यसरी गर्न सकिन्छ तनाव व्यवस्थापन
तनाब एक मानसिक रूपमा रहने वजन हो । जस्तो मान्छेले आफ्नो अवस्था अनुसार भारी बोक्न सक्छ । आफ्नो क्षमता भन्दा बढी भारी बोके थेग्न नसकेर त्यही भारीले च्यापिन्छ । अनि ज्यानै गुमाउँछ । यो तनाव पनि यस्तै कुरा हो । भारी शारीरिक रूपमा बोक्ने भारी हो । तनाव मानसिक रूपमा बोक्ने भारी हो । क्षमता भन्दा बढी तनाव भए मान्छे आत्महत्या गर्ने गर्दछ । अझै भन्दा तनाव थेग्न नसक्दा आत्महत्याको बाटो रोज्ने गरिन्छ । अत्याधिक सोच्नु नै तनावको भारी बढ्दै जानु हो ।
एक सानो समस्या मानसिक तनावको रूपमा मानसपटलमा प्रवेश गर्दछ । त्यो सानो तनाव धेरै सोच्दा वा त्यो समस्यामा हराउँदा केही मान्छे अचेत हुन पुग्दछन् । त्यो मान्छेले आत्महत्या गर्न सक्दैन । ऊ पछि होशमा आउँदा पुरानै अवस्थामा ब्यूझिन्छ । त्यो मान्छे मर्दैन । कसै–कसैमा पूर्ण होस नगुमेर छटपटी हुने गर्दछ । के गरुँ, कसो गरुँ भन्दै छटपटी लाग्ने गर्दछ । त्यस्तो अवस्थामा कुनै उपाय उचित नदेखेपछि आत्महत्याको बाटो अङ्गाल्ने गर्दछ । मान्छेले कति सानो कुरामा आत्महत्या गर्यो भन्ने हुँदैन । मान्छेले त्यो समस्यालाई कति गहिराईमा गएर सोच्यो भन्ने कुरा हो ।
जस्तो कुनै मान्छेमा कुनै प्रकारको मानसिक रोग छैन । उसको शरिरमा सियोले सानो प्वाल पारे अत्याधिक दुख्छ । त्यही मान्छे प्रेममा निमग्न भएका बखत ब्लेडले हात र शरिर चिर्न डराउँदैन । त्यस्तै तनाव पनि मान्छेलाई मर्न सक्ने हिम्मत दिन्छ । तनाव मान्छेलाई मर्न सक्ने साहस दिन्छ । त्यसैले मान्छेले सजिल्यै निडर भएर आत्महत्या गर्न सक्छ । मान्छे त्यो प्रकारका तनावबाट बच्न सके अत्याधिक लाभ पनि उठाउन सक्छ । तनाव जिन्दगीको एक प्रगतिशिल पाटो पनि हो । यसले कि मर्न कि केही गर्न सिकाउँछ । यो मानव जीवनमा अत्यावश्यक कुरा हो ।
कुनै ठाउँमा पुगेको मान्छेले केही देख्छ । केहि लेख्छ । केही बुझ्छ । अनि फर्किन्छ । कोही फर्कदैनन् । आत्महत्या आफैमा एक अपराध हो । आपराध गर्न चाहने मान्छेलाई त्यो न्याय लाग्छ । अपराध लाग्दैन । त्यसैले आत्महत्या हुन्छ । मान्छेको एउटा अन्तिम बिन्दु अवश्य हुन्छ । त्यसमा पुग्ने बेलासम्म लगभग ९५ प्रतिशत भन्दा बढि मान्छेलाई कुनै न कुनै समयमा । कुनै न कुनै अवस्थामा आत्महत्या गर्ने चाहाना हुन्छ । धेरै मान्छे त्यो अवस्थाबाट बच्दछन् । केही मानिसहरू बच्न सक्दैनन् अनि आत्महत्या गर्दछन् ।
केही गर्छु भन्ने जाश भएकामा जब केही गर्न सकिन्न भनेर निरुत्साहित गरिन्छ । कुनै मूल्यवान वस्तु गुमाउँछ । कसैबाट पीडित हुन्छ । पहिलो पटक वा पटक पटक असफल हुन्छ । आफ्नो भन्ने कोही छ जस्तो लाग्दैन । आफुले गरेको सानो वा ठुलो कुनै गल्तिबाट आफै तैरिन सक्दैन । आफ्नो गल्तीबाट पश्चाताप बढी हन्छ । यस्ता प्रकारका समस्याको बेला ऊ बढी फुर्सदिलो भएमा आत्महत्या गर्ने गर्दछन् ।
