पत्रकार शर्मा बचाऔं अभियान सुरु
सुर्खेत, नेपाल पत्रकार महासंघ सुर्खेत शाखाले ‘पत्रकार डिलप्रसाद शर्मा बचाऔं’ अभियान सुरु गरेको छ । बोनम्यारोबाट पीडित पत्रकार शर्माको उपचारका लागि सहयोग संकलन गर्न महासंघले उक्त अभियानको सुरुवात गरेको हो ।
सहयोग संकलनका लागि सेञ्चुरी बैंकको वीरेन्द्रनगरस्थित शाखामा खाता सञ्चालन गरिएको छ । आर्थिक सहयोग गर्न चाहनेहरूले ‘पत्रकार डिलप्रसाद शर्मा बचाउ अभियान’ नाममा रहेको खाता नं. ०८८००००५१८sr मा रकम जम्मा गर्न सकिने महासंघका अध्यक्ष गणेशकञ्चन भारतीले जानकारी दिए ।
यसैगरी महासंघ आफैले पनि शर्माको उपचारका लागि आर्थिक सहयोग प्रदान गरेको छ । महासंघले ५० हजार रूपैयाँ उक्त खातामा जम्मा गरेको अध्यक्ष भारतीले जनाए । उनका अनुसार महासंघका पदाधिकारी र अन्य व्यवसायीहरूले समेत व्यक्तिगत रूपमा आर्थिक सहयोग गरेका छन् । जसबाट थप ५७ हजार दुई सय २१ रूपैयाँ संकलन भएको छ । त्यस्तै संसदीय मामिला पत्रकार समाज सुर्खेतले पनि शर्माको उपचारका लागि संस्थागत रूपमा २५ हजार रूपैयाँ सहयोग गर्ने घोषणा गरेको छ ।
यसैबीच साझा बिसौनी पब्लिकेशन प्रा.लि अन्तर्गतको साझा बिसौनी फाउण्डेशनले पनि शर्माको उपचारका लागि आर्थिक सहयोग संकलन सुरु गरिसकेको छ । फाउण्डेशनले शनिवार एक लाख ११ हजार एक सय ११ रूपैयाँ प्रदान गर्दै सहयोग संकलनको सुरुवात गरेको थियो । शर्मा साझा बिसौनी दैनिकका संवाददाता हुन् । संकलन हुने रकम नेपाल पत्रकार महासंघले सञ्चालनमा ल्याएको ‘पत्रकार डिलप्रसाद शर्मा बचाऊ अभियान’मार्फत् उनलाई प्रदान गरिने पब्लिकेशनका अध्यक्ष गोपी अधिकारीले बताए । बोनम्यारो प्रत्यारोपणका क्रममा रहेका शर्माका लागि आर्थिक सहयोग गर्न चाहनेहरूले साझा बिसौनी दैनिक तथा नेपाल पत्रकार महासंघ सुर्खेत शाखामार्फत् सहयोग गर्न सक्नेछन् । शर्माको बोनम्यारो प्रत्यारोपणका लागि आर्थिक अभाव भएपछि सहयोग संकलन गर्न थालिएको हो ।
प्रकाशित मितिः १३ श्रावण २०७६, सोमबार १७:१२
साझा बिसौनी संवाददाता ।