पर्यटनमा लगानी

संघीय सरकारले नेपाल भ्रमण वर्ष २०२० सफल बनाउन विभिन्न अभियान सञ्चालन गर्दैछ । सोही अभियानलाई सफल बनाउन कर्णालीमा पनि विविध गतिविधि गरिदैछ । प्रदेशमा रहेका महत्वपूर्ण पर्यटकीय स्थलहरुलाई राष्ट्रिय र अन्तर्राष्ट्रिय गन्तव्यको रुपमा पहिचान गरिएको छ । यसरी पहिचन र वर्गीकरण गरिएका गन्तव्यस्थलहरुको प्रवद्र्धन र प्रचार लगायतका कार्य सञ्चालन गर्न प्रादेशिक पर्यटन प्रवद्र्धन समिति समेत गठन गरिएको छ । उक्त समितिले भ्रमण वर्ष लक्षित गरी योजनावद्ध रुपमा कर्णाली प्रदेशमा पर्यटन प्रवद्र्धनका गतिविधि सञ्चालन गर्नेछ ।

कर्णाली पर्यटकीय दृष्टिले उत्कृष्ट गन्तव्य हो । आन्तरिक तथा बाह्य पर्यटक आकर्षित गर्नसक्ने थुप्रै वस्तुहरु यहाँ छन् । मानवनिर्मित सम्पदाहरूदेखि ऐतिहासिक, पुरातात्विक सम्पदाहरु, धार्मिक सांस्कृतिक सम्पदाहरु, मनोरम र परम्परा झल्किने गाउँहरु, इतिहास, मौलिक तथा ऐतिहासिक सांस्कृतिक सम्पदा र परम्पराहरु, हिमाल, पहाड, तालतलैया लगायत थुप्रै पर्यटकीय गन्तव्य कर्णालीमा छन् । मुलुककै ठूलो रारातालदेखि एक ऐतिहासिक काँक्रेविहारसम्म यही छन् । हिमाली पदमार्गदेखि प्याराग्लाइडिङ र र्याफटिङ्गसहित जलपर्यटनको उत्तिकै सम्भावना छ ।

पर्यटकीय गन्तव्य र सम्भावनाका हिसाबले अगाडी रहे पनि पर्यटक आगमनको संख्याका हिसाबले भने कर्णाली पछि छ । पर्यटन प्रवद्र्धनका लागि एकीकृत प्रयास नै हुन नसक्दा यहाँको पर्यटन विकास अपेक्षाकृत रुपमा हुन सकेको छैन । सरकार र निजी क्षेत्रबीच उपयुक्त समन्वय नभएकै कारण यहाँको पर्यटनले गति लिन नसकेको हो । कर्णालीमा यस्ता सम्भावनाहरु छन् जसमा थोरै प्रयास गर्ने हो भने आफूसँग भएका असीमित सम्भावनाबाट ठूलो लाभ आर्जन गर्न सक्छ । यसका लागि संघीय, प्रादेशिक र स्थानीय तीनै तहका सरकार, पर्यटन व्यवसायी र सम्बद्ध क्षेत्रका समुदायबीच सहकार्य भने हुन जरुरी छ ।

कर्णालीको पर्यटन प्रवद्र्धन गर्न अहिलेसम्म गरिएको सबैभन्दा ठूलो कार्य रारा–कर्णाली पर्यटन वर्षको घोषणा हो । गत वर्षलाई प्रदेश सरकारले पर्यटन वर्षका रुपमा मनाउने घोषणा गरेका थियो । यद्यपि लक्ष्य अनुसार सफलता प्राप्त भएन । पर्यटन वर्ष घोषणा गरे पनि त्यसका लागि आवश्यक थप योजना बनाएर कार्यान्वयन गर्दा अभियान असफल हुन पुग्यो । त्यसैले अब पनि पर्यटकीय गन्तव्यहरुको पहिचान गरेर मात्रै हुँदैन । पहिचान गरिएका गन्तव्यहरुको विकास र प्रवद्र्धनमा ध्यान दिनुपर्दछ ।

आर्थिक रुपमा पिछडिएको र भौगोलिक रुपमा विकट कर्णालीमा पर्यटन उद्योग यहाँको आर्थिक विकासको महत्वपूर्ण आधारस्तम्भ बन्नसक्दछ । त्यसैले सरकारले निजी क्षेत्रसँगको सहकार्यमा पर्यटन विकासको विस्तृत योजना अघि सार्नु अपरिहार्य छ । ‘समृद्ध कर्णाली, सुखारी कर्णालीवासी’ बनाउने प्रदेश सरकारको लक्ष्य पूरा गर्न पनि पर्यटन उद्योग नै कर्णालीका लागि उपयुक्त माध्यम हो ।

प्रकाशित मितिः   २१ श्रावण २०७६, मंगलवार १५:५९