जब मान्छेमा अत्याधिक तनाव हुन्छ तब काम छोड्ने । एक्लै कोठामा बस्न चाहने । कसैसँग भेट्न बोल्न नचाहने गर्दछन् जुन मानसिक रूपमा गलत हुन पुग्दछ । एक्लै बसेमा, व्यस्त नभएमा धेरै सोच्दा गलत निर्णय लिन पुग्दछन् । त्यो नै आत्महत्याको प्रमुख कारण हो । आत्महत्या व्यस्तता भन्दा फुर्सदमा बढी हुन सक्छ । कुनै घटनाहरू । आफुले गरेका गल्तिहरू । आफूमा भएका अन्यायहरू । मानसपटलमा जिवित रहन्छन जबसम्म मान्छे फुर्सदमा हुन्छ । आत्महत्या गर्ने सम्भावना अधिक हुन्छ । नेपालमा आत्महत्या गर्नेको सङ्ख्या बढ्दै जानुको एउटा प्रमुख कारण बेरोजगारी पनि हो भन्न सकिन्छ ।
आजभोलि मान्छेमा आत्महत्या गर्नुको कारण अत्यन्त सानो हुन्छ । प्रायः सानो कुरामा आत्महत्या गर्नेमा बच्चादेखि अबिबाहित मान्छे धेरै हुन्छन् । त्यसको खास कारण छन् । सानो समस्या आउँछ । सानो कुरा सोच्दा सोच्दै ऊ गहिराईमा पुग्छ । मात्र सोचाइमा समस्या बन्छ । बाटाहरू घुमाउदै लैजान्छ । सोचाइमा जति बाटाहरू घुमाउछ उतिनै मृत्युको बिकल्प देख्दैन । सोचाइमा मृत्युसम्म पुग्नु भनेको नै आत्महत्या गर्नको लागि मानसिक रूपले पुर्ण रूपमा मर्न तयार भएको बुझ्न सकिन्छ ।
अत्याधिक तनाव भएमा त्यसलाई कम पनि गर्न सकिन्छ । अत्याधिक तनाव बनाउने समस्यालाई सानो सम्झिनु पर्दछ । जस्तो यस्ता प्रकारका समस्या सामान्य हुन आउँछन र समाधान पनि हुन्छन् भन्ने सोच्नु पर्दछ । सकेसम्म आफुलाई जन्मदिने आमासँग कुरा गर्नु तनाब कम गर्ने सबै भन्दा उत्तम उपाय हो । सकिन्छ आम्नेसामुने भएर । सकिदैन फोनबाट भए पनि बोल्नु पर्दछ । आमा बाबासँग जन्म दिने क्षमता मात्रै हुँदैन । उहाँहरूको बोलिमा जीवन दिने सामथ्र्य पनि रहेको हुन्छ । आमा नभएको अवस्थामा बाबा, दिदी, भिनाजु वा आफुलाई धेरै माया गर्ने वा आफुले धेरै माया गर्ने कुनै आफन्तसँग कुरा गर्नु पर्दछ । यसले आफुमा जागेको आत्महत्याको विचारलाई निरुत्साहित बनाउँछ । तनाव पुर्ण रूपमा नसकिए पनि तनाव निर्मुल पार्न सक्ने बाटाहरू भेटिन्छन् ।
अर्को कुरा मान्छेले जति धेरै सोच्यो उति नै जटिल अवस्था आउँदछ । त्यसैले सोच आउन नदिन व्यस्त रहनु पर्दछ । घुम्न जानु पर्दछ । साथिहरूसँग भेटघाट गरी रमाइलो गर्न सक्नु पर्दछ । दिमागमा चलिरहेको तनावबाट पुर्ण रूपमा आफै अछुतो बस्न सक्नु पर्दछ । समस्यालाई सोच्नु भन्दा सोचाइ आउन नै नदिनु उचित हुन्छ । यो मेरो व्यत्तिगत जीवनमा भएका घटनाबाट प्राप्त अनुभवबाट साभार गरेको हुँ । विभिन्न समस्या र तनाबबाट ग्रसित हुँदा एक पटक नभएर पटक पटक आत्महत्याको अवस्थासम्म पुगेर पुनः पुरानै अवस्थामा पुगेर जीउन सफल भएको छु । यिनै अनुभवहरूबाट मलाई लाग्छ ठुलै प्रकारका समस्याले पनि मलाई छुन सक्दैनन् । तपाईहरूलाई पनि यो पढेर केहि राहत अवश्य मिल्ने छ भन्ने अपेक्षा गरेको छु ।
(नारायण नगरपालिका–७, दैलेख निवासी लेखक हाल वीरेन्द्रनगर–७ इत्राममा बस्दै आएका छन् ।)
प्रकाशित मितिः २१ श्रावण २०७६, मंगलवार ११:३५
साझा बिसौनी ।