसालेर बाह्रखरी पढाएको सम्झना छ । गाउँमा विद्यालय थिएनन् । हामीले विद्यालय कस्तो हुन्छ भनेर देख्न त के नामसमेत पनि सुनेका थिएनौं । गाउँमा पहिलेका मानिसहरुले जे पढे हामीले पनि त्यही पढ्यौं । त्यसबेलामा अक्षर चिनेर तमसुक लेख्ने, गीताचण्डी पढ्थे । पार्टीमा खरीले लेख्नुपथ्र्यो । गोलभेडा पिसेर मसी बनाउँथ्यौं ।
अहिले त सबैको हातहातमा मोबाइल फोन छ । घरघरमा टेलिभिजन छन् । सूचना प्रविधिको विकास धेरै भएको छ । अहिलेका बालबालिका यी कुरामा अगाडि छन् । हामीले त्यसबेलामा मोबाइल कस्तो हुन्छ ? टेलिभिजन कस्तो हुन्छ ? भनेर देख्नसमेत पाएनौं । त्यसबेलामा इण्डियन आर्मी हुने भनेपछि महत्व दिन्थे । गाउँघरका अधिकांश पुरुषहरु इन्डिन लाहुरे हुन्थे । मेरो पनि सानैदेखिको लक्ष्य त्यही थियो । इन्डियन लाहुुले हुन्छु भन्थें । पछि लाहुरे पनि भएँ । म लाहुरे भएको पहिलो पटक छुट्टीमा आएको बेलामा गाउँमा स्कुल खुल्यो भन्ने सुनेको हुँ । त्यस दिन हामी धेरै साथीहरु भएर गुमीमा स्कुल हेर्न गएका थियौं । बालापन गइसकेपछि मात्र हामीले विद्यालय देख्न पाएका थियौं । २०१५/०१६ सालपछि मात्र गाउँ–गाउँमा विद्यालय खुल्न थालेका हुन् ।
बाल्यकालमा हामीले पढ्नुभन्दा पनि गाइगोठाला ग¥यौं । त्यसबेलामा गाइगोठाला जानु बाहेक अरु काम पनि थिएन । घरमा गाइवस्तु धेरै हुन्थे । गाइगोठाला गएर नै धेरै बाल्यकाल बित्यो । गाउँमा घाँस सकियो भने लेक जानुपथ्र्यो । गाइवस्तु लिएर महिनौंसम्म पनि बस्नुपर्ने हुन्थ्यो । गाइभैंसीको दुध दुुहने त्यही दुधमा चामल पकाएर खान्थ्यौं । जति भनेको पनि दुध हुन्थ्यो । अहिलेको जसरी बेचौंला भन्ने हुँदैनथ्यो । घ्यू संगालेर लागेपछि हाट लिएर बिक्री हुन्थ्यो । गाउँमा खानेपानीका धारा हुँदैनथे । कुवाँमा पानी लिन जानुपर्ने । छोरी मान्छेहरु बिहान ढिक्कीझाँतो गर्न जान्थे । हामी पानी लिन जान्थ्यौं । ढिलो गयो भने पानी भर्ने पालो कुर्नपथ्यौं । कहिले काहीं त एक निद्रा पु¥याएपछि पालो आउँथ्यो । पानी लिएर घर आउँदा आमाले मकै भट्टमास भुटेर राखिदिनुहुन्थ्यो ।
सानैदेखि म शान्त स्वभावको थिएँ । झगडा नगर्ने, साथीहरुले झगडा गरेका छन् भनेपछि मिलाउने गर्थे । घरमा पनि मलाई यो चाहिन्छ भनेर जिद्धी कहिल्यै गरिनँ । घरमा जे खान दिनुहुन्छ खान्थें । अहिले पनि त्यस्तै छु ।
