सांसद खड्काद्वारा सहयोग
सुर्खेत, सांसद पद्मा खड्काले पत्रकार डिलप्रसाद शर्माको उपचारका लाग आर्थिक सहयोग गरेकी छिन् । उनले बुधवार शर्मा कार्यरत साझा बिसौनी पब्लिकेशन अन्तर्गतको साझा बिसौनी फाउण्डेशनलाई १० हजार रूपैयाँ प्रदान गरेकी हुन् ।
कर्णाली प्रदेशसभा सदस्य खड्काले पत्रकार शर्माको जीवनरक्षाका लागि आफ्नोतर्फबाट केही रकम सहयोग गरेको बताइन् । उनले सबैको सहयोगबाट कसैको ज्यान जोगिनसक्ने भएकाले सबैले सक्दो सहयोग गर्नसमेत आग्रह गरिन् । उनले थप सहयोग जुटाउनका लागि पहल गर्ने प्रतिबद्धता समेत जनाइन् ।
साझा बिसौनी दैनिकका संवाददाता शर्माको बोनम्यारो प्रत्यारोपणका लागि आर्थिक अभाव भएपछि सहयोग संकलन भइरहेको छ । यसैक्रममा बुधवार साझा बिसौनी फाउण्डेशनले थप ४४ हजार सात सय ५२ रूपैयाँ संकलन गरेको छ । शर्माको उपचारार्थ वीरेन्द्रनगरमा रहेको क्वीक कम्प्युटर सोलुसनका सञ्चालक धर्मु भण्डारीले नगद पाँच हजार पाँच सय ५५ रूपैयाँ सहयोग गरेका छन् । यस्तै होटेल सिटीभ्यूबाट पनि पाँच हजार पाँच सय ५५ रूपैयाँ प्राप्त भएको साझा बिसौनी पब्लिकेशनका प्रबन्ध निर्देशक कृष्णप्रसाद रेग्मीले जानकारी दिए । उनका अनुसार जागरण एफएममा कार्यरत पत्रकार अनिल चौधरीले पाँच हजार पाँच सय पाँच, सुर्खेत उद्योग वाणिज्य संघका कार्यसमिति सदस्य दिपक खड्काले पाँच हजार, पत्रकार मञ्जुल अधिकारीले तीन हजार, नविन बुक्सका सञ्चालक चेतन कँडेलले दुई हजार पाँच सय र पत्रकार टेकराज केसीले एक हजार एक सय ११ रूपैयाँ प्रदान गरेका छन् ।
त्यसैगरी वीरेन्द्रनगर सहकारीमा कार्यरत योगेन्द्र भण्डारीले दुई हजार, व्यवसायी तपेन्द्रबहादुर शाहीले एक हजार एक सय ११, शेरबहादुर खड्काले एक हजार एक सय, युवा अभियन्ता हरि उपाध्यायले एक हजार एक सय, वीरेन्द्रनगर–४ निवासी आत्माराम भारतीले पाँच सय ५५, मिनु अधिकारीले पाँच सय ५५ रूपैयाँ प्रदान सहयोग गरेका छन् । यो सँग साझा बिसौनी फाउण्डेशनले बुधवारसम्म शर्माको उपचारका लागि दुई लाख २८ हजार ६ सय ६३ रूपैयाँ संकलन गरेको छ । यसबाहेक नेपाल पत्रकार महासंघ सुर्खेत शाखाले एक लाख ४२ हजार सात सय तथा मध्यपश्चिमाञ्चल विश्वविद्यालयमा पत्रकारिता अध्ययनरत विद्यार्थी र दैलेखी विद्यार्थी एकता समाजले संयुक्त रूपमा एक लाख २५ हजार एक सय ६५ रूपैयाँ संकलन गरेका छन् । पत्रकार शर्माको बोनम्यारो प्रत्यारोपणका लागि काठमाडौंस्थित सिभिल हस्पिटलमा भर्ना गरिएको छ ।
साझा बिसौनी संवाददाता ।