गंगाको तीरमा जमुनाको बाल्यकाल

जमुनादेवी गौली वीरेन्द्रनगर–६ मा रहेको मदरसा फैजुल आधारभूत विद्यालयकी प्रधानाध्यापक हुन् । वि.सं. २०२६ भदौ २० गते बुबा नामराज शर्मा पाण्डे र आमा विष्णुदेवी शर्मा पाण्डेको सन्तानको रूपमा भारतको उत्तराखण्डमा रहेको हरिद्वारमा जन्मिएकी गौलीले आफ्नो बाल्यकालको सम्झना हाम्रा सहकर्मी मुना हमालसँग यसरी साटिन्ः

गंगाजीको तिरमा बाल्यकाल बित्यो । मेरो परिवार बसाइँ सरेर यहाँबाट भारत जानुभएको थियो । दाइबाहेक हामी चारबहिनी उतै जन्मियौं । चारबहिनीमध्ये म माइली छोरी । एक जना दाई हुनुहुन्छ ।

मेरो बाल्यकाल एउटा धार्मिक स्थानमा बित्यो । गंगा नदी नजिकै थियो । त्यही खेलेर रमाएर बित्यो । हरिद्वार धार्मिक स्थलले प्रसिद्ध ठाउँ हो । म धार्मिक संस्कृति मै हुर्किएँ । त्यहाँ बुबाको जागिर थियो । सुविधाका हिसाबले यहाँभन्दा हरिद्वार राम्रो थियो । हाम्रो पढाइका लागि पनि बुबाले उतै बस्नुभयो ।

धार्मिक आस्था भएको ठाउँ भएकाले पनि पारिवारिक माहोल पनि उस्तै थियो । बुबाआमा धार्मिक आस्था बोकेको मान्छे । ठाउँले पनि प्रभाव पा¥यो । त्यसैले ममा पनि धार्मिक आस्था थियो । बुबाले आफै पनि मन्दिर बनाउनुभएको थियो । बिहान उठ्ने बित्तिकै नुहाउनुपथ्र्यो । अनि पूजापाठ गर्नुपथ्र्यो । यो काम हाम्रो अनिवार्य थियो । बिहान नुहाइ–धुवाइ गरेर पूजा नगरेसम्म बुबाले त चिया खान दिनुहुन्थेन । सानैदेखि पूजापाठ गर्ने, अरुलाई नराम्रो गर्नु हुँदैन । संस्कारमा रहनुपर्छ भनेर सिक्न पाएका थियौं ।

दाई नेपालमै बस्नुहुन्थ्यो । बुबा–आमासँग हामी चारबहिनी बस्दथ्र्यौं । हामीले पढाइसँगै घरको काममा पनि सघाउनुपर्ने हुन्थ्यो । बुबा जागिरकै काममा व्यस्त हुने भएकाले आमालाई हामीले सघाउनुपर्ने । त्यसमाथि आमा बिरामी भइरहने । हामी चारबहिनीको काम बाँडफाँड हुन्थ्यो । बिहान उठेर कसैले खाना पकाउने, कसैले खाजा र कसैले मन्दिर सफा गर्नुपथ्र्यो । घरको सबै काम भ्याएर स्कुल पढ्न जान्थ्यौं । पढाइमा राम्रै थियो । कहिले पनि असफल भइनँ ।

त्यहाँ प्रायः बिहानको समयमा स्कुल हुन्थ्यो । बिहान खाजा खाने र दिउँसोको समयमा खाना खाने समय हुन्थ्यो । हामी बिहान स्कुल गएर दिउँसो आउँथ्यौं । नजिकै गंगा नदी थियो । त्यहाँ नुहाएर आएर मात्र खाना खान्थ्यौं । आमाले धेरै नदीमा जान दिनुहुन्थेन । हामी दिउँसो आउँदा आमा सुतेको हुनुहुन्थ्यो । झोला राखेर नुहाउन गइहाल्थ्यौं । उहाँ नउठ्दै हामी नुहाएर आएर खान खाइसकेका हुन्थ्यौं । थाहा पाएपछि गाली गर्नुहुन्थ्यो । एउटा मनसादेवी मन्दिर थियो । हामी प्राय जान्थ्यौं । त्यहाँको सबैभन्दा राम्रो मन्दिर हो । बुबा–आमालाई सोधेर भए पनि बेला–बेलामा हामी उक्त मन्दिरमा गइरहन्थ्यौं ।

