समाजवादका लागि अनिवार्य शिक्षा

हामी सबै मानिसहरूको मस्तिष्क विकासमा प्रारम्भिक शिक्षाले अत्यन्तै महत्वपूर्ण भूमिका निर्वाह गर्छ । बाल्यकालमा सिकेका गुणहरू हामीले विस्तारै अनुसरण गर्दै जान्छौं, त्यो अबस्थामा हाम्रो मस्तिष्क काँचो माटो जस्तै हुन्छ । सिर्जनात्मक वातावरणको व्यवस्था भयो भने मात्र बालवालिकाहरूले थुप्रै राम्रा कुराहरू सिक्न सक्छन् । बच्चाहरूको पहिलो पाठशाला घर मानिन्छ, परिवारका सदस्यहरूबाट नै बच्चाहरूले आफ्नो व्यवहार विकास गर्दै जान्छन् ।

केही समय यता नेपालमा प्रारम्भिक बाल्यकाल शिक्षाप्रति लहर देखिएको छ । सानै उमेरमा बच्चाहरूलाई प्रिस्कूल, प्रि–किन्डरगार्डेन, डेकेयर, नर्सरी स्कुल आदि केन्द्रहरूमा भर्ना गर्ने प्रचलन कायम भएको छ । विभिन्न नामहरूबाट संचालमा आएका यस्ता थुप्रै केन्द्रहरू सबैको उद्देश्य एउटै छ, बच्चाहरूलाई प्राथमिक स्कुलको लागि तयार गर्नु । तीनदेखि पाँच वर्ष बीचका बच्चाहरूको लागि यस्ता केन्द्रहरू स्थापना भएका छन् । ती केन्द्रहरूमा लगभग शतप्रतिशत निजी क्षेत्रको लगानी छ, जहाँ करिब १० देखि १५ प्रतिशत बालबालिकाहरू मात्र अध्ययन गरिरहेका छन् । बाँकी ८० प्रतिशतभन्दा धेरै बालबालिकाहरू पढ्ने सामुदायिक विद्यालयहरूमा नेपाल सरकारले यस्ता केन्द्र निर्माणमा खासै चासो देखाएको छैन । यस्तो असमान खालको शैक्षिक पद्दतिको अन्त्य गर्दै सबै बालबालिकाहरूलाई निःशुल्क प्रि–स्कुलको स्थापना गर्न सरकारले ढिलो गर्नु हुँदैन, नत्र आगामी दिनहरूमा असमानताको खाडल गहिरिएर जानेछ ।

प्रारम्भिक बाल्यकाल शिक्षाका लागि खोलिएका प्रि–स्कुल, प्रि–किन्डरगार्डेन, डेकेयर, नर्सरी स्कुल आदि केन्द्रहरूमा भर्ना भएका बच्चाहरू सरकारी स्कुल जाँदैनन्, बाँकी शिक्षाका लागि उनीहरूको रोजाइमा निजी स्कुलहरू पर्दछन् । सानो उमेरदेखि नै यस्ता केन्द्रहरूले बालबालिकाहरूमा प्रतिस्पर्धाको भावना उत्पन्न गरिदिएका छन् । एक जना दिदीले मलाई आफ्नो डेरामा बोलाएर ‘तिमी त विद्यार्थी नेता हौं, मेरो नानु सेन्ट जेभियरमा भर्नाको लागि प्रवेश परीक्षा दिन लाकी छन् भनसुन गरिदिन पर्यो’ भनेर भनेपछि म झसँग भएँ । सेन्ट जेभिएरमा कक्षा १ मा भर्ना हुनका लागि प्रवेश परीक्षा दिने बच्चाहरू टोलमा थुप्रै रहेछन् । प्रवेश परीक्षा बच्चा मात्र नभएर अभिभावकका लागि पनि प्रतिष्ठानको विषय बनाएर परिचर्चा हुँदो रहेछ । प्रि–स्कुलहरूले वार्षिक रूपमा सेन्ट जेभिएर लगायतका महंगा शैक्षिक संस्थाहरूमा लिइएको प्रवेश परीक्षामा उत्तीर्ण योग्य बनाएको संख्या देखाएर अभिभावकहरूलाई प्रभावित पारिरहेका छन् ।

शिक्षाले समाजलाई समानता र आपसी सद्भाव कायम गर्न सिकाउनुको सट्टा तुलना गर्न सिकाउने कुरा स्थापित हुनै दिनु हुँदैन । बच्चाहरूलाई नैतिकवान, क्षमतावान, सामूहिक भावना र ज्ञानले वतप्रोत बनाउने भन्दा महंगो शुल्क लिने स्कुलहरूमा भर्ना गरेर आत्मरती गर्ने अभिभावकहरूको संख्या उल्लेखनीय मात्रामा छ । पूँजीवादी सामाजिक चिन्तन र संरचनाका कारण अभिभावकहरूले सानका लागि मात्र भए पनि आफ्ना बच्चाहरूलाई रातो बंगला, युरो स्कुल आदि महंगा संस्थाहरूमा भर्ना गरिदिन्छन् । यसरी शैक्षिक व्यापारले व्यापकता पाउँदै गएको छ, जानी नजानी हामी शिक्षालाई व्यापार गर्नुपर्ने बाध्यताको अन्त्य संविधानमा लेखिए पनि व्यवहारिक रूपमा सरकारका नीति तथा कार्यक्रमहरूमा देखिनुपर्छ । साथै अभिभावहरूले पनि आफ्ना बच्चाहरूलाई समाजको रूपान्तरणको लागि अभिप्रेरित गर्नुपर्छ, उनीहरूलाई सामूहिकतामा रमाउने वातावरणको सिर्जना गरिदिनुपर्छ ।