बाल्यकालमा कहिले काँही बदमासी पनि गरियो । गाउँमा कोही बिरामी भयो भने धामी झाँक्रीकोमा पु¥याउने गर्थे । धामी बसेको, भाले काटेको हामी रुचिका साथ हेथ्र्यौं । अनि साथीहरु मिलेर त्यसैगरी धामी बस्ने गरेको सम्झना छ । घरमा जति भएपनि कुखुरा हुन्थे । बुबाआमा सबै खेतबारीको काममा गइहाल्नुहुन्थ्यो । हामी गोठाला जानुपथ्र्यो । हामीले धामी बसेर एउटा कुखुरा काटेर उतै लिएर जान्थ्यौं । अनि वनमा पोलेर खान्थ्यौं । प्रायः चोरेको थाहा हुन्थेन । एक पटक घरमा कोही नभएको मौकामा बदमासी गरेका थियौं । कखुराले चल्ला कोरल्न लागेको अण्डा हामीले आफै फुटाएर निकाल्यौं । गाइभैंसी बनाएर खेल्यौं । साँझ आमा घर आउने बेलामा सबै चल्ला मरिसकेका हुन्थे ।
मलाई नाँच्न र गाउनमा रुचि थियो । गाउँ–गाउँमा मेला लागिरहन्थे । औंशीपूर्णीमामा मेला लागिहाल्थे । गाउँघरमा हुने पूजा, सांस्कृति कार्यक्रममा नाँच्थें । मलाई सबैले राम्रो नाँच्न जानेको छ भनेर भन्थे । म फुरुङ्ग पर्थें । अहिले ती दिनहरु सम्झदा रमाइलो लाग्छ ।
सामान किन्नका लागि नेपालगन्ज बजार जानुपथ्र्यो । वर्षमा एक पटक मात्र जान्थ्यौं । वर्षभरी घ्यू संघालेर लैजाने । त्यही घ्यू बेचेर वर्षभरी खान पुग्ने मसला, नुन, कपडा लिएर आउँथ्यौं । नेपालगन्ज हिँडेर नै जानुपर्ने हुन्थ्यो । यता कही पनि बजार थिएनन् । पुसको महिना नेपालगन्ज जाने हुन्थ्यो । एक पटक किनेको कपडा चार÷पाँच वर्षसम्म पग्थ्यो ।
चाडपर्वको समयमा लगाउने कपडा छुट्टै हुन्थें । अरु समयमा लगाउने कपडा छुट्टै हुन्थे । चार÷पाँच वर्षमा एक पटक कपडा किन्ने हुन्थ्यो । हाम्रो आमाले चोली र गुन्यौं, घलेक लगाउँहुन्थ्यो । कपडा पनि राम्रो हुन्थ्यो । प्रायः पुरुषहरु नै किनमेलका लागि जान्थे ।
बाल्यकालमा चाडपर्व धेरै रमाइला हुन्थे । तीजमा चेलीहरु मात्र नाँच्ने गाउने गर्थे । उनीहरुका लागि दाइभाईले पिङ्ग हालिलिने चलन थियो । दरखाने दिनसम्म खाने नाँच्ने अनि तीजको दिन ब्रत बस्ने, पिङ्ग खेल्ने र पिङ्ग हालिदिने दाजुभाइलाई खाना खुवाउने चलन थियो । देउसीभैलो महिलाहरु खेल्थेन् । तिहार सुरु भएको दिनदेखि देउसी भैली खेल्न हिँडिहाल्थ्यौं । मखमली फूल, सयपत्री फूल फुल्दा रमाइलो लाग्थ्यो ।
२०४६ सालपछि राजनीतिमा प्रवेश गरेको हुँ । इन्डियन आम्र्रीबाट अवकाशपछि राजनीतिमा मेरो सक्रियता बढ्यो । आफै सहभागी भएको संविधानसभाबाट अधिकार प्राप्त संविधान जारी गर्न सकियो । संविधानले जनतालाई धेरै अधिकार दिएको छ । अब उमेर धेरै भइसकेको छ । अहिले राजनीतिमा सक्रिय छैन । कहिले काहीं पार्टीले केही कार्यक्रम भएको समयमा आमन्त्रण गर्छ । त्यसबेला मात्र जाने गरेको छु ।
प्रकाशित मितिः २० श्रावण २०७६, सोमबार १६:०८
साझा बिसौनी संवाददाता ।