भारतमा बाहुन भनेपछि धेरै नै सम्मान गर्थे । त्यसमा पनि हिन्दु भनेपछि राम्रो बोलीव्यवहार गर्थे । हरिद्वार धार्मिकस्थल भएर पनि अझ राम्रो थियो । हामीलाई त्यहाँ पण्डित भनेर चिन्थे । हामीलाई पण्डितका छोरी भनेर खुट्टामा ढोग गर्नसम्म आउँथे । कन्यालाई बोलाएर खुवाउने चलन हुन्थ्यो । प्रायःले हामीलाई घरमा बोलाउने मिठोमिठो खुवाउने गर्थे । बुबाले आफै मन्दिर गराएर पनि त्यहाँ हाम्रो छुट्टै मानसम्मान थियो । हामीले सानैदेखि माछामासु भन्दा टाढा रह्यौं । त्यहाँ कसैले पनि माछामासु खान्थेन ।

सानैदेखि आमाको भन्दा पनि बुबाको धेरै डर लाग्थ्यो । बाल्यकालमा कहिले पनि बदमासी गरेनौं । घरभन्दा बाहिर काम बाहेक निस्कन पाउँदैन्थ्यौं । स्कुल पढ्न गएपछि समयमै घर आउनुपथ्र्यो । केही मिनेट ढिलो भयो भने पनि आमा खोज्न गइहाल्नुुहुन्थ्यो । कहिले काहीं नजिकैका साथीहरुसँग खेल्न जान्थ्यौं । बाहिर भने हामी त्यति जान पाएनौं । बाहिरका साथीहरुसँग त्यति घुलमिल हुन पाइएन । म बाल्यकालमा मिलनरसार स्वभावको थिएँ । अहिले पनि त्यस्तै नै छु भन्ने लाग्छ । कहिले कसैसँग झगडा नगर्ने । कहिले काहीं बहिनी–बहिनीबीच झगडा हुन्थ्यो । सानो केही कुरा चित्त नबुझेर झगडा भए पनि उत्तिखेरै मिलिहाल्थ्यौं । तर ठूलो झगडा परेन । म सहयोगी भावनाको थिएँ । बुबाको कारणले गर्दा पनि होला । बुबा अरु कसैलाई सहयोग गर्न अघि सर्नुहुन्थ्यो । प्रायः मलाई सोध्नुहुन्थ्यो । कसैले परीक्षामा राम्रो स्थान ल्याएर पास गरेको छ भने उसलाई के दिने भनेर म सँग सल्लाह गर्नुहुन्थ्यो ।

सानै छँदा एक पटक नेपाल आएका थियौं । त्यसबेलामा यहाँ सडक, पुल बनेका थिएनन् । हिँडेर नै सुर्खेत आएका थियौं । बुबाले हामीलाई बोकेर नदि तार्नुहुन्थ्यो । त्यसपछि भने नेपाल बिवाह भइसकेपछि मात्र आएकी हुँ । चाडपर्वका समयमा रमाइलो हुन्थ्यो । सबैभन्दा बढी तीज रमाइलो हुन्थ्यो । नेपाली धेरै नभए पनि नाँच्ने र गाउँने भएकोले तीजमा रमाइलो हुन्थ्यो । सबै जना हाम्रो घरमा जम्मा हुन्थ्यौं । सबैलाई घरमा बोलाएर खुवाउने गथ्र्यौं । त्यसैले पनि तीज रमाइलो लाग्थ्यो । दशैमा भने खासै रमाइलो हुँदैनथ्यो । बुबा–आमाले टिका लगाइदिनुहुन्थ्यो । अनि दशैं सकिन्थ्यो । बाल्यकालमा संगीतप्रति रुचि थियो । भजनकृतन गराउने भएकाले पनि रुचि भएको हो । त्यहाँ एउटा नेपाली छात्राबास थियो । त्यहाँ हामीलाई बोलाउने गर्थे । सांस्कृतिक कार्यक्रम भाग लिन्थ्यौं ।

बाल्यकाल भारतमै बिते पनि विवाह पछि म नेपाल आएँ । बुबाले सबै छोरीको विवाह नेपाल नै गरिदिने ईच्छा राख्नुभएको थियो । मेरो जेठी दिदीको विवाह नेपालमा भइसकेको थियो । अहिले हामी चार बहिनी नै सुर्खेतमै बिवाह गरेका छौं । सानै छँदा पढेपछि केही न केही गर्नुपर्छ भन्ने भावना थियो । भविष्यमा गएर यो नै बन्छु भनेर नसोचे पनि पढेको मान्छेले केही न केही गरिहाल्छ भन्ने सोचले पढाइमा ध्यान जान्थ्यो । बुबा–आमाले पढाइमा ध्यान दिन भनिरहनुहुन्थ्यो । पढेर राम्रो काम गर्नुपर्छ भन्ने सोचले नै नेपाल आएपछि शिक्षण पेसामा लागेकी हुँ ।

प्रकाशित मितिः   १३ श्रावण २०७६, सोमबार १७:०९