विश्वविद्यालयमा तालाबन्दी
सुर्खेत, मध्यपश्चिमाञ्चल विश्वविद्यालयमा विद्यार्थीहरूले विभिन्न ११ बुँदे माग राख्दै आन्दोलनमा उत्रिएका छन् । गत साउन १ गतेदेखि तिन विद्यार्थी संगठनहरूले आन्दोलनका कार्यक्रम गर्दै आएका् हुन् ।
यसअघि आन्दोलनका स्वरूपहरू सामान्य भए पनि सोमवार भने विद्यार्थी संगठनहरूले विश्वविद्यालयका उपकुलपति उपेन्द्र कोइरालाको कार्यालयमा तालाबन्दी गरेका छन् । त्यस्तै निमित्त रजिष्टार तथा लेखा र प्रशासनमा समेत तालबन्दी गरिएको म.प विश्वविद्यालय स्वतन्त्र विद्यार्थी युनियनका सदस्य रोशन बस्नेतले बताएका छन् ।
विश्वविद्यालयमा हरेक वर्ष वृद्धि हुँदै आएको १० प्रतिशत शिक्षण शुुल्क तत्काल खारेज गर्नुपर्ने, तत्काल स्ववियुको निर्वाचन घोषणा गर्नुपर्ने, विश्वविद्यालयका पदाधिकारी, कर्मचारी र प्राध्यापकहरूको दोहोरो सुविधा खारेज गर्नुपर्ने, यसअघि स्ववियु विद्यार्थी संगठन र इन्जिनियरिङ्ग संकायका विद्यार्थीसँग गरिएका सहमतिहरू तत्काल कार्यान्वयन गर्नुपर्ने लगायतका माग विद्यार्थीहरूले गरेका छन् ।
त्यस्तै सबै संकायहरूमा कम्प्युटर ल्याब, विषयगत ल्याब, नियमित पठान–पाठन तथा आवश्यक कक्षा कोठा र फर्निचरको व्यवस्था गर्नुपर्ने लगायतका माग विद्यार्थीहरूले राख्दै आएका छन् । अघिल्ला दिनहरूमा अन्तरक्रिया, सिटी जुलुश र कालो पट्टिसमेत बाँधेर विरोध जनाए पनि कुनै सुनुवाइको छाँट नदेखिएपछि तालाबन्दीको बाटो अपनाउनुपरेको बस्नेतले बताए ।
उनले जबसम्म आफूहरूले विद्यार्थीहरूको हितको लागि राख्दै आएको ११ बुँदे मागको सुनुवाइ हुँदैन तबसम्म आन्दोलनका कार्यक्रमहरू गरिरहने बताएका छन् ।
मध्यपश्चिमाञ्चल विश्वविद्यालयको स्वतन्त्र विद्यार्थी युनियन, नेपाल विद्यार्थी संघ र राष्ट्रिय प्रजातन्त्रिक विद्यार्थी संघ आन्दोलनमा सहभागी छन् । तालाबन्दीबाट समेत विद्यार्थीहरूको माग पूरा नभए थप संघर्षका कार्यक्रमहरूको घोषणा गरी अगाडि बढ्ने तयारी भएको बस्नेतले बताए ।
प्रकाशित मितिः २१ श्रावण २०७६, मंगलवार १६:०६
साझा बिसौनी संवाददाता ।