एक वर्षमा ९६ सिँचाइ आयोजना सम्पन्न

सुर्खेत, कर्णाली प्रदेशको भूमि व्यवस्था, कृषि तथा सहकारी मन्त्रालयले आफ्नो एक वर्षको प्रगति सार्वजनिक गरेको छ । आर्थिक वर्ष २०७५/०७६ मा कृषि पूर्वाधार, कृषि सडक, कृषि सिँचाइ, कृषि उपज संकलन केन्द्र, हाटबजार बनाइएको मन्त्रालयले जनाएको छ । बुधवार वीरेन्द्रनगरमा आयोजना गरिएको प्रगति समीक्षा कार्यक्रममा मन्त्रालयका प्रवक्ता हरिप्रसाद पण्डितले मन्त्रालयको चालुतर्फ ९० प्रतिशत र पूँजीगततर्फ ६८ दशमलब ९२ प्रतिशत प्रगति भएको जानकारी दिए ।

मन्त्रालयले एक वर्षमा ९६ वटा सिँचाइ आयोजना सम्पन्न गरेको छ । जसबाट तीन सय ५३ हेक्टरमा सिँचाइ उपलब्ध भएको मन्त्रालयले प्रगति प्रतिवेदनमा उल्लेख गरिएको छ । यस्तै ८९ वटा कृषि सडक निर्माण सम्पन्न भएका छन् । मन्त्रालयका अनुसार दुई सय २० किलोमिटर सडक विस्तार गरिएको छ ।

१० वटा कृषि उपज संकलन केन्द्र र हाटबजार निर्माण भएको छ । ५२ वटा कृषि पकेट क्षेत्र बनाएर स्याऊ, ओखर, सुन्तला, आँप, लिची, केरा, कपास, आलु, सिमीलगायतको खेती भइरेहेको प्रवक्ता पण्डितले बताए ।

पकेट क्षेत्रको विस्तार र प्रवद्र्धन गरी कृषि तथा पशुपंन्छीको क्षेत्रको उत्पादन, उत्पादकत्व वृद्धि गर्नको लागि पशुपंक्षीतर्फ ४५ वटा पशुपंशी पकेट क्षेत्र तोकेर भैंसी, बाख्रा, चौर र माछापालनमा प्रोत्साहन कार्यक्रम सञ्चालन गरेको छ । मन्त्रालयले प्रदेशका दशै वटा जिल्लाका एक–एक पालिकामा कृषि मोडल कार्यक्रम र किसान हातेमालो कार्यक्रम सञ्चालन भएको जनाएको छ । यस्तै मन्त्रालयले सहकारी विद्ययेक प्रदेशसभाबाट पारित गरिसकेको छ । मन्त्रालयले कर्णाली प्रदेश जग्गा प्रशासन सम्बन्धी विधेयक, पशु सेवा तथा पशु स्वास्थ्य विधेयक, जलचर संरक्षण विधेयक, माटो तथा मल व्यवस्थापन सम्बन्धी विद्येयक, जिवनाशक विषादी सम्बन्धी विद्येयक, २०७५ र कृषि व्यवसाय प्रवद्र्धन सम्बन्धी विद्येयक, २०७५ को प्रारम्भिक मस्यौदा तयार गरिएको जनाएको छ ।

प्रकाशित मितिः   १६ श्रावण २०७६, बिहीबार १६:१२