नगर महासंघमा थापा

सुर्खेत, नेपाल घरेलु तथा साना उद्योग महासंघ वीरेन्द्रनगर नगरसमितिको अध्यक्षमा शक्तिबहादुर थापा चयन भएका छन् । आइतवार महासंघको प्रथम वार्षिक साधारण सभा तथा नगर अधिवेशनबाट थापा अध्यक्षमा चयन भएका हुन् ।

त्यस्तै वरिष्ठ उपाध्यक्षमा धनबहादुर बुढा, उपाध्यक्षमा ललिता ढकाल, महा–सचिवमा डम्बर रोकाय, कोषाध्यक्षमा हरिलाल जैसी चयन भएका छन् । त्यस्तै सदस्यहरूमा लक्ष्मी केसी, जितेन्द्र थापा, केशरसिंह दमाई र भानुभक्त खड्का चयन भएका हुन् ।

यसैबीच आइतवार नै नगर महिला उद्यमी सम्मेलनसमेत वीरेन्द्रनगरमा सम्पन्न भएको छ । महिला उद्यमी समितितर्फ अध्यक्षमा नन्दकला नेपाली, वरिष्ठ उपाध्यक्षमा लक्ष्मीकुमारी उपाध्यय, उपाध्यक्षमा केदारकुमारी केसी, महा–सचिवमा जानकी शर्मा र कोषाध्यक्षमा तेजकुमारी चन्द निर्वाचित भएका छन् ।

कार्यक्रममा प्रमुख अतिथिको रूपमा वीरेन्द्रनगर नगरपालिकाका नगरप्रमुख देवकुमार सुवेदीको उपस्थिति रहेको थियो । नव–निर्वाचित कार्य समितिलाई बधाइ दिँदै प्रमुख सुवेदीले नगरभित्रका घरेलु तथा साना उद्यमीहरू एकजुट भएर लाग्नुपर्ने बताए । उनले सबै उद्यमीहरूको अधिकारको लागि महासंघले काम गर्नुपर्नेसमेत बताएका छन् । काम गर्नेहरूलाई आफूले सहयोग गरेरै अगाडि लैजाने प्रतिबद्धता प्रमुख सुवेदीको रहेको छ ।

त्यस्तै नवनिर्वाचित अध्यक्ष शक्ति थापाले वीरेन्द्रनगर नगरपालिकाभित्र नयाँ उद्यमीहरू उत्पादन गर्नेगरी काम गर्ने बताएका छन् । उनले उद्यमको विकास नभएसम्म आर्थिक समृद्धि नहुने भन्दै नगरभित्रका नागरिकलाई उद्यममा जोड्ने प्रतिबद्धता व्यक्त गरेका छन् ।