निरन्तर सहयोग जुट्दै

सुर्खेत, पत्रकार डिलप्रसाद शर्माको उपचारका लागि निरन्तर सहयोग जुटिरहेको छ । बोनम्यारो प्रत्यारोपणका लागि सिभिल अस्पताल काठमाडौंमा भर्ना गरिएका शर्माको उपचारका लागि विभिन्न व्यक्ति तथा संस्थाले आर्थिक सहयोग गरेका छन् ।

यसैक्रममा दैलेखका पत्रकार विष्णु शर्माले नगद सात हजार पाँच सय रूपैयाँ प्रदान गरेका छन् । धमाका दैनिक दैलेखका प्रकाशक/सम्पादक शर्माले सोमवार उक्त रकम साझा बिसौनी फाउण्डेशनलाई हस्तान्तरण गरेका हुन् । आर्थिक अभावकै कारण पत्रकार शर्माको उपचारमा समस्या निम्तिन नदिने आफूले पनि केही रकम सहयोग गरेको उनले बताए । साथै उनले बोनम्यारो पीडित पत्रकार शर्माको जीवनरक्षाका लागि सबैले सकेको सहयोग गर्न आग्रह समेत गरे ।

यस्तै दैलेखमै कार्यरत अर्का पत्रकार यज्ञराज थापाले पनि शर्माको उपचाररार्थ पाँच हजार रूपैयाँ सहयोग गरेका छन् । उनले शर्मा कार्यरत साझा बिसौनी पब्लिकेशन अन्तर्गतको साझा बिसौनी फाउण्डेशनलाई उक्त रकम हस्तान्तरण गरेका छन् । थापाले केही दिनअघि आफ्नो जन्मदिनको अवसर पारेर पत्रकार शर्माको उपचारका लागि सहयोग गर्ने घोषणा गरेका थिए । जन्मदिनको खर्च कटाएर बोनम्यारो प्रत्यारोपणका क्रममा रहेका पत्रकार शर्माका लागि सहयोग गरेको उनले बताए । ब्याटमिन्टन संघ सुर्खेतका उपाध्यक्ष चेतबहादुर अधिकारीले दुई हजार पाँच सय प्रदान गरेका छन् भने स्वास्थ्य तालिम केन्द्र सुर्खेतका लेखा अधिकृत मिलनकुमार शर्माले पनि तीन हजार तीन सय ३३ रूपैयाँ शर्माको उपचारका लागि साझा बिसौनी फाउण्डेशनलाई हस्तान्तरण गरेका छन् ।

प्रकाशित मितिः   २१ श्रावण २०७६, मंगलवार १६:०२