नवनियुक्त पर्यटन मन्त्रीलाई सन्देश

संस्कृति, पर्यटन तथा नागरीक उड्यन मन्त्रालयले पाँच महिनापछि नयाँ मन्त्री पाएको छ । तत्कालीन मन्त्री रविन्द्र अधिकारीको २०७५ फागुन १५ गते ताप्लेजुङको फुङलिङमा भएको हेलिकप्टर दुर्घटनामा मृत्यु भएको थियो । त्यसयता पर्यटन मन्त्रालयको जिम्मेवारी प्रधानमन्त्री केपी शर्मा ओली आफैले सम्हाल्दै आएका थिए ।

यति लामो समयको अन्तरालपछि बल्लतल्ल साउन १५ गते त्यो दिन जु¥यो जुन दिनले योगेश भट्टराईलाई मन्त्रीको जिम्मेवारी प्राप्त भयो । पहिलो पटक मन्त्रीको जिम्मेवारी पाएका भट्टराई यसअघिका रविन्द्र अधिकारी जत्तिकै आम नागरिकले रुचाएका नेतृत्वमध्येका एक पात्र हुन् ।

सुरुमा तत्कालीन मन्त्री अधिकारीप्रति पनि आम नागरिकमा ठूलो भरोषा रहेको थियो । एउटा संघर्षशील नेतृत्व, विद्यार्थी राजनीतिबाट उदाएको गतिशील तथा क्षमतावान आदि आदि विशेषण जोडिएका थिए उनको हकमा पनि । तर जब वाइडवडी खरिदको अन्तिम किस्ता उहाँको कार्यकालमा चुक्ता भयो त्यसपछि एउटा टेलिभिजन च्यानलसँगको अन्तरवार्ताका क्रममा त्यसबारे उनीसँग प्रश्न गर्दा माइक फालेर हिँडे । ‘यस्ता झिनामसिना प्रश्न मन्त्रीसँग गर्ने ?’ भन्दै पत्रकारलाई हप्काए । त्यसपछि वाइडवडीबारे छानविन गर्न गठित लेखा समिति अन्तर्गतको उपसमितिले ३८ पेजको प्रतिवेदन तयार पारी सार्वजनिक ग¥यो । उक्त प्रतिवेदनले तिन मन्त्री, तीन सचिव र एक जना महाप्रबन्धक सहित सात जनालाई चार अर्ब ३५ करोड ५६ लाख भ्रष्टाचार गरेको आरोपसहित कारबाहीको माग ग¥यो । यस प्रकारको घटनाक्रमले उनको कदलाई खुम्च्यायो । उनी प्रतिका सकारात्मक विशेषणहरू हराउँदै गए । आम नागरिकको वितृष्णा बढ्दै गयो ।

यसैबीचमा निजगड अन्तर्राष्ट्रिय विमानस्थल निर्माणका लागि काटिन लागेको २५ लाख रुखको विषयले पनि चर्चा पायो । डी.पी.आर पनि नभएको र लगानी पनि नजुटेको अवस्थामा यति धेरै रुख काट्नु असोभनीय भएको भन्दै वन संरक्षणका अभियान्ताहरूको चर्को विरोध रह्यो । यसरी काटिन लागेका रुखको सन्दर्भमा पनि कमिशनको चक्कर रहेको भन्ने कुराले खुबै चर्चा पायो । यस्तै र यिनै परिचर्चाले मन्त्री रविन्द्र अधिकारीको कार्यकाल सुखद् बन्न सकेन । अनेक विवादमै रुमलियो ।

यति लामो समय प्रधानमन्त्री आफैले सम्हालेकोे संस्कृति, पर्यटन तथा नागरिक उड्यन मन्त्रालयको कार्यभार सम्हाल्दै मन्त्री भट्टराईले सबैले बाहीबाही गर्ने नेपाल एयरलाइन्स बनाउँछु मात्र भनेनन् आइस्योस–गइस्योस भाषा प्रयोग नगर्न र सञ्चारमाध्यममा बधाई पनि नदिन आग्रह गरे । यो सुरुवाती चरण हो यसमा कुनै टिप्पणी गरिहाल्नुपर्ने अवस्था छैन । ‘नयाँ जोगीलेझै खरानी मात्र धसेका’ हुन की वास्तवमा काम गर्नलाई सक्षम हुन भन्ने कुरा भोलिको प्रतिफलले बताउँनेछ । साउन १५ गतेको दिनमा सपथ लिइरहँदा उनीसामु थुप्रै चुनौतीहरू रहेका छन् ।