शिक्षा बच्चाहरूको भविष्यको जग मात्र होइन ,यसले बच्चाहरूलाई थुप्रै प्रकारका चुनौतीबाट टाढा राखिरहेको हुन्छ । बालबालिकाहरू शैक्षिक संस्थाहरूमा सुरक्षित हुन्छन्, शैक्षिक संस्थाहरूले उनीहरूलाई घरेलु हिंसा, बाल श्रम र विभिन्न प्राकृतिक प्रकोपहरूबाट टाढा राख्न मद्दत पुग्छ । हामीले हाम्रा शैक्षिक संस्थाहरूलाई कक्षा कोठामा मात्र सीमित गर्नु हुँदैन, पढाइ लेखाइ र व्यवहारिक सिकाइ महत्वपूर्ण भए पनि पोषणयुक्त भोजन, पानी, सरसफाइ र स्वास्थ्य सेवाहरू पनि उपलब्ध गराउनु अपरिहार्य छ । विद्यालयहरूले स्थायित्व, दिगो संरचना र नियमित दिनचर्यालाई ध्यान पु¥याउने हो भने बच्चाहरूले दिनहुँ सामना गर्ने हानी, डर, तनाव र हिंसा आदि सबै चुनौतीहरूलाई निस्तेज पार्न सकिन्छ । सरकारी तथ्यांक अनुसार कक्षा १ मा भर्ना भएका करिब १२ लाख बालबालिकाहरू मध्य १० सम्म आइपुदा जम्मा चार लाख मात्र एसईई परीक्षामा सामेल हुन्छन् । आधारभूत आवश्यकता पूरा गर्न नसक्ने जटिल अवस्था सिर्जना भएपछि १० कक्षा नपुदै करिब ८ औं लाख बालबालिकाहरूको एउटा योग्य र क्षमतावान नागरिक बन्ने सपना तुहिदै गएको छ, ती लाखौं बालबालिकाहरूको सपनासँगै मुलुकको विकास र समृद्धि हासिल गर्ने लक्ष्य पनि टाढिदैं गएको छ ।

शिक्षा भनेको असमानता तोड्दै गरिबीकोविरुद्ध लड्ने सबैभन्दा शक्तिशाली हतियार हो । हरेक समाजमा शिक्षाले समृद्धि र शान्तिको बाटो प्रदान गर्दछ । शिक्षाले मानिस र समाजको उत्तम भविष्यका लागि आवश्यक आधारशीला निर्माण गर्न सक्नुपर्छ । शिक्षाको गुणस्तर र पहुँच दुवैमा लगानी वृद्धि गर्न सरकार अग्रसर भएको खण्डमा मात्र दाताहरूमा पनि उत्साहित हुन्छन् । सरकारले भौगोलिक, जातीय तथा अन्य रूपमा प्रभावित समुदायमा बस्ने बच्चाहरूका लागि रचनात्मक र लचिलो शिक्षा अवसरहरू अपनाउनु आवश्यकता छ । शैक्षिक संस्थाहरूबाट हासिल गरेका सीपहरू र स्थानीय बजारलाई जोडेर रोजगारीको सुनिश्चित गर्न आवश्यक छ तब मात्र शिक्षण संस्थाहरूप्रति विश्वास बलियो बनाउन सकिन्छ । युवाहरूलाई केवल औपचारिकताका लागि मात्र पढ्ने भन्दा पनि डिजिटल सञ्चार, उद्यमशीलता र टेक्नोलोजीसँग परिचित बनाउनुपर्छ । युवाले सिकेका आधुनिक सीपहरू अर्को पुस्तालाई सहज रूपमा ट्रान्सफर गर्ने वातावरणको सिर्जना गर्न स्थानीय सरकारले पहल गर्नु आवश्यक छ ।

हाम्रो संविधानले समाजवाद उन्मूख राज्य व्यवस्थाको परिकल्पना गरेको छ । निःशुल्क र गुणस्तरीय शिक्षा समाजवादी राज्य निर्माणको महत्वपूर्ण आधार हो । हामीले अहिलेको नेपाली समाजलाई रूपान्तरण गर्नका लागि आलोचनात्मक सोच, बहस र वैज्ञानिक विधि सबैभन्दा महत्वपूर्ण छ जसका लागि सबै बालबालिकाहरूलाई अनिवार्य शिक्षाको पहुँचमा पु¥याउनै पर्छ । त्यसकारण हामी प्रत्येक नागरिक वास्तविक प्रगतिशील सुधारको लागि संघर्षमा उत्रिनुको विकल्प छैन । जसले हाम्रा विद्यालयहरूमा सबै बालबालिकाको पहँुच स्थापना गर्नेछ । केही सीमित मान्छेको नाफाभन्दा समाजको आवश्यकताको आधारमा सैक्षिक संस्था र कार्यक्रमहरू ल्याउने समाजवादी शिक्षा प्रणाली विकास गर्न राज्य गम्भीर बनोस् ।

प्रकाशित मितिः   १६ श्रावण २०७६, बिहीबार १६:०९