रारा नाटक महोत्सवको आय–व्यय सार्वजनिक

सुर्खेत, गत फागुन २३ गतेदेखि २९ सम्म वीरेन्द्रनगरमा सञ्चालन भएको रारा राष्ट्रिय नाटक महोत्सको आम्दानी तथा खर्चको विवरण सार्वजनिक गरिएको छ । आरङ्ग नेपाल सुर्खेतले शुक्रवार वीरेन्द्रनगरमा पत्रकार सम्मेलन गरेर आम्दानी तथा खर्च विवरण सार्वजनिक गरेको हो ।
महोसत्समा ३१ लाख ४१ हजार ६ सय ७४ रूपैयाँ बराबरको आम्दानी तथा खर्च विवरण सार्वजनिक गरिएको छ । त्यस मध्ये आरङ्ग नेपालले १५ लाख ९१ हजार पाँचसय २२ रूपैयाँ स्थानीयस्तरमै स्रोत जुटाएको थियो । त्यसबाट महोत्सवमा खानबस्न, नाट्य समाग्री, इन्धन लगायतमा १३ लाख २१ हजार पाँच सय २२ रूपैयाँ खर्च भएको छ भने दुई लाख ७० हजार रूपैयाँ बचत रहेको छ ।
सातै प्रदेशबाट आएका कलाकारहरूका लागि यातायात खर्च, प्रमाणपत्र लागयत अन्य खर्चका लागि सांस्कृतिक संस्थान काठमाडौंले व्यवस्थापन गर्ने भने अनुसार १५ लाख ५० हजार एक सय ५२ रुपैयाँ यातायतमा खर्च भएको छ । महोत्सव अवधिभर १० हजारले अवलोकन गरेको जनाइएको छ । स्थानीय व्यवस्थापन खर्चमा आफूहरूले व्यवस्थापन गरेको र त्यसबाट केही रकम बचत भएको आरङ्ग नेपालका अध्यक्ष गशेणभक्त गौतमले जानकारी दिए । महोत्सवका कारण मोफसलमा हुँदै आएको रंगकर्म गतिविधिलाई केन्द्रसम्म जोडी नेपाली रंगमञ्चको प्रवद्र्धनमा सहयोग पुगेको अध्यक्ष गौतमको भनाइ छ ।
महोत्सवबाट बचेको रकमले सुर्खेतमा नाटक घर निर्माणमा सघाउने उनले बताए । ‘नाटक महोत्सवले कर्णाली प्रदेशलाई नाटकका माध्यमबाट एक ठाउँको कला, संस्कृतिलाई अर्को ठाउँका मानिसले हेर्ने र बुझ्नुका साथै रंगमञ्चीय प्रवद्र्धनमा यस प्रदेशको योगदान स्थापित गराउन सफल भएको छ’ उनले भने, ‘यसमा सहयोग गर्ने सबै सरोकारवाला निकायप्रति हामी आभारी छौं ।’

प्रकाशित मितिः   १८ श्रावण २०७६, शनिबार १३:२८