पहिलो चुनौतीः घाटामा गएर डुब्न लागेको नेपाल वायुसेवा निगमलाई सुरक्षित अवतरण गराउनु । नेपाली वायुसेवा कम्पनीलाई युरोपियन युनियनले उसको आकाशमा उड्न रोक लगाएको छ । यो रोकावट हटाउनु ।

दोस्रो चुनौतीः नेपालमै प्रशिक्षक पाइलट बन्न सक्ने ६ जना वरिष्ठ पाइलट हुँदाहुँदै २० हजार अमेरिकी डलर तिरेर राखिएका सात जना विदेशी पाइलटहरूलाई तत्काल बिदाई गरी नेपाली पाइलटहरूलाई नै सो जिम्मेवारी दिनसक्नु ।

तेस्रो चुनौतीः प्रत्येक दिन उडान हुने दुवैको फ्लाइटलाई कटौती गरी हप्ताको तीन दिन मात्र राखिएको छ यसमा छानविन गरेर दोषी उपर कारबाही गरी पुनः प्रत्यक दिन उडान गराउन सक्नु ।

चौथो चुनौतीः हप्तामा १७ वटा उडान भएको दिल्लीमा अझै उडान बढाउनुपर्नेमा झन घटाएर १४ मा झार्नुको कारण पत्ता लगाई उडान वृद्धि गर्नु ।

पाँचौ चुनौतीः निगमसँग भएको ७५७ विमान जनवरी १६ मा मलेशियाबाट मर्मत सकेर फर्किएको थियो । यत्रो लामो समयसम्म पनि एउटा उडान भर्न सकेको छैन । यसको कारण पत्तालगाई सम्बन्धित कमिसन खोरहरूलाई कारबाही गर्नसक्नु ।

छैटौं चुनौतीः डोमेस्टिक एयरका सात वटा विमान ग्राउन्डेट छन । ग्राउन्डेट विमानलाई उडानका लागि आवश्यक पहल गर्नसक्नु ।

सातौं चुनौतीः वाइडवडीबारे छानविन गर्न गठित लेखा समिति अन्तर्गतको उप–समितिले वाइडवडी खरिदमा भएको घोटालाबारे सार्वजनिक गरेको प्रतिवेदन ले गरेको कारबाहीको सिफारिस कार्यान्वयन गर्नसक्ने क्षमता राख्नु ।

आठौं चुनौतीः नेपालका सांस्कृतिक तथा पुरातात्विक सम्पदाको पुनर्निर्माण तथा संरक्षण नगरेको भन्दै युनेष्कोले तिनीहरूलाई खतराको सूचीमा राख्ने चेतावनीलाई चिर्नका लागि समयमानै पूर्न निर्माण तथा संरक्षण गर्नसक्नु ।

नवौं चुनौतीः पशुपतीनाथ र लुम्बिनी विकास कोषमा रहेको चरम बेथितिलाई समयमै सुल्झाउन सक्नु ।

दशौं चुनौतीः नेपाल भ्रमण वर्ष २०२० सुरु हुन अब जम्मा चार महिना मात्र बाँकी छ यो अवधिभित्र पूर्ण तयारी गरी २० लाख पर्यटक नेपाल भिœयाउने सरकारको लक्ष्य पूरा गर्न सक्नुपर्ने ।

एघारौं चुनौतीः कर्णालीको सौन्दर्यतालाई विश्व बजारमा बेच्न सक्ने ताकत राख्नसक्नु । अहिले कर्णालीलाई लगानीको आवश्यकता छ, कर्णालीले १० वर्षमा लगानीको एकसय प्रतिशत ब्याज सहितको साँवा फिर्ता गर्नसक्ने क्षमता तयार गर्नसक्छ । यस्को लागि आफन्तवाद र राजनीतिक घेरा भन्दा कैयौं गुणा माथि उठन सक्नुपर्दछ त्यो ल्याकत राख्नसक्नु ।

उल्लेखित चुनौतीका पर्खालहरूको घेराभित्र भएको मन्त्री भट्टराईको सपथले एउटा तरङ्गको सिर्जना गरेको छ, के उनको तस्विर मात्र मन्त्रालयको भित्तामा थपिने हो की साँच्चै उनले यस मन्त्रालयभित्र भएका बेथिति, भ्रष्टाचार, कमिशन, ढिला सुस्ती आदि जस्ता कार्यहरूमा सकारात्मक परिवर्तन गर्न सक्लान् ? यसको उत्तर भोलिको दिनमा प्रष्टिदै जाला । उनले कस्तो कार्य योजना निर्माण गर्छन् ? कार्ययोजना कार्यान्वयनको पद्दति कस्तो हुन्छ ? कार्ययोजना निमार्ण पूर्व आधारभूत सर्वेक्षण हुन्छ की हुँदैन ? कुन धरातलमा टेकेर उनको कार्ययोजना तयार हुन्छ ? उनको कार्ययोजनाले माथि उल्लेखित ११ वटा चुनौतीहरू लगायतका विषयहरू कसरी सम्बोधन गर्दछ भन्ने कुरा खुल्दुलीमा खेलिरहेको छ । तथापि यो खुल्दुली केही समयको अन्तरालमा मेटिएला ।

पछिल्लो समय हराउँदै गएको देशप्रेम नेतृत्वमा देखिएको द्वैद्व चरित्र, अवसरवाद, पदीय दुरूपयोग, नीतिगत भ्रष्टाचार जस्ता गतिविधिले समग्र राष्ट्र र राष्ट्रिय हितका कार्यहरूको धरातल निर्माण हुनसकेको छैन । कुनै पनि मन्त्रालयले दिगो विकासका लक्ष्यहरूलाई पहिल्याएको पाइदैन । समंग्रमा यो सरकारको गन्तव्यले सकारात्मक गोरेटो पहिल्याएको छैन । सिंगो सरकार नै कमजोर बैसाखी टेकेर हिँडिरहेको अवस्थामा भरखरै थपिएका मन्त्री भट्टराई आफ्नै खुट्टामा हिँड्न सक्लान भन्ने आशा त कमै छ । तथापि यही कम आशाभित्र नै उनको लागि सुन्दर अवसर पनि जोडिएको छ । यही अवसरको भरपुर प्रयोग गर्नसक्नु नै उनको क्षमता हो । यदि सकिन्छ भने राजनैतिक सिफारिषको आधारमा, पैसाको चलखेलको आधारमा वा नातागोताको आधारमा नभएर तठस्त भएर एक दिन पनि ढिला नगरी नेपाल वायुसेवा निगममा, नेपाल टूरिजम वोर्डमा, नागरिक उड्डयन प्राधिकरण लगायत यस मन्त्रालय अन्तर्गत पर्ने निकायहरूमा एक÷एक वटा कुलमान सिंङ घिषिङको खोजी गर्न सक्नुपर्दछ । आफ्नालाई भन्दा राम्राहरूको खोजी गर्नुहोस्, नेपालमै त्यस्तो क्षमतावान जनशक्ति यत्र तत्र छरिएर रहेका छन् । त्यस्तो सक्षम जनशक्तिको भरपुर प्रयोग गर्न सक्ने ताकत तपाईंको कार्यकालमा देख्न पाइयोस् । अहिले देशले त्यस्तो व्यक्तित्वको खोजी गरी रहेको छ जो आफ्नो व्यक्तिगत स्वार्थभन्दा, राजनैतिक स्वार्थ भन्दा, पारिवारिक घेराभन्दा कैंयौ गुणा माथि उठेको राष्ट्रको स्वार्थलाई शिरोपर गर्नसक्ने क्षमता भएको मित्तब्ययी एक राष्ट्र सेवक नागरिक । त्यो क्षमता मन्त्री भट्टराईमा रहोस् सफल कार्यकालको शुभकामना छ ।